शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय
स्थलगत रिर्पोट

पीडित भन्छन : 'प्राथमिकताका आधारमा राहत वितरण गर्नुपर्छ'

शनिबार, १९ असोज २०८१, ०३ : ३०
शनिबार, १९ असोज २०८१

काभ्रेपलाञ्चोक। बेथानचोक गाउँपालिका–४ सलान्दुबगरका मदन लामाको यही असोज ११ गते राति सलान्दुखोलासँगै मिसिएर आएको बाढीले घर, टेलर्ससहित कस्मेटिक पसल र फर्निचर उद्योगलगायत सबै सामान बगाएको छ । बाढीले सबै सामान बगाएपछि लामा असोज १३ गतेदेखि बस्नका लागि कोठा खोजिरहेका छन् । 

गहभरि आँसु, ओँठमा रोधन थरथर काँपेको शरीर । 'न बस्ने ठेगान छ, न खानेकुरा र पैसा नै । ज्यान बाँचे पनि बस्ने र खाने व्यवस्था नहुँदा सास्ती भएको छ । एकपट्टि चुँडिएको चप्पलमा पनौती र खोपासीको बजार कोठा खोजे पनि पाइएन,' मगरले सुनाए । 

घरबार, पसल, उद्योग र नगद सबै बाढीले बगाएपछि आफन्तले किएको एकजोर कपडा र चप्पलमा बसिरहेको मदनले बताए । 

उद्धारपछि बाढीपहिरो पीडितको व्यवस्थापन र अवस्थाका विषयमा ‘रिपोर्टिङ’ गर्न शुक्रबार सलान्दुबगरमा पुग्दा बगाएको घरको अवशेष देखाउँदै उनले भने, 'ज्यानबाहेक मसँग केही छैन, सबै बगाएपछि पनौतीमा कोठा खोजेर आमा र छोराछोरीलाई राखेको छु । खानेकुरा र लाउने लुगासमेत छैन ।' 

बाढी आएको रातिदेखि दुई दिनसम्म भिजेको लुगा लगाएर बसेको भन्दै मदनले आफन्तले दिएको कपडाले धेरै राहत महसुस भएको बताए । 

लगाएर आङ छोपेर राहत लिन उभिएको उनले बताए । 'स्थानीय सरकार र राज्यले बढी समस्यामा भएकालाई प्राथमिकतामा राखेर राहत तथा पुनःस्थापनमा गर्नुपर्छ । वृद्धा आमा र बालबच्चासहित कोठामा बसे पनि खानाको व्यवस्था नहुँदा समस्या भएको छ,' उनले भने । 

दसैँका लागि टेलर्समा सिलाइका कपडा, कस्मेटिक पसलमा सामान हालिसकेको भन्दै मदनले फर्निचर उद्योगमा माग अनुसार सामान बनाएर गोदाम राखेकामा सबै बगाएको जानकारी दिए । घर, बारी जग्गाजमिन पसल र फर्निचर उद्योग गरी करिब दुई करोडमाथिको क्षति भएको उनले बताए । 

सोही ठाउँकी कान्छी बोमजनले घरको दायाँबायाँ पहिरोले लगेपछि रातभरि नजिकैको जंगलमा रूखमुनि बसेको सुनाइन्। केही दिनदेखि पनौतीमा कोठा लिएर बस्दै आएका उनी राहतको पर्खाइमा छन् । सरकारले पीडितको अवस्था, प्रथमिकता र आवश्यकताका आधारमा राहत उपलब्ध गराउनुपर्नेमा उनको जोड छ । 

सोही ठाउँका विनोद सिङ्तानले घरबार सबै बगाएपछि आफूहरु बिचल्लीमा परेको बताए । भएको घरबार, कुखुरापालन व्यवसाय, खाद्यान्न, लत्ताकपडा र नागरिकता, लालपुर्जालगायत सबै कागजात बगाएको उनले बताए ।

पुरेको घरभित्र हिलोमाटो लतपतिएको लत्ताकपडा निकाल्दै खोल्साको पानीमा पखाल्दै गरेकी सरस्वती लामाले बस्ने घर, खाने अन्नपात नभएको भन्दै पीडितलाई पुनःस्थापनाका लागि स्थानीय सरकारले तत्काल पहल थाल्नुपर्ने बताइन् । 

बाढीले पुरिएको घरभित्रका सामान निकाल्दै बचेको सामान सार्नमा व्यस्त खहरे खोलाका सुरेन्द्र वाइबाले विपद्मा परेका नागरिकलाई चाँडो राहत उपलब्ध गराउन सरकारलाई आग्रह गरे । सरकारले यस्तो बेलामा प्राथमिकता र आवश्यकता हेरेर सहयोग गर्नुपर्ने उनको भनाइ छ ।

सलान्दुबगरका लिलाबहादुर लामाको परिवार अहिले खोपासीमा कोठा लिएर बस्दै आउनुभएको छ । रातिको समयमा गएको बाढीपहिरोले घरको सबै सामान, डम्फु, खैँचडी र ढ्याङ्ग्रो बनाउने उद्योगसमेत पुरेको उनले बताए । 'अहिले पनि घरमा बस्न सक्ने अवस्था छैन,' उनले भने, 'अब वर्षा भएन भने घरमा बस्न मर्मत गर्नुपर्छ, त्यसका लागि आठ/१० लाख लाग्छ ।' 

बस्ने ठाउँमा असुरक्षित भएको र भएको ठाउँ पनि बाढीले बगाएर विस्थापित हुनुपर्ने अवस्था आएको लिलाबहादुरले बताए। आपत्को बेलामा उद्धार गर्न स्थानीय सरकारलाई आग्रह गर्दै उनले जनतालाई ‘सरकार छ’भन्ने महसुस गराउने समय आएको बताए । 

सोही ठाउँका कृष्णकुमार लामाले भएभरको सबै बगाएको बताउँदै सरकारले पीडितलाई तत्काल अस्थायी बासको व्यवस्था गरिदिनुपर्नेमा जोड दिए । 'बस्ने घर, जग्गाजमिन सबै बाढीले बगायो । ज्यालामजदुरीको काम पाए पनि खानाको व्यवस्था हुने थियो,' उनले भने । 

बेथानचोक–४ पाटीखर्कका विद्या खड्काको पक्की तीनवटा घर बाढीले बगाएर बिचल्ली भएपछि अहिले खोपासीमा कोठा लिएर बस्दै आएकी छन् । सलान्दुबगरमा मात्रै करिब २० घर पूर्ण रुपमा क्षति भएका छन् । खहरेखोला, सलान्दुबगर, पाटीखर्क र चलालगणेशस्थानका नागरिकले अहिलेसम्म राहत नपाएको गुनासो गर्दै सरकारले प्राथमिकता हेरेर राहत उपलब्ध गर्नुपर्ने बताइन् । 

बेथानचोक गाउँपालिकाका उपाध्यक्ष तारा राना तिमल्सिनाले समस्यामा परेका नागरिकलाई राहत उपलब्ध गराउन पहल भइरहेको बताउनुभयो । विशेषगरी अहिले प्राथमिकताका आधारमा उद्धार, राहत र पुनःस्थापनाका लागि योजनाबद्ध काम भइरहेको उहाँले जानकारी दिनुभयो । 

पालिकाका अध्यक्ष भगवान अधिकारीले पालिकामा सडक, विद्युत् र सञ्चारको सेवाबाट वञ्चित रहेकालाई पहिलो प्राथमिकता राखी ती सेवा सञ्चालनका लागि मर्मतसम्भारको काम थालिएको बताए । 'हाम्रो क्षमताले मात्रै यहाँका नागरिकको समस्याको सम्बोधन गर्न नसकिने अवस्था रहेकाले संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा अगाडि बढ्नुको विकल्प छैन,' उनले भने । 

अहिले सडक निर्माणका लागि पालिकाको केन्द्र ढुङ्खर्क जोड्ने खोपासी–सलान्दुबगर, चलाल, ढुङ्खर्क सडकलगायत विभिन्न वडाका शाखा बाटोहरु मर्मत गर्न स्काभेटर, लोडर, डोजरलगायत उपकरणसहितको जनशक्ति परिचालन गरिरहेको अध्यक्ष अधिकारीले जानकारी दिए । उनका अनुसार गाउँपालिकाभित्रमा बाढीपहिरोमा परी १२ जनाको मृत्यु भएको छभने एकजना बेपत्ता भएका छन् । बेपत्ताको खोजीकार्य भइरहेको छ । 

गाउँपालिका कार्यालय डुबानमा परेको भन्दै अध्यक्ष अधिकारीले कतिपय महत्वपूर्ण कागजात नष्ट भएका बताए । अधिकांश आवश्यक कागजात र विवरण क्षति भएकाले अडिटका क्रममा आउने समस्याका बारेमा सम्बन्धित निकायलाई उक्त समस्या समाधान गर्न अहिले नै ध्यानाकर्षण गराइने उनको भनाइ छ । 

बेथानचोक गाउँपालिकाभित्र पूर्ण रुपमा पाँच सय घर र आंशिक रुपमा पाँच सय घरमा क्षति हुनुका साथै कुखुरा नौ हजार, पशुचौपाया गाई, भैँसी र बाख्रा गरी एक हजारको हाराहारीमा क्षति भएको पालिका कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप