शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

ढोरबाराहीको धार्मिक एवं सांस्कृतिक महत्वलाई उजागर गर्नुपर्छ : संस्कृतिमन्त्री पाण्डे

शनिबार, १९ असोज २०८१, ०० : ०२
शनिबार, १९ असोज २०८१

गण्डकी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले तनहुँको प्रसिद्ध धार्मिक तीर्थस्थल ढोरबाराही मन्दिरको धार्मिक एवं सांस्कृतिक महत्वलाई उजागर गर्नुपर्ने बताएका छन् ।

शुक्लागण्डकी नगरपालिकाको आयोजना एवं ढोरेली सेवा समाज काठमाडौँको समन्वयमा शुक्रबार मन्दिर क्षेत्रमा सम्पन्न ‘ढोरबाराही मन्दिरको ऐतिहासिक तथा धार्मिक महत्व’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यो आफैँमा विशिष्ट महत्वको धार्मिकस्थल भएकाले यसको प्रचारप्रसार र प्रवर्द्धन गर्नु आवश्यक रहेको बताए । 

सातवटै प्रदेशमा १०/१० वटा प्रमुख गन्तव्य छनोट गरी परिचयात्मक सामग्री (प्रोफाइल) बनाउने सन्दर्भमा गण्डकी प्रदेशमा ढोरबाराही समेटिएको बताउँदै मन्त्री पाण्डेले यस स्थलको आगामी वर्षमा प्रोफाइल तयार हुने जानकारी दिए । मिलेनियम ट्रेकले पनि यस क्षेत्रलाई जोड्ने बताउँदै उनले महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यका रुपमा यस क्षेत्रको प्रवर्द्धन गर्न सकिने धारणा राखे ।

पूर्वमन्त्री एवं प्रतिनिधिसभाका सांसद शंकर भण्डारीले मन्दिरको दीर्घकालीन विकासका लागि गुरुयोजना बनाएर चरणबद्ध रुपमा अघि बढ्नुपर्ने धारणा राखे। नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले यहाँको ऐतिहासिक एवं सांस्कृतिक महत्वलाई पर्यटन बजारसँग जोड्नुपर्ने आवश्यकता औँल्याए ।

गण्डकी प्रदेशसभाका सांसद श्यामराज महतले मन्दिरको विकास गर्न ढोरबाराहीलाई गुठी मातहत सञ्चालन गर्नुपर्नेमा जोड दिए । शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले नगरपालिकामा उपलब्ध स्रोतसाधनले भ्याएसम्म मन्दिरको विकास गर्न नगरपालिका प्रतिबद्ध रहेको विश्वास व्यक्त गरे ।     

कार्यक्रममा संविधानसभा सदस्यद्वय आशा कोइराला र ध्रुव वाग्ले, ढोरेली सेवा समाजका प्रतिनिधि तथा पर्यावरणविज्ञ एकराज सिग्देल, समाजकी अध्यक्ष सीता कार्की महत, विन्दवासिनी संस्कृत विद्यापीठका पूर्वप्राचार्य अम्बिकाप्रसाद भट्टराईलगायत व्यक्ताले ढोरबाराही क्षेत्रको समग्र संरक्षण र प्रवर्द्धन गर्न सबैको एकताबद्ध प्रयास आवश्यक भएकामा जोड दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप