बराहक्षेत्रमा हात्तीको आतंक
सुनसरी । बराहक्षेत्र नगरपालिकामा हात्तीको आतंक सुरु भएसँगै स्थानीय त्रसित बनेका छन् । कोशी टप्पु वन्यजन्तु आरक्षबाट दैनिक रुपमा आउने जंगली हात्ती र अर्नाको आतंकले यहाँका स्थानीय त्रसित बनेका हुन् ।
जिल्ला प्रशासन कार्यालयमा शुक्रबार भएको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा यही असोज १२ र १३ गते आएको बाढीको त्राससँगै अहिले हात्तीको आतंक पनि थपिएको बराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले बताए। सप्तकोशी नदीमा आएको बाढीका कारणले आरक्षमा रहेका जंगली जनावर बस्तीमा पस्न थालेका उनले जानकारी दिए ।
नगरप्रमुख कार्कीले बाढीबाट पीडित धान र तरकारी किसान आरक्षबाट आउने हात्तीको आक्रमणबाट त्रसित हुन थालेका बताउँदै दैनिक आउने हात्ती र अर्नाले करिब पाँच सय बिघा धान र तरकारी बाली नष्ट गरेको जानकारी दिए।
हात्ती नियन्त्रणका लागि सरोकार भएका निकायले समन्वय गर्नुपर्ने माग गर्दै नगरप्रमुख कार्कीले पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न संघीय सरकारसँग आग्रह गरे । आरक्षमा रहेका अर्ना तथा हात्ती भारतको सुपौल जिल्लाको भीमनगर नजिकै कटैयापावर हाउस वरपरका बस्तीमा आतंक मचाइरहेकाले तत्काल उद्धारका लागि पहल गर्न पनि उनले आग्रह गरे ।
बाढी पीडित परिवारलाई तत्काल राहतसामग्री उपलब्ध गराउन थालिएको बताउँदै पुनःस्थापनाको पहल पनि भइरहेको जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए । जिल्लामा बाढी पीडितको तथ्यांक संकलन भइरहेकाले स्थानीय तहसँगको समन्वयमा तत्काल पीडित परिवारलाई खाना र अस्थायी बासको व्यवस्था गरिएको उनले बताए।