शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

पहिरो गएपछि मेची राजमार्ग अवरुद्ध, यातायात ठप्प

शुक्रबार, १८ असोज २०८१, २२ : १०
शुक्रबार, १८ असोज २०८१

फिक्कल । मेची राजमार्गको इलाम नगरपालिका–९ स्थित माईखोला छेउमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ । आज दिउँसो ४ बजे सडक मुनीबाट पहिरो जाँदा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (डीएसपी) प्रभुप्रसाद ढकालले जानकारी दिए । सडक मर्मतका क्रममा पहिरो गएको उनको भनाइ छ । 

राजमार्गअवरुद्ध भएपछि झापा, मोरङ र सुनसरीदेखि इलाम, पाँचथर, ताप्लेजुङ आवतजावत गर्ने सयौँ सङ्ख्यामा सवारी र यात्रु बोटोमै रोकिएका छन् । झापाबाट आएका सवारी साधनहरु माईखोलापारी र इलामबाट गएका सवारी साधनहरु पहिरोभन्दा माथिपट्टीको सडकमा लामबद्ध छन् । 

“यात्रुलाई केही दूरी पैदल हिँडाएर सवारीमार्फत गन्तव्यमा पुर्याउने काम भइरहेको छ”, प्रहरी प्रमुख ढकालले भने, “यसका लागि रातभर नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।” पहिरोका कारण तत्काल सो क्षेत्रमा यातायात सञ्चालन हुने सम्भावना नभएपछि वैकल्पिकमार्ग प्रयोगको तयारी पनि भइरहेको उनको भनाइ छ ।

शनिबार बिहानदेखि इलाम नगरपालिका–१० गोदकस्थित सिमलगोलाइबाट जोगमाई खोला हुँदै इलाम नगरपालिका–८ तिल्केनी जोड्ने सडकलाई मेची राजमार्गको वैकल्पिक बाटोको रुपमा उपयोग गर्ने तयारी गरिएको उनले बताए ।

सडक डिभिजन कार्यालय इलामका इन्जिनियर मनिषा कट्टेलले मेची राजमार्ग तत्काल सञ्चालन गर्न नसकिने भएकाले वैकल्पिक बाटोको खोजी भइरहेको बताए ।  इलाम नगरपालिका प्रमुख केदार थापाले सडक डिभिजन कार्यालयसँग आवश्यक समन्वय गरी तत्काल वैकल्पिक बाटोको पहिचान गरी सञ्चालन गर्न आग्रह गरिएको बताए । 

पानी परिरहेकाले सो क्षेत्रमा जोखिम बढेको इलामका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताइन् । सो स्थानमा गत साता समेत पहिरो जाँदा एक दिन राजमार्ग अवरुद्ध भएको थियो । मर्मतपछि सञ्चालनमा आएको एक साता नबित्दै पुनः पहिरो झरेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप