शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्दा विभेद गरिएको प्रभु साहको आरोप

शुक्रबार, १८ असोज २०८१, २१ : ५३
शुक्रबार, १८ असोज २०८१

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सरकारले बाढी, पहिरोबाट प्रभावित जिल्ला घोषणा गर्दा विभेद गरेको भन्दै तत्काल सच्याउन माग गरेका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको शुक्रबार बसेको बैठकले १४ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस गरेको थियो ।

जसअनुसार आजै मन्त्रिपरिषद्ले आवश्यक निर्णय गरेको थियो । सोलगत्तै पूर्वमन्त्री साहले सरकारको उक्त निर्णयको विरोध गरेका हुन् । उनले १४ जिल्लालाई मात्र विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नु गैरजिम्मेवारपनको पराकाष्ठा भएको संज्ञा दिए । उनले सरकारलाई उक्त निर्णय तुरुन्त सच्याउन विशेष आग्रह गरेका छन् ।

साहले बाढीबाट मधेश प्रदेशका जिल्लाहरु अति प्रभावित बनेको र अहिले पनि हजारौंको संख्यामा मधेशका नागरिक विस्थापित हुनुपरेको बताएका छन् । रौतहट, सप्तरी, सर्लाही, धनुषा, सिराहाका जनता अहिले पनि बाढीबाट प्रत्यक्ष प्रभावित बनेको सुनाउँदै उनले यसमा राज्यको चरम लापरवाही र उदासिनता देखिएको  टिप्पणी गरे ।

सरकारले घोषणा गरेका संकटग्रस्त १४ जिल्लामा ताप्लेजुङ, काभ्रे, पाँचथर, काठमाडौँ, संखुवासभा, ललितपुर, सोलुखुम्बु, भक्तपुर, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप