शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

शुक्रबार, १८ असोज २०८१, २२ : ००
शुक्रबार, १८ असोज २०८१

आज मिति २०८१ साल असोज महिनाको १८ गते शुक्रबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

१. रोकियो पेन्सन

राष्ट्रिय परिचयपत्र नभएको भन्दै दसैँको मुखमै सयौँ व्यक्तिहरूको पेन्सन रोकिएको छ । यसका कारण पेन्सन लिएर दसैँ मनाउने योजनामा रहेका हजारौँ ‘पेन्सन होल्डर’हरूको बिचल्ली भएको छ ।

निजामती तथा राष्ट्रसेवक कर्मचारीको पेन्सनको व्यवस्थापन गर्दै आएको राष्ट्रिय वाणिज्य बैंकले राष्ट्रिय परिचयपत्र नभएकालाई धमाधम फिर्ता पठाइरहेको गुनासो सेवाग्राहीले गर्दै आएका छन् । बैंकको बत्तीसपुतली शाखामा पेन्सन लिन पुगेकी माया गौतमले राष्ट्रिय परिचयपत्र नभएको भन्दै फर्काइएको गुनासो गरिन् । तीन महिनाको पेन्सन दिएर दसैँ खर्च धान्ने सोच बनाएकी उनले यही कारण समस्यामा परेको गुनासो समेत गरिन् ।

२. राप्रपामा असन्तुष्टि

धर्मनिरपेक्षता र गणतन्त्रविरोधी पार्टी राप्रपाभित्र पछिल्लो समय गरिएको जिम्मेवारी हेरफेरले असन्तुष्टि चुलिएको छ । आगामी महाधिवेशनलाई लक्षित गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले ‘रणनीतिक निर्णय’ मार्फत महामन्त्री धवलशमशेर राणालाई संगठन विभाग प्रमुखको जिम्मेवारीबाट हटाएपछि इतर समूह चिढिएको छ । उनीहरूले अध्यक्षबाट ‘अमानवीय’ निर्णय भएको आरोपसमेत लगाएका छन् ।

इतर पक्षले आगामी महाधिवेशनमा राजेन्द्र लिङ्देनलाई चुनौती दिन राणालाई अघि सार्ने तयारी गरिरहँदा लिङ्देनले पनि आफूलाई बलियो राख्न सोहीअनुसारको रणनीति अपनाएका छन् । जसअनुसार लिङ्देनले संगठनमा राणाको हालिमुहाली हुन नदिने रणनीतिका साथ उनको जिम्मेवारी नै खोसेर उपाध्यक्ष बुद्धिमान तामाङलाई दिएको बताइएको छ ।

३. मलेसिया रोजगारी

मलेसियाले विदेशी कामदार भित्र्याउने प्रक्रिया कहिलेबाट खोल्ने भन्ने अझै यकिन हुन सकेको छैन । आन्तरिक व्यवस्थापन गर्ने भन्दै गत मे ३१ तारिख (२०८१ जेठ १८ गते) देखि मलेसियाले नेपालसहित सबै स्रोत मुलुकबाट कामदार लैजान रोकेको थियो ।

विदेशी कामदार ल्याउन रोकेपछि हाल मलेसिया जाने श्रमिकको सङ्ख्या निकै घटेको छ । अहिले मलेसियामा सुरक्षा गार्डसहित केही सीमित कामका लागि भने श्रमिक जाने गरेका छन् ।

लक्की ड्रमार्फत छानिएका केयरगिभरहरू तिहारपछि इजरायल जान पाउने भएका छन् । इजरायलस्थित पीबाले लक्की ड्र मार्फत छनौटमा परेकाहरूको सूची असोज १३ गते वैदेशिक रोजगार विभागलाई पठाएको थियो । विभागले सूची पाएसँगै अन्य प्रक्रिया अगाडि बढाइएको विभागका निर्देशक गिरिराज ज्ञवालीले बताए ।

४. कांग्रेसमा अलमल

सत्ता साझेदार दल नेपाली कांग्रेस दशौँ पटक पार्टीको विधान संशोधनको तयारीमा जुटेको छ । पटक–पटक स्थगन हुँदै साउन २३ बाट सुरू भएर भदौ १६ गते सम्पन्न पार्टी केन्द्रीय कार्यसमिति बैठकले विधान संशोधनका लागि मस्यौदा समिति गठन गर्ने निर्णय गरेको हो । तर, हालसम्म समिति गठन हुन सकेको छैन ।

५. अब कार्डलेस स्मार्ट लाइसेन्स

बागमती प्रदेशभर कार्डलेस सवारी साधन अनुमति पत्रलाई मान्यता दिइएको छ । बागमती प्रदेश सरकार श्रम, रोजगार तथा यातायात मन्त्रालयले लामो तयारी पश्चात् कार्डलेस लाइसेन्सलाई मान्यता दिएको हो ।

प्रदेश यातायात मन्त्री प्रेमभक्त महर्जनले संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित एक कार्यक्रममार्फत नेपाल प्रहरीलाई लाइसेन्स जाँच गर्नका लागि स्मार्ट फोन हस्तान्तरण गरी कार्डलेसलाई मान्यता दिइएको घोषणा गरे।

६. बाढी पहिरोबारे सरकारको निर्णय

सरकारले बाढीपहिरो प्रभावित जिल्लाका स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले बढि क्षति भएका जिल्लाका स्थानीय तहहरुलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको एक मन्त्रीले जानकारी दिए । उनका अनुसार काभ्रे, काठमाडौँ, ललितपुर, सिन्धुपाल्चोक, धादिङ सिन्धुली लगायत जिल्लाका प्रभावित स्थानीय तहहरुलाई सरकाले विपद संकटग्रस्त घोषणा गरेको हो । 

 

७. सहकारी ठगी प्रकरण

मन्त्रिपरिषद्ले असोज २ मा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन स्वीकृत गरेर कार्यान्वयन गर्ने निर्णय गरेको थियो । जसअनुसार पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको आरोपमा पूर्व डीआईजी छविलाल जोशी र लिला पछाइलाई प्रहरीले पक्राउ गरिसकेको छ । हाल उनीहरू विरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीले संगठित अपराध, ठगी र सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा अनुसन्धान गरिरहेको छ ।

संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न प्रहरीमा पठाइसकिएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले रातोपाटीलाई बताए । उनले भने, ‘प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।’

८. एयरलाइन्सको लापरबाही

म्बन्धित निकायको चरम लापरबाहीका कारण काभा यू–२० पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन कोलम्बो पुगेका नेपाली टोलीका खेलाडी समस्यामा परेका छन् । नेपाली खेलाडीहरू बिहीबार साँझ श्रीलङ्काली एयरलाइन्समार्फत कोलम्बो प्रस्थान गरेका थिए ।

नेपाली भलिबल टोली कोलम्बो पुगे पनि उनीहरूको लगेज भने काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै छुटेको छ । खेलाडीको मात्र नभई त्यो विमानबाट यात्रा गर्ने अधिकांश यात्रुको लगेज काठमाडौँमै छुटेको बताइएको छ ।

९. सुनको मूल्यमा रेकर्ड

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साताको कारोबारको अन्तिम दिन शुक्रबार छापावाल सुनको मूल्य १ लाख ६१ हजार ३०० कायम हुँदै नयाँ रेकर्ड बनेको हो ।

१०. सर्वोच्चबाट श्रेष्ठको बिदाइ

२०८० भदौ ४ गते संसदीय सुनुवाइ समितिबाट अनुमोदन  भएर राष्ट्रपतिबाट नियुक्त हुँदै गर्दा प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ चुनौतीले घेरिएका थिए । भर्खरमात्रै चोलेन्द्र शमशेर राणाको महाभियोग विवादबाट न्यायालय बाहिर निस्कन खोजिरहेको थियो भने न्यायाधीश अभावले जिल्लादेखि सर्वोच्चसम्म मुद्दाका सुनुवाइ रोकिने अवस्थामा पुगेका थिए ।

त्यस्तै सर्वोच्च अदालतमा अस्थायी रूपमा गोला प्रथाद्वारा पेसी तोकिन थालेको थियो र अटोमेशनमा लाने काम अन्योलमा थियो ।

श्रेष्ठ जिल्ला अदालत हुँदै सर्वोच्चसम्म आइपुगेका कारण ‘क्याडर जज’ जो, वर्र्षौंदेखि क्षमताको आधारमा माथि आउनुपर्नेमा पछाडि परिरहेका थिए । जिल्ला, उच्च अदालत हुँदै सर्वोच्चसम्म आइपुग्दा श्रेष्ठको छवि विवादरहित भएको र उनीसँगै न्यायपरिषदको वरिष्ठ सदस्य ईश्वरप्रसाद खतिवडा हुने भएकाले क्याडर जजहरूले धेरै अपेक्षा गरेका थिए ।

करिब २० महिना सर्वोच्चको नेतृत्व गरेका श्रेष्ठले बुधबार बिदाइ लिएका छन् । संसदीय सुुनुवाइ समितिले नयाँ प्रधान न्यायाधीशको रूपमा प्रकाशमान सिंह राउतको नाम अनुमोदन गरिरहँदा सर्वोच्चमा श्रेष्ठको बिदाइ चलिरहेको थियो ।

थप समाचार

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप