शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय
पत्रकार भेटघाट

कर्णालीका मुख्यमन्त्री कँडेल भन्छन्– काम गर्न गाह्रो रहेछ

‘प्रदेशमा आन्तरिक समस्या जटिल रहेछ, सुधार्न ध्यान दिइरहेको छु’
शुक्रबार, १८ असोज २०८१, २० : ४६
शुक्रबार, १८ असोज २०८१

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सोचेजस्तो काम गर्न नसकिएको बताएका छन् । मुख्यमन्त्रीको बुता (जिम्मेवारी)मामात्रै सबै कुरमा नरहेको बताउँदै उनले आफूले सक्दो प्रयत्न गर्न नछाडेको प्रस्ट पारे ।

मुख्यमन्त्री भएको साढे ५ महिनाको अवसर पारेर शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पत्रकार भेटघाट आयोजना गरेका कँडेलको निष्कर्ष थियो– सरकारको नेतृत्व पुगिसकेपछि काम गर्न गाह्रो हुने रहेछ ।

मुख्यमन्त्री कँडेलले कानुनी जटिलता, आन्तरिक समस्याहरूले नै प्रदेश सरकारले सोचे अनुसार काम गर्न नसकेको सुनाए । उनले भने, ‘मैले अहिले खासै यही गरेँ भनेर केही भन्दिनँ तर आन्तरिक रूपमा केही गर्ने प्रयास गरिरहेको छु ।’

करिब एक घण्टा पत्रकारसँग छलफल गरेका कँडेललाई मन्त्रालयका कर्मचारीले गर्ने दैनिक कार्य बाहेक कुनै काम गर्न नसकेको भन्दै पत्रकारहरूले प्रश्न गरे । जवाफमा मुख्यमन्त्री कँडेलले मुख्यमन्त्रीले छुट्टै काम गर्ने केही नभएको र कर्मचारीले नै गर्ने कामहरू मुख्यमन्त्रीले गर्ने बताए । मुख्यमन्त्रीले छुट्टै के काम गर्ने हो, बरु त्यो देखाइदिन उनले पत्रकारलाई अनुरोध गरे ।

साढे ५ महिनाको अवधिमा सामान्यतया आन्तरिक काम बाहेक जनतामा आसा जगाउने खालको नयाँ कुनै काम गर्न नसकेको उनले स्वीकार गरे । उनले यो अवधिमा आफ्नो सम्पूर्ण ध्यान आन्तरिक गृहकार्य र सरकारभित्रको आन्तरिक समस्या हल गर्नतर्फ केन्द्रित भएको बताए ।

त्यसमा स्थानीय सेवा ऐन पास भएको, केही योजनाको अनुगमन तथा छलफल गरेको, सुर्खेत विमानस्थल विस्तारको विषयमा लागिरहेको, प्रदेश अस्पतालको सम्बन्धमा डा. भगवान कोइरालाको नेतृत्वमा अध्ययन समिति बनाइएको विषयलाई उनले उपलब्धिका रूपमा राखे ।

यस्तै चालु आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनमा जाने काम भइसकेको उनले बताए । केही कामका ढिलाइ भएको स्वीकार्दै उनले प्रदेश सरकारको दोस्रो पञ्चवर्षीय गुरु योजना असारमै बनिसक्नुपर्नेमा पदाधिकारी चयनमा ढिलाइ भएकाले अहिले बल्ल काम भइरहेको बताए । दोस्रो पञ्चवर्षीय गुरुयोजना तयार पार्ने काम अन्तिम चरणमा रहेको उनको भनाइ छ ।

मन्त्रालयभित्रको पुनर्संरचनाको विषयमा अर्थमन्त्री राजीवविक्रम शाहको नेतृत्वमा अध्ययन समिति बनिरहेको बताउँदै मुख्यमन्त्रीले कँडेलले भने, ‘उक्त समितिले मन्त्रालयभित्रका शाखा, उपशाखाहरूको विषयमा अध्ययन गर्नेछ । त्यसपछि कति आवश्यक हो वा होइन, त्यो विषयमा छलफल हुन्छ ।

मंसिर २ गतेबाट कर्णालीमा हुने भनिएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको विषयमा केन्द्रबाटै अलमल भएको उनले प्रस्टीकरण दिए ।

मुख्यमन्त्री कँडेलले आफूले विगतमा उठाएका एजेण्डा नबिर्सेको पनि बताए । कर्मचारी सरुवाका विषयमा सरकारमाथि उठेको विषयमा उनले केही कमजोरी भएको स्वीकार गरे ।

आगामी दिनमा सच्च्याउँदै कर्मचारीहरूलाई पनि जिम्मेवार बनाइने उनको भनाइ छ । ‘यहाँ सबै कर्मचारीलाई पुँजीवाला, त्यसमा पनि स्टोर चाहिने रहेछ,’ उनले भने, ‘यसलाई अब सुधार्नैपर्ने छ ।’

मुख्यमन्त्री कार्यालयको दैलोमा रहेको सडक अलपत्रको विषयमा उनले सम्बन्धित ठेकेदारलाई ताकेतचा गरिरहेको जवाफ दिए । उनले अगाडि थपे, ‘सबै मेरो बलमा छैन । तर प्रयत्न गर्न छाड्नुहुन्न भनेर लागिरहेकै छु, तपाईंहरूले पनि मलाई बल पुग्ने गरी सहयोग गरिदिनुहोस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप