शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

बाढी, पहिरोबाट प्रभावित १४ जिल्ला विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिने

शुक्रबार, १८ असोज २०८१, १९ : ०२
शुक्रबार, १८ असोज २०८१

काठमाडौँ । सरकारले बाढी, पहिरोबाट प्रभावित १४ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले काठमाडौँ, ललितपुर र भक्तपुरसहित १४ वटा जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।  

बाढी, पहिरो र डुबानबाट अति प्रभावित १४ जिल्लामा पुनर्स्थापना र पुनर्निर्माणको कामलाई प्राथमिकताका साथ तीव्रता दिनेगरी स्थानीय तहको समेत किटान गरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरिएको प्राधिकरणका सहसचिव वसन्त अधिकारीले जानकारी दिए । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको सो बैठकमा अति प्रभावित जिल्लाका स्थानीय तहको पनि नाम उल्लेख गरी संकटग्रस्त क्षेत्र घोषणा गरिने उल्लेख गरिएको छ । 

प्राधिकरणका सहसचिव अधिकारीले भने, ‘विशेष गरी अस्तिको १० गते पछिको ताप्लेजुङ, काभ्रे, पाँचथर, काठमाडौँ, संखुवासभा, ललितपुर, सोलुखुम्बु, भक्तपुर, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ जिल्ला बढी प्रभावित भएको देखियो । हामी स्थानीय तहको पनि संख्या तोक्छौँ । अहिले मैले अघि भनेअनुसारको जिल्लामा ऐनको दफा ३२ बमोजिम विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिनेछ ।’ 

गत असोज ११ र १२ गते अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानले ठुलो जनधनको क्षति भएपछि सरकारले अति प्रभावित जिल्लाहरूको पहिचानका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्न लागेको हो । प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार विपद्मा परी २३९ जनाको मृत्यु भएको छ भने घाइते १६९ घाइते, १८ जना अझै बेपत्ता रहेका छन् ।  १७ हजार १२० जनाको उद्धार गरिएको पनि प्राधिकरणको पछिल्लो तथ्यांक रहेको पनि सहसचिव अधिकारीले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप