शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेश लगानी सम्मेलनको तयारी सुरु

शुक्रबार, १८ असोज २०८१, १८ : ४९
शुक्रबार, १८ असोज २०८१

विराटनगर । कोशी प्रदेश सरकारले आगामी माघ ११, १२ र १३ गते गर्ने कोशी प्रदेश लगानी सम्मेलनको तयारी सुरु गरेको छ । 

कोशी प्रदेश मन्त्रिपरिषद्को बैठकले गत असोज १३ गते प्रदेश लगानीसम्बन्धी अवधारणा पत्र पारित गरेको थियो । त्यही अनुसार कोशी प्रदेश लगानी सम्मेलनको मूल आयोजक समिति निर्माण गरी काम सुरु गरिएको हो । आयोजक समितिको पहिलो बैठक शुक्रबार बसेको छ । 

पहिलो बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संघ सरकार, स्थानीय सरकार र निजी क्षेत्रको समन्वय र सहकार्यमा सम्मेलन सफल पार्नु पर्ने बताए । उनले ढुंगाभित्रबाट पनि पिपलको बोट उम्रिने बताउँदै प्रदेश सरकारसँग अनेकौँ चुनौती रहेपछि ढुंगामा पिपलको बोट उम्रिएजस्तै चुनौतीलाई पार गरेर अघि बढ्नु पर्ने बताए । 

प्रदेश लगानी सम्मेलनको तयारीका लागि योजनाहरू बनाउने र परियोजनाहरूको तयारी गर्ने र त्यसलाई लगानीकर्तामाझ पुर्‍याउने योजना ल्याउने गरी बैठकले तयारी गरेको छ ।  कोशी प्रदेश सरकारले निजी क्षेत्रका प्रदेश उद्योग वाणिज्य संघ, उद्योग संगठन मोरङ, मोरङ उद्योग व्यापार संघ, नेपाल चेम्बर अफ कमर्स प्रदेश समिति, नेपाल उद्योग परिसंघ, प्रदेश सहकारी संघ, विराट व्यापार संघलगायतलाई सहसंयोजक राखेर मूल आयोजक कमिटी बनाएको छ । यसमा प्रदेशका मन्त्रीहरू, निजी क्षेत्रका अगुवाहरू र संघसंस्थालाई समेटिएको छ । 

त्यस्तै दसैँ अघि नै लगानी सम्मेलनको सचिवालय बनाउने तयारी समेत भएको छ । कोशी प्रदेशका सभामुख संयोजक रहने गरी सल्लाहकार समिति, प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारीको नेतृत्वमा परियोजना तयारी समिति, आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाको नेतृत्वमा लगानी सम्मेलन निर्देशन समिति, आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीको नेतृत्वमा नीतिगत तथा कानुनी सुधार गर्न समेत समिति गठन गरिएको छ । 

प्रदेश लगानी सम्मेलनको बैठकमा सहभागीहरूले स्वदेशी लगानीकर्तालाई पनि आकर्षित गर्नु पर्ने र भारतीय उद्योगपतिहरूलाई आकर्षित गर्ने गरी योजना बनाउनु पर्ने र कानुनी जटिलतालाई छिटो र छरितो ढंगले निरूपण गर्नु पर्ने सुझाव दिएका छन् ।  कोशी प्रदेश सरकारले यस वर्षको नीति तथा कार्यक्रम र बजेटमा लगानी सम्मेलन गर्ने घोषणा गरेर तयारी सुरु गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप