शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय
दसैँ

लुम्बिनी प्रदेश प्रहरीको चाडपर्व सुरक्षा योजना : कुकुरदेखि ड्रोन क्यामेरासमेत प्रयोग गर्ने

शुक्रबार, १८ असोज २०८१, १८ : ४१
शुक्रबार, १८ असोज २०८१

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले चाडपर्व सुरक्षा योजना २०८१ ल्याएको छ । ‘सुरक्षित गाउँ सहर, प्रदेश प्रहरीको रहर’ भन्ने नाराका साथ दसैँ, तिहार, छठ पर्व केन्द्रित सुरक्षा योजना ल्याएको लुम्बिनी प्रहरी कार्यालयका प्रमुख एवं डीआईजी कुबेर  कडायतले रातोपाटीलाई बताए ।

लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा चाडपर्वमा ७ हजार ६४४ प्रहरी परिचालन गरिने उनको भनाइ छ । २६ प्रकारको ड्युटीको नाम दिएर चाडपर्वको अवसरमा ती प्रहरी जनशक्ति खटाइने उनले बताए ।

डीआईजी कडायतका अनुसार सीमा नाकामा प्रहरीका तालिमप्राप्त कुकुर परिचालन गरी चेकिङ गर्नेदेखि धेरै भिडभाड हुने ठाउँमा ड्रोन क्यामेरासमेत प्रयोग गरेर निगरानी बढाउने योजना छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार प्रदेशमा चाडपर्वको सुरक्षा योजना अन्तर्गत १०५ स्थानमा ‘क्युआरटी’ (क्वीक रेस्पोन्स टिम) बनाइएको छ । उक्त टिममा ४७४ जना प्रहरी जनशक्ति परिचालन गरिएको छ । बैंक तथा वित्तीय कारोबार धेरै हुने ४८ स्थानमा २१८ जना प्रहरीलाई खटाइएको प्रदेश प्रहरी कार्यालयको भनाइ छ ।

यस्तै प्रदेशका सरकारी कार्यालय सुरक्षाका लागि ४४८ ठाउँमा एक हजार ४२० प्रहरी परिचालन गरिने डीआईजी कडायतले जानकारी दिए । उनका अनुसार ४२ ठाउँमा सादा पोसाकमा ११२ जना प्रहरी खटाइने छ भने २६५ वटा मोटरसाइकल गस्ती टोली बनाएर ४६१ जना प्रहरी खटाइने छ ।

१६० वटा पैदल गस्ती टोली बनाएर ४९१ जना प्रहरी खटाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । राजमार्गमा चौबिसै घण्टा ६३ ठाउँमा विशेष चेकिङ गरिने र त्यसका लागि २८७ प्रहरी परिचालन हुने जनाइएको छ । प्रदेशमा रहेका लोकमार्गमा पनि १५४ जना प्रहरी खटाइने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयका अनुसार राजमार्गमा स्कर्टिङका लागि २७ वटा टोली बनाएर १५४ जना प्रहरी खटाइने छ । चाडपर्वमा ट्राफिक व्यवस्थापन गर्ने रणनीति अनुसार ट्राफिक प्रहरी र जनपथ प्रहरीको संयुक्त टोली विभिन्न ठाउँमा रहने जनाइएको छ ।

प्रदेशभरि ५१ स्थानमा यात्रु सहायता कक्ष रहने र त्यसका लागि १६० जना प्रहरी खटाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बजारमा कृत्रिम अभाव तथा कालोबजारी हुन नदिन ४० वटा टोली गठन गरेर २१२ जना प्रहरी खटाइने जनाइएको छ । ग्रामीण क्षेत्रमा २७२ जना प्रहरीलाई गस्तीमा खटाइने भएको छ ।

चाडपर्वका बेला पुराना अपराधीहरू घर आउने सम्भावनालाई ध्यान दिँदै प्रहरी चनाखो भएको डीआईजी कडायतले रातोपाटीलाई बताए ।

उनले विशेष गरी दसैँ, तिहार जस्ता चाडमा अपराधमा संलग्न भएका व्यक्तिहरू घर आउने सम्भावना हुने भएकाले प्रदेश प्रहरीले पुराना फरार अभियुक्तको खोजी कार्यलाई पनि उत्तिकै महत्त्व दिने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

तेजेन्द्र के.सी.
तेजेन्द्र के.सी.

केसी रातोपाटीका प्रदेश नम्बर ५ का संयोजक हुन् । 

लेखकबाट थप