शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

‘आइ लभ यू, स्याबास सरकार, भन्न सक्दिन म’: माधव सापकोटा

शुक्रबार, १८ असोज २०८१, १८ : १४
शुक्रबार, १८ असोज २०८१

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले विपद्को बेलामा सरकारले गम्भीर लापरबाही गरेको बताएका छन् । शुक्रबार बसेको प्रतिनिधि सभाअन्तर्गतको विकास तथा पूर्वाधार समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई प्रश्न गर्दै उनले बाढी पहिरोको विपत्तिको बेला राहत उद्धारमा सरकार चुकेको भन्दै सरकारको आलोचना गरे । 

उनले अघिल्लो वर्ष भूकम्प जाँदाखेरि प्रधानमन्त्री तत्कालीन पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफै राहत र उद्धारमा खटेको स्मरण गराउँदै देश संकटमा पर्दा यसपटक प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकामा बसेको र नख्खु खोलामा ४ घण्टासम्म छानामा बसेका व्यक्तिहरूको समेत उद्धार गर्न नसकेर सरकार लाचार भएको टिप्पणी गरे । 

उनले भने, ‘विपत्ति सरकारले ल्याएको होइन तर सरकार विपत्तिको सामना गर्नबाट चुक्यो  । अहिलेको सरकारलाई स्याबास भन्न सक्ने अवस्था छैन । नख्खु खोलामा ४ घण्टासम्म पनि उद्धारको प्रतीक्षामा रहेका व्यक्तिलाई एउटा डोरी दिएर समेत राज्यले उद्धार गर्न सकेन । यस्तो सरकारलाई स्याबास सरकार, आइ लभ यु भन्न सकिँदैन । प्रधानमन्त्री केपी शर्मा ओली देशमा विपत्तिको बेला अमेरिकामा व्यक्तिको घरमा रिबन काट्न छोडेर विमान चार्टर गरेर आएको भए स्याबास सरकार भन्नुहुन्थ्यो । सरकारले केही गरेको छैन हामीले स्याबास, आइ लभ यु भन्दिनु पर्ने ?’ 

सांसद सापकोटाले अहिलेको बाढी पहिरोको विपत्ति भयावह अवस्था रहेको र नियमितको बजेटबाट त्यसको पुनर्निर्माण गर्न कठिन भएकाले प्रतिपक्षी दललाई समेत विश्वासमा लिएर विशेष बजेट ल्याउन मन्त्री दाहाललाई सुझाव दिए । उनले भने,‘यो निकै ठुलो विपत्ति हो । क्षतिको पुनर्निर्माणका लागि निरन्तरताको बजेटले पुग्दैन । विशिष्ट किसिमको विशेष बजेट ल्याउन आवश्यक छ । प्रतिपक्षलाई समेत विश्वासमा लिएर बजेट ल्याउनुपर्छ । त्यसका लागि सरकार लागिपरो ।’

सांसद सापकोटाले सिंहदरबारबाट हेर्दा राजमार्गहरू सुचारु भएको देखिए पनि सडकमा पुग्दाखेरि हिँड्न समेत कठिन रहेको, बाइक, गाडीहरू गुड्न कठिन रहेको,  जताततै पहिरो रहेको उल्लेख गरे । सार्वजनिक खरिद ऐन काम गर्न बाधक रहेको बताउँदै उनले तत्काल रकम पठाउने व्यवस्था गर्न मन्त्री दाहाललाई आग्रह गरे ।  

उनले भने,‘म अहिले तातोपानीबाट सिधै सिंहदरबार आइपुगेको छु ।  बिहान हिँडेको अहिले दिउँसो १ बजे यहाँ आइपुग्न पनि कठिन भयो । फोर ह्वील गाडीमा साइरन बजाउँदै आउँदा पनि यो अवस्था छ । कहाँ पहिरो,  कहाँ बाटो छुट्याउन गाह्रो छ । जिरोकिरो बन्देउसम्मको बाटो र पहिरो छुट्याउन गाह्रो छ । अरनिको राजमार्ग छियाछिया भएको छ ।’ 

उनले दसैँका लागि चीनबाट नेपालको नाकासम्म आइपुगेका झन्डै ५० करोड बराबरको फलफूल, लसुन लगायतका सामग्री बिग्रिने अवस्थामा रहेको भन्दै मन्त्री दाहालको ध्यानाकर्षण गराए । 

उनले भने,‘दसैँका लागि चीनबाट आएका झन्डै ५० करोड बराबरको स्याउ, लसुन लगायतका खाद्य सामग्री खासामा आएर रोकिएको छ । त्यो अहिले कुहिएर जाने अवस्था छ । एक हप्ताभित्रमा ती खाद्यवस्तुको उद्धार भएन भने नेपालीको करोडौं रुपैयाँ क्षति हुन्छ । चाइनाले त्यो सामान बिक्री गरेर पैसा लिइसक्यो । अब क्षति हुने भनेको नेपालीलाई हो । त्यसलाई कसरी उद्धार गर्न सकिन्छ, नेपालीको करोडौ रकम क्षति हुनबाट बचाउँन सरकारले बेलैमा ध्यान दिन आवश्यक छ ।’ 

यस्तै सांसद सापकोटाले मकवानपुर सिस्नेरीमा ६ बालकको पहिरोले पुरी भएको मृत्युबारे सरकारले छानबिन गर्नेबारे बताए । 

मकवानपुरको सिस्नेरीमा एन्फासँग आबद्ध ६ जना बालकको मृत्यु प्राकृतिक विपत्तिले मात्र नभई केही व्यक्तिको लापरबाहीका कारण भएकोले उच्चस्तरीय छानबिन हुनुपर्ने बताए ।  

उनले भने,‘त्यहाँको बत्सलादेवी माविले विद्यार्थीहरूलाई फुटबल तालिम गराउने गरेको र सो क्रममा ६ जना विद्यार्थीहरू तालिमका क्रममा सो स्थानमा गएका बेला विद्यालय व्यवस्थापन समिति र एन्फाका प्रतिनिधिको लापरबाहीका कारण उनीहरूको ज्यान गएको छ । यो प्राकृतिक विपत्तिका कारण हैन उनीहरूको लापरबाहीले ज्यान गएको हो ।’ 

धरै वर्षामा सडकमा सवारी नगुडाउन र कुलेखानी ड्याम खोल्दैछ भनेर पूर्वसूचना हुँदाहुँदै त्यहाँको विद्यालय व्यवस्थापन समितिको अध्यक्षको अटेरी र गैरजिम्मेवारी र असावधानीपूर्वक सवारी चलाउँदा उनीहरूको ज्यान गएकोले यसबारेमा गम्भीर भएर छानबिन गर्न सरकारको ध्यानाकर्षण गराए । 

यस्तै सांसद सापकोटाले किसानले धान भित्राउनका लागि बोरा र भकारी तयार पारेको अवस्थामा भित्राउन ठिक्क भएको धानबाली बाढीले बगरमा परिणत गरेपछि किसानहरू मर्माहत अवस्थामा रहेको भन्दै उनीहरूलाई राहत र क्षतिपूर्ति दिन सरकारको ध्यानाकर्षण गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप