शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय
खेलकुद

भलिबल खेलाडी कोलम्बोमा, लगेज काठमाडौँ विमानस्थलमै !

शुक्रबार, १८ असोज २०८१, १६ : ३९
शुक्रबार, १८ असोज २०८१

काठमाडौँ । सम्बन्धित निकायको चरम लापरबाहीका कारण काभा यू–२० पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन कोलम्बो पुगेका नेपाली टोलीका खेलाडी समस्यामा परेका छन् । नेपाली खेलाडीहरू बिहीबार साँझ श्रीलङ्काली एयरलाइन्समार्फत कोलम्बो प्रस्थान गरेका थिए ।

नेपाली भलिबल टोली कोलम्बो पुगे पनि उनीहरूको लगेज भने काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै छुटेको छ । खेलाडीको मात्र नभई त्यो विमानबाट यात्रा गर्ने अधिकांश यात्रुको लगेज काठमाडौँमै छुटेको बताइएको छ ।

काभा यू–२० पुरुष भलिबल प्रतियोगिता कोलम्बोमा आइतबार सुरु हुँदैछ । तर, खेलाडीले खेलका क्रममा लगाउने पोसाकदेखि लिएर अभ्यासका लागि आवश्यक सामाग्रीहरू सबै लगेजसँगै नेपालमै छुटेपछि खेलाडीहरू समस्यामा परेका हुन् ।

‘खेलाडीको लगेज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै छुटेपछि कोलम्बोमा खेलाडीले नियमित अभ्यास पनि गर्न नपाउने अवस्था आएको छ । त्यसमाथि आइतबारदेखि प्रतियोगिता पनि सुरु हुँदैछ । हाम्रा व्यवस्थापक, प्रशिक्षक र खेलाडीले कोलम्बोबाट तारन्तार खबर गरिरहेका छन्,’ नेपाल भलिबल सङ्घका अध्यक्ष जितेन्द्रबहादुर चन्दले रातोपाटीसँग भने ।

अध्यक्ष चन्दले आफूहरूले भारतको दिल्ली हुँदै खेलाडीका खेलाडी आवश्यक खेल सामाग्री कोलम्बो पठाउने तयारी गरिरहेको जानकारी पनि दिए । ‘खेलाडीको लगेज छुटेपछि हामी चिन्तामा छौँ । भारतको दिल्ली हुँदै खेलाडीका लागि आवश्यक सामाग्री कोलम्बो पठाउने तयारी अगाडि बढाइसकेका छौँ,’ उनले भने ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्याण्डलिङको जिम्मा नेपाल एयरलायन्सले लिएको छ । रमाइलो कुरा ते के भने, नेपाल एयरलाइन्सको ग्राउन्ड सपोर्ट डिपार्टमेन्टका निर्देशक डोलेश्वर कोइराला भने यस विषयमा आफूलाई कुनै जानकारी नै नभएको बताउँछन् ।

यसैगरी, श्रीलंकन एयरलाइन्सको नेपाल प्रतिनिधि जेनिथ ट्राभल एन्ड टुर्सका प्रतिनिधिले पनि खेलाडी र अन्य यात्रुको लगेज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै छुटेको विषयमा आफूलाई कुनै जानकारी नभएको बताउँदै यस विषयमा थप प्रश्न नसोध्न आग्रह गरे ।

उक्त विमानमार्फत कोलम्बो प्रस्थान गरेको नेपाली खेल टोलीका एक खेलाडीका अनुसार, बिहीबार दिउँसो १३ः२० बजे उड्नु पर्ने विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट साँझ १८ः०० बजेमत्र उडेको थियो । 

श्रीलंकन एयरलाइन्सले भने विमानमा प्राविधिक कारणले लखनउ डाइभर्ट भएको र पछि लगेज लैजान सक्ने अवस्था रहेकोले यात्रुसँगै लगेज नगएको बताएको छ ।  एयरलाइन्सको नेपालका लागि बिक्री प्रबन्धक दीपक मैनालीले उक्त लगेज भारत हुँदै श्रीलंका पठाइएको   र श्रीलंकन समयअनुसार राति १० बजे पुग्ने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप