शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

बाढी प्रभावित स्थानीय तहलाई काठमाडौँ महानगरले २०/२० लाख रुपैयाँ अनुदान दिने

शुक्रबार, १८ असोज २०८१, १६ : ३९
शुक्रबार, १८ असोज २०८१

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले बाढी प्रभावित तीन वटा स्थानीय तहलाई २०/२० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने भएको छ ।

महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा शुक्रबार बसेको महानगर विपद् व्यवस्थापन समितिको बैठकले काभ्रेपलान्चोकका तीन वटा पालिकाहरूको कोषमा उक्त सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको हो । यसरी सहयोग प्रदान गरिने पालिकाहरूमा पनौती नगरपालिका, रोशी गाउँपालिका र बेथानचोक गाउँपालिका छन् ।

पालिकाहरुबाट सहयोगको माग भएपछि विपद् व्यवस्थापन समितिमा छलफल गरेर सहयोग सिफारिस गरिएको महानगर विपद् व्यवस्थापन समितिमा पठाइएको समितिका संयोजक प्रेम थापाले जानकारी दिए ।

आन्तरिक क्षति व्यवस्थापन गर्दै संकटमा परेका पालिकाहरूलाई महानगरपालिकाले सहयोग उपलब्ध गराएको हो । आन्तरिकतर्फ आफ्नो भौगोलिक क्षेत्रभित्र भएको क्षतिको विवरण पठाउन वडाहरूलाई पत्राचार गरिएको छ । बाह्यतर्फ सहयोगका माग भएका स्थानीय तहहरूलाई ‘विपद् व्यवस्थापन कोष’बाट सहयोग उपलब्ध गराएको हो । अनधिकृत बसोबासलाई भौतिक सहयोग गरेर असुरक्षित आवासलाई बढवा नदिने महानगरपालिकाको नीति छ । 

सहयोग उपलब्ध गराइएका पालिका क्षेत्रमा असोज १० देखि १३ गतेसम्म परेको अविरल वर्षाका कारण विभिन्न ठाउँमा आएको बाढी र पहिरोले व्यक्तिका बस्ने घर पूर्ण र आंशिक रूपमा क्षति गरेको छ । सार्वजनिक सेवा प्रदान गरिने कार्यालयहरूबाट सेवा प्रवाह गर्न कठिन हुने अवस्था सिर्जना भएको छ । सडक, खानेपानीका ट्याङ्की तथा पाइप लाइन, सञ्चार र विद्युत् सञ्जाल विच्छेद भएको छ । खेतीबाली बगाएको र पुरिएको छ । लत्ताकपडा, खानेकुराको अभाव तथा स्वास्थ्यजन्य समस्या सिर्जना भएको छ । यस्तो मानवीय संकटमा राहत र पुनर्स्थापना गर्न महानगरपालिकाले सहयोग गरेको हो ।  

बाढी पहिरोको विपत्तिमा परेर पनौती नगर क्षेत्रमा २० जना व्यक्तिको मृत्यु भएको छ । ५ सय वटा घर पूर्ण र ७१३ वटा घर आंशिक रूपमा क्षति भएका छन् । २ हजारभन्दा धेरै पशु धनको क्षति भएको छ ।

रोशी गाउँपालिका क्षेत्रभित्र १२ जना व्यक्तिको निधन भएको छ । आवासीय करिब ५ सय घरमा पूर्ण क्षति भएको छ । करिब १ हजार ५ सय घरमा आंशिक क्षति भएको छ । खसी बोका, गाई, भैँसी गरेर करिब ५ सय र कुखुरा चल्ला करिब २ हजार संख्यामा क्षति भएको छ ।     

वेथानचोक गाउँपालिकाभित्र १२ जना व्यक्तिको निधन भएको छ । पूर्ण र आंशिक गरेर ९७० वटा घरहरूमा क्षति पुगेको छ । गाई, भैँसी र बङ्गुर गरेर १ हजार वटा, ८ हजार ५ सय वटा कुखुरा गरी ९ हजार ५ सय बढी पशुधनको क्षति भएको छ । गाउँपालिकाको प्रशासनिक भवनमा पनि क्षति पुगेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप