शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

उपभोक्ताको गुनासो : ‘महँगो दसैँ, हरेक सामानमा बार्गेनिङ गर्नुपर्छ’

शुक्रबार, १८ असोज २०८१, १६ : ३०
शुक्रबार, १८ असोज २०८१

काठमाडौँ ।  दसैँ लागेसँगै बजारमा किनमेल गर्ने मानिसहरुको चहलपहल सुरु भएको छ । काठमाडौँ उपत्यकाका मुख्य बजारमा दसैँको लागि किनमेल गर्न उपभोक्ताहरु बजारमा निस्कँदा बजार चहलपलह देखिन थालेको छ । तर व्यापारीहरुले भने विगतको तुलनामा ७५ प्रतिशत व्यापार कम भएको भन्दै आएका छन् ।

उनीहरु बजारलाई दसैँ नलागेको बताइरहेका छन् । काठमाडौँ उपत्यकाका मुख्य बजार असन, न्युरोड, महाबौद्ध, भोटाहिटी लगायतका बजारमा सामान किनमेल गर्ने ग्राहकहरुको चहलपलह देखिन थालेको छ । तर उपभोक्ताहरुले हरेक सामान विगतको तुलनामा महङ्गो रहेको गुनासो गरे । हरेक वर्ष चाडपर्व आएसँगै बजारमा जुत्ता,चप्पल,कपडा लगायतका समानको मूल्य वृद्धि हुँदा उपभोक्ता महँगीको मारमा पर्ने गरेको बताए । 

असन,न्युरोड,महाबौद्ध,भोटाहिटी लगायतका मुख्य बजारमा दसैँका लागि किनमेल गर्न आएका सर्वसाधरणले सोच भन्दा बजार महँगो रहेको प्रतिक्रिया दिएका छन् । व्यवसायी तथा व्यापारीहरुले पनि गत वर्षको तुलनामा २० प्रतिशतसम्म बजार मूल्य बढेर आएको भन्दै उपभोक्ताको पहुँच भन्दा महँगो भएको स्वीकार गरेका छन् । काठमाडौँको रानीवनबाट असनमा किनमेल गर्न आएका पूर्णचन्द्र भट्टले विगत वर्षको तुलनामा बजार धेरै महँगो भएको बताए ।

उनले महिला, पुरुष तथा बालबालिकाले लगाउने कपडा पसलहरुमा मूल्य सूचीहरु समेत नभएको बताए । उनले सरकार सबै व्यवसायी दर्ता र वस्तुको मूल्यसूची राख्ने व्यवस्था गर्नुपर्ने बताए । उनले पसलमा मूल्यसूचि नहुँदा व्यापारीहरुले जति भने पनि हुने अवस्था देखिएको उल्लेख गरे । उनले पसलैपिच्छे एउटै समानको मूल्य फरक–फरक भन्ने गरेको बताए ।

उनले ग्राहकले व्यापारीसँग बार्गेनिङ गरिरहनुपर्ने अवस्था बजारमा रहेको बताए ।  उनले मुलुकको प्रतिव्यक्ति आम्दानी कम हुँदै जाने तर हरेक वर्ष बजार मूल्यवृद्धि भइरहने अवस्था रहेको बताए । उनले सरकारले बजारलाई नियन्त्रण गर्न आवश्यक रहेको भन्दै बजार नियन्त्रण नभए आम सर्वसाधरण जनता मूल्यवृद्धिको मारमा परिरहेने अवस्था रहेको बताए ।

अर्को काठमाडौँको सुकेधाराबाट किनमेलको लागि आएकी रुपा गुरुङको भनाई पनि त्यस्तै रहेको छ । उनले विगतको तुलनामा बजारमा सामानको मूल्य २ सय रुपैयाँ भएपनि महँगो पाइएको बताइन् । उनले दसैँ नेपालीहरुको सबैभन्दा ठूलो चार्ड भएकाले पनि बजार मूल्य उपभोक्ताको लागि सहज र सस्तो सरकारले बनाउनुपर्ने बताइन् । त्यस्तै काठमाडौँको वसुन्धराबाट किनमेलको लागि असन आएकी स्मृती सेढाइँले पनि सामान्य समयको भन्दा दशैँमा आएर महँगो देखिएको प्रतिक्रिया दिइन् ।

उनले काठमाडौँका अन्य बजार भन्दा असनमा सस्तो रहेको बताइन् । उनले मानिसहरुको केही आम्दानी बढेको र हरेक घरपरिवारमा एक जना विदेश भएकाले विगतको जस्तो नयाँ लुगा लगाउन दसैँ कुर्नुपर्ने अवस्था नभएको बताइन् । त्यस्तै, सुमित्रा सेढाईंले दसैँ लागेकाले बजार हरेक वस्तु महँगो रहेको बताइन् ।

भक्तपुरबाट न्युरोडमा किनमेल गर्न आएकी क्रिषा भट्टराईले भने फरक प्रतिक्रिया दिएकी छन् । उनले विगतको भन्दा अहिले सस्तोमा समान पाउन थालेको बताइन् । उनले एक हजार रुपैयाँ भन्दा तलको मूल्यमा कुनैपनि सामान नपाउने अवस्थामा अहिले एक हजारमा राम्रो एक जोर लुगा किन्न सकिने अवस्था रहेको बताइन् ।

अधिकांश उपभोक्ताहरुले बजार महँगो भएकाले यो वर्षको दशैँ महँगो हुने भएको प्रतिक्रिया दिए । उनीहरुले बजारमा हरेक लुगादेखि जुत्ता चप्पलसम्मको मूल्यवृद्धि हुँदा सामान्य वर्गका मानिसहरुले महँगीको मार खेप्नुपर्ने अवस्था रहेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप