शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

नख्खुका बाढी पीडितलाई स्थानीयको साथ: तीन सय जनालाई बिहान बेलुकी भोजन

शुक्रबार, १८ असोज २०८१, १६ : ०५
शुक्रबार, १८ असोज २०८१

काठमाडौँ । असोज ११ र १२ गतेको मनसुनजन्य विपद्का कारण काठमाडौँ उपत्यकासहित देशभरका नागरिकहरूको जनजीवन अस्तव्यस्त छ । कतिपयको वासस्थान नै बगाएको/डुबानमा परेको छ । नागरिकहरूको जनजीवन प्रभावित छ । 

काठमाडौँ उपत्यकामा बागमती, हनुमन्ते खोला, ललितपुरको नख्खु खोलाले बगाएर धेरै मानिसहरूको ज्यान गएको छ । नख्खु खोलाले घरवास बगाएर पीडित नागरिकहरू अहिले पनि खान र बस्नका लागि भौँतारिरहेका छन् । गाँसवासको टुंगो नहुँदा स्थानीहरू मिलेर उनीहरूलाई खान र बस्नको व्यवस्था गरिरहेका छन् । 

गत आइतबारदेखि ललितपुर महानगरपालिका वडा नम्बर २५ स्थित नख्खु खोला आसपासका पीडितहरूलाई स्थानीहरू मिलेर दुई छाक नै खाना खुवाइरहेको २५ नम्बर वडाका वडाध्यक्ष दौलतकुमार खत्रीले बताए । उनले सहयोगी दाताहरूले एकद्वारा प्रणालीबाट वडामा आइ सहयोग गरिरहेको र सोही सहयोगबाट पीडितहरूलाई खाने र बस्ने स्थानको व्यवस्था गरिएको बताए । 

वडाध्यक्ष खत्रीले २५ नम्बर वडामा २५० जनाको गाँसबास बाढीका कारण खोसिएको बताए । उनले स्थानीय सरकार, प्रदेश र केन्द्र सरकारले पनि समन्वयपूर्ण काम गरे सहज हुने विश्वास व्यक्त गरे । बाढीले घरहरू बगाएसँगै सरकारले दिएको राहत राख्ने ठाउँ नै नभएपछि पनि समस्याहरू सिर्जना भइरहेको उनले बताए । 

उनले भने, ‘सहयोगी दाताहरूले एकद्वारा प्रणालीबाट हामी खुवाउँछौँ भनेकाले लगातार खाना खुवाइरहेका छौँ । यो वडामा २५० जना जतिको गासवास बाढीका कारण खोसिएको छ भने २ जनाको मृत्यु भएको छ ।’

ललितपुर महानगरपालिका २५ नम्बर वडाकी महिला सदस्य सपना ठकुरीले स्थानीयहरू मिलेर पीडितलाई खाना खुवाइरहेको बताइन् । उनले दैनिक तीन सय जति मानिसहरूलाई खाना खुवाएको बताइन् । पीडितलाई खाना खुवाउन विभिन्न संस्थाहरूले सहयोग गरेको र बस्नका लागि सरकारी भवन, बालकुमारी मन्दिर लगायतमा राख्ने गरिएको बताइन् । 

उनले भनिन्, ‘वडाको तर्फबाट भन्दा पनि आइतबारदेखि आफैँ मिलेर खाना खुवाइरहेका छौँ । तीन सय जति मानिसलाई खाना खुवाइरहेका छौँ । विभिन्न संस्थाले सहयोग गर्नुभएको छ ।’

नेपाली कांग्रेस ललितपुर महानगरपालिका वडा नम्बर २५ का सभापति रविचन्द्र ठकुरीले महानगरपालिकाले पीडितको राहत र उद्धारमा राम्रो काम गरिरहेको बताए । उनले अहिले पनि विस्थापितहरूलाई बस्न र खानको व्यवस्था स्थानीय मिलेर गरेको बताए । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप