शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय
खेल

एभरेष्ट महिला भलिबल लिग : तीन टोलीका खेलाडीविरुद्ध चितवन शक्तिको उजुरी

शुक्रबार, १८ असोज २०८१, १५ : २७
शुक्रबार, १८ असोज २०८१

काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको ‘वात्सल्य एभरेष्ट महिला भलिबल लिग’ मा शुक्रबार सहभागी ६ वटै टोलीले लिग चरणको आफ्नो अन्तिम खेल खेल्दैछन् । तर, लिग चरणको अन्तिम खेलअघि सहभागी टोलीमध्येको एक चितवन शक्तिले दुईवटा क्लबविरुद्ध ‘प्रोटेष्ट’ (उजुरी) हालेको छ ।

चितवन शक्तिले काठमाडौँ स्पाइकर्स र कर्णाली यश्विजविरुद्ध उजुरी हालेको हो । जारी लिगमा चितवन शक्तिले असोज १५ गते काठमाडौँ स्पाइकर्ससँग र असोज १७ गते कर्णाली यश्विजसँग खेलेको थियो । ती दुवै खेलमा चितवन शक्ति पराजित भएको थियो ।

कर्णाली यश्विजबाट जर्सी नम्बर ११ लगाएर खेलिरहेकी सीता सेन ठकुरी ट्यालेन्ट हन्टबाट छानिएकी हुन् । यसका अतिरिक्त, रितिका भट्टराईलाई पनि काठमाडौँ स्पाइकर्सले ट्यालेन्ट हन्टबाटै छनोट गरेको हो । यी दुवै खेलाडी जारी महिला लिगमा आ–आफ्नो टोलीमा सहभागी छन् ।

कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता नखेलेको खेलाडीले मात्र ट्यालेन्ट हन्टमा सहभागी हुन पाउने प्रावधान रहेको छ । तर, चितवन शक्तिले भने यी दुवै खेलाडीले नवौँ राष्ट्रिय खेलकुदमा सहभागिता जनाइसकेको दाबी गरेको छ ।

चितवन शक्तिका अनुसार, रितीकाले नवौँ राष्ट्रिय खेलकुदमा सुदूरपश्चिम प्रदेशको टोलीबाट सहभागिता जनाएकी थिइन् । सीताले भने कर्णाली प्रदेशको टोलीबाट नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिता जनाएकी थिइन् ।

गण्डकी प्रदेशले पनि राष्ट्रिय प्रतियोगिता खेलिसकेकी सोइङ थापालाई ट्यालेन्ट हन्टमार्फत टोलीमा समेटेको दाबी चितवन शक्तिले गरेको छ । चितवन शक्तिले प्रतियोगिताको आयोजकसँग यस विषयमा निश्पक्ष छानबिन गरी कारवाहीको माग पनि गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप