शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

यातायात क्षेत्रका प्रतिनिधिसँग प्रचण्डको छलफल

शुक्रबार, १८ असोज २०८१, १५ : ०४
शुक्रबार, १८ असोज २०८१

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यातायात व्यवसायी महासङ्घ र यातायात मजदुर सङ्गठनका पदाधिकारी तथा यातायात क्षेत्रका प्रतिनिधिहरूसँग छलफल गरेका छन् ।  यातायात प्रतिनिधिहरूलाई शुक्रबार खुमलटार बोलाएर अध्यक्ष प्रचण्डले प्राकृतिक विपतले यातायात क्षेत्रमा सिर्जना गरेको समस्या समाधानबारे छलफल गरेका हुन् । 

बाढी पहिरोका कारण विभिन्न ठाउँमा भएको क्षतिको अनुगमन गरेका अध्यक्ष प्रचण्डले दसैँको समयमा गाउँ फर्कने जनताको अवस्था, बाढी पहिरोबाट अवरुद्ध सडक सञ्जाल, यातायात व्यवसायी, मजदुर लगायत समग्र यातायात क्षेत्रका समस्याबारे जानकारी लिँदै समाधानका लागि पहल लिने प्रतिबद्धता जनाएका हुन् । 

काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेका प्रभावितस्थलको अनुगमन गर्दा ठाउँ ठाउँमा अझै पनि गाडी पुरिएको, आवागमन अवरुद्ध रहेको, यातायात क्षेत्रले ठूलो क्षति भोगेको र यातायात मजदुरलाई पीडादायी अवस्थामा देखेको उल्लेख गर्दै उनले यससम्बन्धी विस्तृत जानकारी यातायात क्षेत्रबाट लिएर प्रमुख प्रतिपक्षी दलको नेताको रूपमा समाधानका लागि पहल गर्न छलफल आयोजना गरेको जानकारी दिए । 

सो क्रममा यातायात महासङ्घ र यातायात मजदुर सङ्गठनका पदाधिकारीले यातायात क्षेत्रले सङ्कट व्यहोर्नुपरेको, व्यवसायी मारमा रहेको, यातायात मजदुरहरूको सुरक्षाका लागि सरकारले पहल लिन नसकेको, यातायात क्षेत्रमा पुगेको क्षतिको तथ्याङ्क सङ्कलनसमेत नगरिएको र अहिलेको विपतले कोभिडको बेला जस्तै यातायात क्षेत्रलाई पीडा दिएको बताए ।

सरकारले पूरै शक्ति लगाएर तीन चार दिनभित्र पहिरोका कारण थुनिएका मजदुर र गाडीको उद्धार गर्नुपर्ने, घरबारविहीन भएका मजदुर र व्यवसायीलाई राहतको व्यवस्था गर्नुपर्ने र पुरिएका र बगेका गाडीको  बीमा रकम प्राप्तिमा समस्या भएका कारण तत्काल उपलब्ध गराइदिने वातावरण बनाइदिन उनीहरुले आग्रह गरेका थिए । 

यातायात क्षेत्रका प्रतिनिधिहरूले अध्यक्ष प्रचण्डलाई उद्धार, राहत र पुनर्स्थापनाका गरेको अगुवाइको प्रशंसा गर्दै प्रमुख प्रतिपक्षी दलको रूपमा सरकारले नगरेको काम गरेको बताएका थिए । 

आफूहरूलाई बोलाएर यातायात क्षेत्रको अभिभावकको भूमिका निर्वाह गरेकोमा खुसी व्यक्त उनीहरुले प्रधानमन्त्रीले आजसम्म चासो नदेखाएकोमा गुनासो व्यक्त गरेका थिए । विपतले यातायात क्षेत्रमा पारेको समस्यालाई प्रमुख प्रतिपक्षी दलले महत्त्वपूर्ण एजेन्डाको रूपमा सरकारसँग छलफल गरेर समाधानका लागि पहल गरिदिन पनि उनीहरुले अध्यक्ष प्रचण्डलाई आग्रह गरेका थिए ।

अध्यक्ष प्रचण्डसँगको छलफलमा राष्ट्रिय यातायात व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वार, वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, अखिल नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष दीपक केसी, नेपाल यातायात मजदुर सङ्घका धर्म भण्डारी, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनका भीम ज्वाला राई लगायत पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप