शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

राजेन्द्रको रणनीतिक निर्णयले राप्रपामा चुलियो असन्तुष्टि

धवलशमशेरको जिम्मेवारी खोसिएसँगै संस्थापन र इतरपक्ष आरोप प्रत्यारोपमा
शुक्रबार, १८ असोज २०८१, १५ : १३
शुक्रबार, १८ असोज २०८१

काठमाडौँ । धर्मनिरपेक्षता र गणतन्त्रविरोधी पार्टी राप्रपाभित्र पछिल्लो समय गरिएको जिम्मेवारी हेरफेरले असन्तुष्टि चुलिएको छ । आगामी महाधिवेशनलाई लक्षित गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले ‘रणनीतिक निर्णय’ मार्फत महामन्त्री धवलशमशेर राणालाई संगठन विभाग प्रमुखको जिम्मेवारीबाट हटाएपछि इतर समूह चिढिएको छ । उनीहरूले अध्यक्षबाट ‘अमानवीय’ निर्णय भएको आरोपसमेत लगाएका छन् ।

इतर पक्षले आगामी महाधिवेशनमा राजेन्द्र लिङ्देनलाई चुनौती दिन राणालाई अघि सार्ने तयारी गरिरहँदा लिङ्देनले पनि आफूलाई बलियो राख्न सोहीअनुसारको रणनीति अपनाएका छन् । जसअनुसार लिङ्देनले संगठनमा राणाको हालिमुहाली हुन नदिने रणनीतिका साथ उनको जिम्मेवारी नै खोसेर उपाध्यक्ष बुद्धिमान तामाङलाई दिएको बताइएको छ ।

लिङ्देनले पार्टीभित्र आवश्यक परामर्श नै नगरी राणासहितका केही नेताको जिम्मेवारी हेरफेर गरेका हुन् । राप्रपाका पूर्वअध्यक्ष डा प्रकाशचन्द्र लोहनी अहिले परिवारसँग दसैँ मनाउन अमेरिका पुगेका छन् । यस्तै उपाध्यक्ष विक्रम पाण्डे डेंगु संक्रमण भएर निवासमै आराम गरिरहेका छन् भने संगठन विभागबाट हटाइएका राणा पनि उपचारका सिलसिलामा भारतको मुम्बईमा छन् ।

दाँतको क्यान्सरको उपचारका लागि राणा भारत गएका बेला यसखालको निर्णय गरेर अध्यक्षले अमानवीय निर्णय गरेको पूर्वअध्यक्ष लोहनीले सार्वजनिक रूपमै टिप्पणी गरेका छन् । उनले सहकर्मीलाई तनाव दिने कार्यप्रति दुःख व्यक्त गर्दै लिङ्देनको निर्णयप्रति असहमति रहेको स्पष्ट पारेका छन् ।

हाल अमेरिकामा रहेका लोहनीले फेसबुकमार्फत भनेका छन्, ‘राप्रपाका सांसद तथा महामन्त्री धवलशमशेर बिरामी भएर विदेशमा उपचार गराउँदै हुनुहुन्छ । यस्तो बेलामा उहाँलाई संगठन विभागको प्रमुखबाट हटाउनु अविवेकी तथा अमानवीय निर्णय हो र बिरामी साथीलाई तनाव दिने काममात्र हो । यो निर्णयप्रति म दुःख व्यक्त गर्दछु र मेरो असहमति स्पष्ट गर्दछु ।’

लोहनीले मात्रै होइन, राप्रपाभित्रको लिङ्देन इतरसमूहका नेताहरूले निर्णयको आलोचना गरिरहँदा संस्थापन पक्ष भने विधान बमोजिम विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर भएको तर्क गरिरहेको छ । संस्थापन बचाउमा लाग्ने र इतर पक्ष विरोधमा उत्रिँदै गर्दा पार्टीभित्र एकपछि अर्को गर्दै समस्या बढ्दै गएको नेताहरू बताउँछन् ।

बिहीबार अध्यक्ष लिङ्देनले तामाङलाई संगठन विभाग प्रमुखको जिम्मेवारी दिनुअघि उनी राजनीतिक विभागको प्रमुख रहेका थिए । अहिले राजनीतिक विभाग प्रमुखको जिम्मेवारी अर्का उपाध्यक्ष रवीन्द्र मिश्रलाई दिइएको छ । यसैगरी स्थानीय तह परिचालन समितिमा ध्रुवबहादुर प्रधानलाई जिम्मेवारी दिइएको छ । यसअघि सो विभागको प्रमुखमा उपाध्यक्ष रोशन कार्की थिइन् ।

b59474b6-0465-4830-b434-b13d0f42463e

यसअघि प्रधान प्रशिक्षण विभागमा थिए । सो विभाग भने हाललाई खाली नै रहेको र छिटै मनोनयन प्रक्रिया टुङ्ग्याइने बताइएको छ । 

नेताहरूको जिम्मेवारी हेरफेरबारे प्रवक्ता मोहन श्रेष्ठले बिहीबार विज्ञप्तिमार्फत सार्वजनिक गरेसँगै पार्टीभित्र तरङ्ग उत्पन्न भएको थियो । श्रेष्ठको विज्ञप्तिअनुसार पर्यटन विभागको प्रमुखमा सहायक महामन्त्री विजय खड्का, विपद् व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धव थापा, सूचना प्रविधि विभाग (आइटी) को प्रमुखमा केन्द्रीय सदस्य उद्धवराज भेटुवाल र लेखा समितिको प्रमुखमा केन्द्रीय सदस्य केदार न्यौपानेलाई दिइएको छ । यतिधेरै विभागहरूमा जिम्मेवारी हेरफेर र मनोनयन भए पनि राणालाई हटाइएको विषयमा मात्रै विवाद उत्पन्न भएको हो ।

पछिल्लो समय अध्यक्ष लिङ्देन र राणाबिच सम्बन्ध राम्रो नरहेको नेताहरू बताउँछन् । त्यसमाथि आगामी महाधिवेशनबाट फेरि शक्तिमा पुग्ने महत्त्वाकांक्षाले समेत यसमा काम गरेको छ । अघिल्लो महाधिवेशनमा लिङ्देनलाई अध्यक्ष बनाउन राणाले नै बलियो साथ दिएका थिए । तर, समयक्रमसँगै अध्यक्षको कार्यशैलीप्रति राणाले प्रश्न उठाउँदै आएका छन् भने पार्टीभित्र छुट्टै गतिविधिसमेत गर्दै आएका छन् ।

लिङ्देनलाई चुनौती दिनेगरी राणाले आफू संयोजक रहेको ‘आन्दोलन परिचालन समिति’मार्फत पार्टीको गतिविधि गर्दै आएका छन् । राणाले लिङ्देनसँग कुनै सल्लाह नगर्ने र लिङ्देनले पनि पर्याप्त छलफल नगरी पार्टी सञ्चालन गर्दा समस्या उत्पन्न भएको बताइएको छ ।

पछिल्लो निर्णयसँगै पाटीभित्र तीव्र बहस र विवाद भइरहँदा राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले अध्यक्ष लिङ्देनले पार्टीको विधान बमोजिम विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर र केही विभागका प्रमुखहरूको मनोनयन गरेको दाबी गरे ।

‘हिजो पार्टीको अध्यक्ष भएर आएकाले पनि, भोलिका दिनमा पार्टी अध्यक्ष हुन्छु भन्नेहरूले पनि र पार्टी सदस्य सबैले बुझ्नुपर्ने कुरा के भने राप्रपाको विधानमा विभाग प्रमुखहरूको मनोनयन पार्टी अध्यक्षले गर्ने भन्ने स्पष्ट व्यवस्था छ । कुनै समितिको बैठकले गर्ने होइन’, श्रेष्ठले भने, ‘अघिल्लोपटक अध्यक्षलाई विधानले दिएको त्यही अधिकार बमोजिम नेताहरू बुद्धिमान तामाङ राजनीतिक विभाग प्रमुख, ध्रुव बहादुर प्रधान प्रशिक्षण विभाग प्रमुख, डा धवल शमसेर राणा संगठन विभाग प्रमुख र अरु अन्य विभागहरूको प्रमुख मनोनयन हुनुभएको हो ।’ अहिले पनि अध्यक्षले सोही विधान बमोजिम केही विभाग प्रमुख नेताहरूको जिम्मेवारी हेरफेर र केही विभाग प्रमुखहरूको नयाँ मनोनयन गरेको श्रेष्ठको जिकिर छ ।

उनले विभाग प्रमुख मात्रै नभइ विभागका सदस्यहरूको समेत मनोनयन अध्यक्षले गर्ने प्रावधान रहेको बताए ।  पार्टीका जिम्मेवार नेताहरूले आफ्नो असहमति फेसबुकमा राख्ने कामले पार्टीको हित नगर्ने उनको भनाइ छ ।

श्रेष्ठले अध्यक्षले विधानअनुसार कार्य गरेको बताइरहँदा राणाले आन्दोलन परिचालन समितिको नाममा विधानविपरीत कार्यगरिरहेको पनि रातोपाटीसँगको कुराकानीमा उनले सङ्केत गरे । ‘केन्द्रीय समितिको निर्णयअनुसार आन्दोलन परिचालन समिति बनेको हो । समितिले आफूखुसी मनोनयन गर्न पाउँदैन । सिफारिसका आधारमा अध्यक्षले गर्ने हो तर त्यसो हुन सकेको छैन’, उनको भनाइ थियो ।

यद्यपि अरु कुनै कारण नभएर आन्दोलन परिचालन समितिमै राणाको काम धेरै भएकाले संगठन विभाग अर्को नेतालाई दिएर उनलाई हल्का बनाउने काम पार्टीले गरेको श्रेष्ठको तर्क थियो ।

राणापक्षीय नेता तथा प्रवक्ता सगुन सुन्दर लावतीले सार्वजनिक बिदाको दिन गरिएको निर्णयले प्रश्न उत्पन्न भएको बताए । ‘बिदाको दिन निर्णय आयो, संगठन विभागको जुन कुरा छ, त्यो पार्टीको सक्रियमध्येकै एक निकाय हो । विधानमा विभागको जिम्मेवारी हेरफेरको अधिकार केन्द्रीय कार्य समितिलाई तोकेको छ’, उनले भने, ‘निर्णयले देशभरका नेता कार्यकर्तामा चर्चा र असन्तुष्टि निम्त्याएको छ ।’

पार्टीलाई विधिअनुसार चलाउनु पर्ने धारणा राख्दै उनले महाधिवेशनको म्यान्डेट पनि त्यही भएको तर्क गरे ।

‘देशभरका कार्यकर्ताले मेहनत र शीर्ष नेताहरूले पनि त्याग गरेर छिन्नभिन्न रहेको पार्टीलाई एक ठाउँमा ल्याएर एकताको महाधिवेशन भएको हो । महाधिवेशनमा पुस्तान्तरणको लहर चल्यो । त्यसअनुसारको नतिजा महाधिवेशनले दियो पनि’, उनले भने, ‘तर, महाधिवेशनको म्यान्डेटअनुसार पार्टीभित्र गतिविधि भएको छैन । कार्यक्रम, कार्यदिशा र प्राथमिकताको विषयमा पार्टीभित्र रनभुल्ल छ ।’

देशभित्र राजनीतिक विकल्प खोजिँदा पार्टीभित्र भने विधानको समेत पालना नहुने गरी संवेदनाहीन कार्य भइरहेको उनले टिप्पणी गरे ।

विधानमा के छ व्यवस्था ?

असन्तुष्ट पक्षले विधानअनुसार अध्यक्षले निर्णय नगरेको जिकिर गरिरँदा प्रवक्ता श्रेष्ठले भने विगतदेखिनै अध्यक्षले जिम्मेवारी हेरफेर गर्दै आएको अभ्यास रहेकाले यसमा कुनै विवाद नरहेको बताए ।

राप्रपाको विधानको धारा २४ मा ४३ वटा विभाग रहने उल्लेख छ । ती विभागमध्ये कतिपयमा भने हालसम्म पनि मनोनयन नगरिएको पार्टीले जनाएको छ ।

४२ विभाग तथा समितिहरूका अतिरिक्त केन्द्रीय समितिले आवश्यकताअनुसार अन्य विषयगत विभाग तथा समितिसमेत गठन गर्न सक्ने विधानमा उल्लेख छ । ‘विभाग र समितिहरू गठन गर्दा मधेसी, दलित, आदिवासी जनजाति, महिला, पिछडिएको क्षेत्र र अल्पसंख्यक जनजातिहरूलाई प्राथमिकता दिनुपर्ने छ’, विधानमा भनिएको छ, ‘विभाग तथा समितिहरूको काम, कर्तव्य र अधिकार केन्द्रीय समितिले तोके बमोजिम हुनेछ ।’

राप्रपाको विधानको धारा २६ मा अध्यक्षको काम, कर्तव्य र अधिकारबारे स्पष्ट गरिएको छ । जसमा पार्टीको आदर्श, सिद्धान्त र मर्यादालाई उच्च राख्ने र राख्न लगाउने, पार्टीलाई सवल र सक्षम संगठनका रूपमा सञ्चालन गर्न प्रभावकारी नेतृत्व प्रदान गर्ने, पार्टीको महाधिवेशन, केन्द्रीय परिषद र केन्द्रीय समितिका बैठकहरूको अध्यक्षता गर्ने र पार्टीका विभिन्न तहका समितिहरू मार्फत पार्टीको कार्य सञ्चालन गर्ने, निर्देशन दिने र कामको बाँडफाँट गर्ने विषय उल्लेख छ ।

यस्तै पार्टीको अनुशासन कायम राख्न निर्देशन दिने र आवश्यक परे कारबाही चलाउन केन्द्रीय कार्य समितिमा पेस गर्ने, आवश्यकता अनुसार सल्लाहले केन्द्रीय तहमा पार्टीको विभिन्न प्रयोजनका लागि समिति, विभाग र आयोगहरू गठन गर्ने र काम, कर्तव्य तथा अधिकार तोक्ने विषय उल्लेख छ । तर, बिहीबारकै निर्णय गर्दा अध्यक्षले केन्द्रीय कमिटीमा छलफल नगरी एकपक्षीय रुपमा गरिएको असन्तुष्ट पक्षको जिकिर छ ।

राप्रपाका केन्द्रीय सदस्य जनकराज पाठकले लिङ्देनलाई नै अध्यक्ष बनाउन भूमिका खेल्ने र युवा पुस्ताको नेतृत्वको बहस चलाउने महामन्त्री राणालाई अध्यक्षले अपमानजनक ढंगले जिम्मेवारीबाट हटाउने काम गरेको बताए । 

यसैबिच केही नेताहरू भने पार्टीभित्र गुटगत राजनीति हाबी हुँदा अनावश्यक विवाद बढ्दै गएको बताउँछन् । पार्टीभित्र एकले अर्कालाई नमान्ने, गुटगत राजनीति गर्ने र निजिकिँदै गरेको महाधिवेशनको कारणले समेत अस्वस्थ प्रतिस्पर्धा भएको उनीहरूको भनाइ छ ।

राप्रपाले समयमा महाधिवेशन गर्ने हो भने २०८२ मंसिरमा महाधिवेशन गर्नुपर्ने हुन्छ । महाधिवेशनका लागि राप्रपाले तल्लो तहको अधिवेशनको प्रक्रियासमेत सुरु गरिसकेको छ । जसअनुसार एक पक्षले अर्को पक्षलाई रोक्ने रणनीतिका साथ गतिविधि भइरहेको पछिल्लो घटनाक्रमले देखाएको छ ।

राप्रपामा अहिले इतर समूहमा धवलसहित पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनी, हरि बहादुर बस्नेत, नवराज सुवेदीलगायत एक ठाउँमा रहेको बताइएको छ । उनीहरूलाई पूर्वअध्यक्ष लोकेन्द्र बहादुर चन्दको समेत सद्भाव रहेको बताइन्छ । यस्तै लिङ्देन भने बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधानसहितका प्रभावशाली नेताहरूलाई साथमा लिएर पार्टीमा आफ्नो पकड जमाइराख्न प्रयासरत छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप