अनेरास्ववियु (क्रान्तिकारी)को इतिहास : ५९ वर्षमा को को भए अध्यक्ष ?
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन नयाँ नेतृत्व गठन नगरी स्थगित भयो । असोज १० देखि १४ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयमा भएको सम्मेलन उमेर हदसम्बन्धी विवाद चर्किएपछि निर्वाचन अयोगको सिफारिसमा बुधवार अनिश्चितकालका लागि स्थगित भएको हो ।
नियमित समयभन्दा एकवर्ष ढिला गरी भएको सम्मेलनले सङ्गठनको भावी समाजवादी कार्यदिशा र नेतृत्व छनोट हुने अपेक्षा राखिएको थियो । तर उमेर हद लगाउने कि नलगाउने विवादले उग्ररुप लिँदा महाधिवेशन प्रतिनिधि रित्तो हात घर फर्किन बाध्य भए । विशेष परिस्थितिमा बाहेक क्रान्तिकारीको प्रत्येक दुई दुई वर्षमा राष्ट्रिय सम्मेलन गर्नुपर्नेछ । नेपाल कम्युनिस्ट पार्टी निकट अनेरास्ववियुले हरेक वर्ष जेठ १ अर्थात् २०२२ मा सङ्गठन स्थापना दिवस मनाउँदै आएको छ । संगठनले क्रान्तिकारी पुच्छर झुन्ड्याउन थालेको ३१ वर्ष भएको छ ।
विसं. १९९१ देखि नै विद्यार्थीका हकहितका लागि संगठित भए पनि २०२२ सालमा मात्र संगठनले मूर्तरूप पाएको हो । २००६ सालमा नेपाल कम्युनिस्ट पार्टी स्थापना भएको १६ वर्षपछि मात्र सङ्गठन स्थापना भएको हो ।
अहिले अस्तित्वमा रहेका वामपन्थी र गैरवामपन्थीहरूको साझा सङ्गठनको प्रस्थानबिन्दु थियो । अनेरास्ववियुको नेतृत्व सम्बन्धमा ऐतिहासिक दस्ताबेज, क्रान्तिकारीले विभिन्न फोरममा पेस गरेको दस्ताबेजका आधारमा अनेरास्ववियुदेखि क्रन्तिकारीसम्मका संक्षिप्त जानकारी प्रस्तुत गरिएको छ ।
अनेरास्ववियुको पहिलो राष्ट्रिय सम्मेलन काठमाडौँको शोभाभगवती नजिकै एक किसानको घरमा भएको थियो । २०२२ साल वैशाख ५ गते पहिलो सम्मेलन गर्ने निर्णय भए पनि तत्कालीन राज्यपक्षको धरपकटका कारण बिथोलिएको थियो । पहिलो सम्मेलनबाट सुजन खरेल नेतृत्वमा ११ सदस्यीय केन्द्रीय समिति गठन गरेको थियो । जसमा वाचस्पति देवकोटा, भूवनलाल राजभण्डारी, मोहनचन्द्र अधिकारी, दमननाथ ढुङ्गाना, विश्वकान्त मैनाली लगायत रहेका थिए ।
२०२५ साल बैशाख (६–८)मा त्रिभुवन विश्वविद्यालयमा दोस्रो सम्मेलन भयो । दोस्रो सम्मेलनबाट विश्वकान्त मैनालीको संयोजकत्वमा केन्द्रीय समिति गठन भएको थियो । यद्यपि यो सम्मेलनलाई मान्यता दिने कि नदिने भन्ने विषयमा विवाद देखिएको थियो ।
२०२६ साल पाटको ओमबहालमा तेस्रो सम्मेलन सम्पन्न भयो । यो सम्मेलनले वामपन्थी, प्रगतिशील, देशभक्त तथा जनवादी विद्यार्थीहरूको साझा सङ्गठन निर्माण गर्यो । यही सम्मेलनले रातो पृष्ठभूमिमा कलम र तारा अङ्कित साझा झन्डा बनाउने निर्णय गर्यो । गोविन्दमान श्रेष्ठको नेतृत्वमा २४ सदस्यीय केन्द्रीय समिति गठन गर्यो । सङ्गठनको नामकरण अनेरास्ववियु (अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन) गर्यो । यद्यपि २०२७ साल वैशाखमा प्रजातान्त्रिक विचारधारा विद्यार्थीहरूले छुट्टै सङ्गठन नेपाल विद्यार्थी संघ गठन गरेका थिए । विद्यार्थीमा वामपन्थी र गैरवामपन्थीबिच कित्ताकाट तेस्रो सम्मेलनबाट भएको थियो ।
२०२९ साल असार ३ गते पाटनको च्यासलमा अनेरास्ववियुको चौथो सम्मेलन भयो । मुकुन्दबहादुर श्रेष्ठको अध्यक्षतामा केन्द्रीय समिति गठन भएको थियो । चौथो सम्मेलनपछि संगठनमा अन्तर्विरोध चुलिँदै गएपछि विभाजित भयो । विभाजित समूहले २०३३ सालमा पाँचौँ सम्मेलन गरेको थियो । यता प्रगतिशील समूहले २०३३ साल जेठ ९ गते निनु(निरञ्चन) चापागाईँको नेतृत्वमा केन्द्रीय समिति बनाएको थियो ।
२०३६ सालमा ललितपुरमा भएको छैटौँ सम्मेलनले लिलामणि पोखरेलको अध्यक्षतामा केन्द्रीय समिति गठन गर्यो । यही सम्मेलनबाट अनेरास्ववियु(पाचौं) र अनेरास्ववियु(छैटौँ) अस्तित्वमा आयो ।
२०३८ सालमा भक्तपुरमा भएको सातौँ सम्मेलनबाट पुनः पोखरेल नै निर्वाचित भए । सातौँ महाधिवेशनपछि २०४० सालमा दोस्रो पटक सङ्गठन विभाजित भयो । नेकपा चौम र नेकपा (मशाल) बिच देखिएको अन्तर्विरोधका कारण विभाजन भएको थियो । २०४० सालमा भएको आठौँ सम्मेलनले फेरि पोखरेललाई नै अध्यक्ष बनाएको थियो ।
२०४२ सालमा नेकपा मशाल विभाजन भएपछि २०४३ सालमा भारतको गोरखपुरमा नवौँ सम्मेलन भएको थियो । उक्त सम्मेलनबाट रमण श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका थिए । २०४४ सालमा भएको सम्मेलनबाट संयोजक कृष्ण सेन भए ।
दसौँ सम्मेलनबाट भानु शर्मालाई अध्यक्ष बनाएको थियो । २०४७ सालमा भएको एघारौँ महाधिवेशनबाट देवेन्द्र पौडेल संयोजक भए । २०४८ सालमा विभिन्न पाँच विद्यार्थी सङ्गठन मिलेर एकता गरेका थिए । फागुनमा काठमाडौँमा भएको १२ औँ सम्मेलनबाट हितमान शाक्य अध्यक्ष चुनिए । २०५० मा भएको हेटौँडा भएको राष्ट्रिय भेलाले अनेरास्ववियुको पछाडि क्रान्तिकारी पुच्छर झुन्ड्याउने काम भयो ।
२०५२ साल वैशाखमा भएको १३ औँ सम्मेलनबाट कृष्णध्वज खड्का अध्यक्षमा निर्वाचित भए । २०५४ सालमा भएको १४ औँ सम्मेलनबाट पनि खड्कालाई नै अध्यक्षमा निर्वाचित गरेको थियो । २०५८ सालमा भएको १५ औँ एकता महाधिवेशनले देवेन्द्र पराजुलीलाई अध्यक्ष चुनेको थियो । अनेरास्ववियुबिचको थोप्ला हटाउने निर्णय गरेको थियो । २०६० सालमा काठमाडौँमा भएको १६ औँ सम्मेलनले लेखनाथ न्यौपानेलाई अध्यक्ष बनाएको थियो ।
२०६३ सालमा भएको १७ औँ सम्मेलनले पनि न्यौपानेलाई नै अध्यक्ष बनाएको थियो । २०६७ मङ्सिरमा भएको १८ औँ सम्मेलनले हिमाल शर्मालाई अध्यक्ष बनायो । २०७० मा भएको १९ औँ सम्मेलनबाट रमेश मल्ल अध्यक्षमा निर्वाचित भए । विभाजित क्रान्तिकारी माओवादीबाट शरद रसाइली अध्यक्ष भएका थिए ।
२०७२ सालमा भएको २० औँ सम्मेलनले रत्न ढकालको नेतृत्वमा नयाँ समिति गठन भएको थियो । २०७३ साल साउनमा भएको एकता भेलाले नरेन्द्र न्यौपानेलाई अध्यक्ष बनायो । २०७४ साल भदौमा भएको भएको २१ औँ सम्मेलनबाट रञ्जित तामाङ अध्यक्षमा चुनिएका थिए । सहमति नभएपछि निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन भएको थियो ।
२०७८ असोजमा भएको २२ औँ राष्ट्रिय सम्मेलनले पञ्चा सिंह अध्यक्ष बन्न सफल भइन् । पहिलोपटक महिला अध्यक्ष भएर सिंहले इतिहास रचेकी थिइन् । आफ्नै नेतृत्वमा २३ औँ राष्ट्रिय सम्मेलन सफल बनाएर नेतृत्व हस्तान्तरण गर्ने सिंहको चाहना तत्कालका लागि स्थगित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अघि बढ्यो विद्युत् विधेयक, संसदीय समितिमा आइतबारदेखि छलफल
-
इन्स्पेक्टर बिनु शाहीको थुनछेक सकिएन, हिरासतमा बास
-
रवि लामिछानेविरुद्ध मुद्दा दायर भएपछि प्रहरीले संसद् सचिवालयलाई पठाएको पत्रमा के छ ?
-
संघर्षशील सहकारीको ठगी आरोपमा २ जना पक्राउ
-
सवा पाँच महिनामा सरकारले पायो २ खर्ब २ अर्ब ४० करोड वैदेशिक सहायता
-
एलओडीमा जनकपुर बोल्ट्सको ‘भिक्ट्री सेलिब्रेसन’, तस्बिरहरू