शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय
वैदेशिक रोजगार

मलेसियाको रोजगारी कहिले खुल्छ ?

शुक्रबार, १८ असोज २०८१, १७ : ००
शुक्रबार, १८ असोज २०८१

काठमाडौँ । मलेसियाले विदेशी कामदार भित्र्याउने प्रक्रिया कहिलेबाट खोल्ने भन्ने अझै यकिन हुन सकेको छैन । आन्तरिक व्यवस्थापन गर्ने भन्दै गत मे ३१ तारिख (२०८१ जेठ १८ गते) देखि मलेसियाले नेपालसहित सबै स्रोत मुलुकबाट कामदार लैजान रोकेको थियो ।

विदेशी कामदार ल्याउन रोकेपछि हाल मलेसिया जाने श्रमिकको सङ्ख्या निकै घटेको छ । अहिले मलेसियामा सुरक्षा गार्डसहित केही सीमित कामका लागि भने श्रमिक जाने गरेका छन् ।

यो बिचमा सुनका गहना बनाउने ‘गोल्डस्मिथ’, कपाल काट्ने ‘बारबर’, कृषि क्षेत्रमा काम गर्ने केही विदेशी कामदारलाई मलेसियाले खुला गरेको थियो । तर, मलेसियास्थित नेपाली दूतावासले माग प्रमाणीकरण नगरिदिँदा ती क्षेत्रमा नेपाली कामदार जान पाएनन् ।

अब मलेसियाले कामदार भित्र्याउन कहिले खुला गर्छ भनेर सबै स्रोत मुलुकको चासो बढेको छ । मलेसियास्थित नेपाली दूतावासका अधिकारीले केही कम्पनीका लागि खुला गरेको जानकारी पाएका थिए । सोही आधारमा दूतावासले मलेसियाली पक्षलाई पत्राचार गरेर जानकारी मागेको थियो । तर, त्यसको जवाफ अहिलेसम्म आइनसकेको मलेसियास्थित नेपाली दूतावासका श्रम काउन्सिलर भोला गुरागाईंले बताए ।

ambessy_of_maleysia_EsVIlehdY4

मलेसियाले ३१ मार्च २०२४ देखि विदेशी कामदारलाई ‘कलिङ भिसा’ जारी नगर्ने घोषणा गरेको थियो । दूतावास मागपत्र प्रमाणीकरणबारे मलेलिया सरकारको पत्रको प्रतीक्षामा रहेको उनको भनाइ छ । दूतावासले केडिएन (केमेन्टेरियन दलम नेगेरी) लाई पत्र लेखे पनि त्यसको जवाफ नआएको उनले बताए ।

मलेसियाले विदेशी कामदार रोकेर अवैधानिक रूपमा बसेका विदेशी श्रमिकका लागि घर फिर्ती कार्यक्रम ल्याएको थियो । अवैधानिक रूपमा मलेसियामा बस्दै आएका विदेशी नागरिकलाई २०८० फागुन १८ देखि २०८१ पुस १६ सम्म घर फिर्ती कार्यक्रम ल्याएको हो ।

माइग्रेसन प्रिप्रेशन प्रोग्राम अन्तर्गत बढीमा ५०० मलेसियन रिङ्गिट जरिवाना तिरेर घर फर्किने कार्यक्रम लागु गरेको हो । उक्त मौकाको फाइदा उठाउन मलेसियास्थित नेपाली दूतावासले यसअघि नै अनुरोध गरेको थियो ।

उक्त कार्यक्रम अन्तर्गत मलेसियामा विनाभिसा प्रवेश गरेका वा भिसाको म्याद गुजारेर बसेका (ओभर स्टे) को हकमा ५०० मलेसियन रिङ्गिट जरिवाना र भिसाको नियम उल्लङ्घन गरी मलेसियामा बसेकाहरूको हकमा ३०० मलेसियन रिङ्गिट जरिवाना तिरेर स्वदेश फर्किने व्यवस्था गरेको हो ।

मागभन्दा आपूर्ति बढी भएको र त्यसले आन्तरिक सुरक्षामा समस्या सिर्जना गरेको भन्दै मलेसियाले अर्को आदेश नहुँदासम्मका लागि आप्रवासी श्रमिकलाई भर्ना नलिने निर्णय गरेको थियो ।

मलेसियन गृहमन्त्री सेरी सैफुद्दीन नासुसन इस्माइलले पत्रकार सम्मेलन गर्दै सरकारले निर्धारण गरेको विदेशी श्रमिक संख्याको सीमा पूरा भइसकेको बताएका थिए । आफूसँग भएको कुल श्रमशक्तिको १५ प्रतिशतमात्रै विदेशी श्रमिक राख्ने नीति मलेसियाको छ । मलेसियामा एक करोड ७० लाख श्रमशक्ति छ । जसअनुसार विदेशी श्रमशक्तिको अधिकतम संख्या २५ लाख ५० हजार हो ।

गत फेब्रुअरीसम्ममा मलेसियामा विदेशी श्रमिकको संख्या २१ लाख ३० भन्दा बढी थियो भने मार्चसम्मका लागि थप ४ लाखलाई अनुमति दिएको थियो । सोही कारण मलेसियाले थप विदेशी कामदार ल्याउन रोकेको हो ।

मलेसियामा हाल श्रमिकको न्यूनतम तलब १५०० रिंगेट छ । आर्थिक मन्दीका कारण रोजगारदाताहरूले ओभरटाइम दिन नसक्दा न्यूनतम तलबमात्रै दिन बाध्य छन् ।

गृहमन्त्री इस्माइलले राष्ट्रिय सुरक्षाको विषयलाई मध्यनजर गर्दै सरकारले औपचारिक क्षेत्रमा विदेशी कामदार ल्याउन समयसीमा तोक्नुपर्ने अवस्था आएको बताएका थिए ।

गत आर्थिक वर्ष २०७९/०८० मा दुई लाख १९ हजार नेपाली मलेसिया गएका थिए । वैदेशिक रोजगारीमा जाने सबैभन्दा बढी नेपाली मलेसिया गएका थिए । तर, यो वर्ष मलेसिया जाने श्रमिक ह्वात्तै घटेको छ ।

मलेसियामा काम नपाएर बिचल्ली पर्नेहरूको सङ्ख्या बढ्दो थियो । उच्च लागत शुल्क तिरेर मलेसिया पुगेका आप्रवासी श्रमिकहरूले उचित तलबसहितको रोजगारी नपाउने अवस्था भएपछि मलेसियाले कामदार ल्याउन रोकेको थियो ।

विदेशी श्रमिक नल्याउने नीतिले मुलुकमा वैदेशिक श्रमको आवश्यकताको सही मूल्याङ्कन गर्न सहयोग मिल्ने गृहमन्त्री इस्माइलले भनेका थिए ।

मलेसियामा सुरक्षा गार्ड, पर्यटन क्षेत्र, फर्निचर, सरसफाइ र साना औद्योगिक उत्पादन लगायतका क्षेत्रमा नेपाली श्रमिकले काम गर्दै आएका छन् ।

२०७५ सालमा शून्य लागतसहितको श्रम सम्झौता भएपछि मलेसियाले नेपाललाई प्राथमिकतामा राख्दै आएको छ । भर्ना प्रक्रियामा कामदारलाई आर्थिक भार नपर्ने गरी तत्कालीन श्रममन्त्री गोकर्ण विष्टले मलेसियासँग उक्त सम्झौता गरेका थिए ।

२०७९ माघ १८ मा गृहमन्त्री इस्माइल नेपाल आएका थिए । तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेट गरेका थिए । भेटको क्रममा नेपाली कामदारलाई प्राथमिकतामा राखेको बताएका थिए ।

गत वर्ष खाडीमा रोजगारीको अवसर खुम्चिएका बेला मलेसिया नेपाली कामदारका लागि पहिलो गन्तव्य बनेको थियो । मलेसियामा शून्य लागत र फ्रि भिसा फ्रि टिकटमार्फत श्रमिक पठाउँदै आएका आकर्षण इन्टरनेशलका अध्यक्ष विष्णु केसीले अहिले कामदार पठाउन पूर्ण रूपमा रोकिएको बताए ।

विदेशी कामदार ल्याउन रोकेको मलेसियाले अबको केही समयमा खोल्न सक्ने जानकारी आएको बताए । आफूहरूले कामदार आपूर्ति गर्दै आएका कम्पनीहरूसँग अहिले अडिटदेखिका विभिन्न काम भइरहेको उनको भनाइ छ ।

‘अहिले कामदार पठाउन नपाए पनि अन्य प्रशासनिक काम भइरहेको छ । अब खुलेपछि मात्रै कामदार पठाउने प्रक्रिया सुरु गर्छौं,’ केसीले भने ।

श्रम काउन्सिलर गुरागाईंले दसैँ–तिहारको बिचमा खुल्न सक्ने बताए । ‘ठ्याक्कै यकिन गरेर भन्न सकिने अवस्था त छैन । तर, अहिले अनौपचारिक रूपमा केही कम्पनीलाई खुला गरेको भन्ने सुनेका छौँ । मलाइ लाग्छ, दसैँ–तिहारको बिचमा खुल्न सक्छ,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप