शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

एसिया रग्बी सेभेन्स : नेपाली पुरुष टोलीको लगातार दोस्रो हार

शुक्रबार, १८ असोज २०८१, १४ : १०
शुक्रबार, १८ असोज २०८१

काठमाडौँ । एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ को पहिलो दिन शुक्रबार नेपालको पुरुष टोलीले लगातार दोस्रो हार ब्यहोरेको छ । नेपाली पुरुष टोली आफ्नो दोस्रो खेलमा बहराइनसँग पराजित भएको हो । उक्त खेलमा बहराइनले नेपाललाई २७–०७ स्कोरले हरायो ।

यसअघि शुक्रबार नै नेपालको पुरुष टोली आफ्नो पहिलो खेलमा उज्वेकिस्तानसँग २४–० को स्कोरमा पराजित भएको थियो । नेपालको पुरुष टोलीले अब आफ्नो तेस्रो खेल शनिबार खेल्नेछ । नेपालको महिला टोली पनि आफ्नो पहिलो खेलमा पराजित भएको थियो ।

फिलिपिन्सले नेपालको महिला टोलीलाई ३२–० स्कोरले हराएको थियो । प्रतियोगिता एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा सञ्चालन भएको हो । प्रतियोगितामा १६ राष्ट्रका २१ टोलीको सहभागिता रहेको छ ।

प्रतियोगितामा पुरूषतर्फ १४ र महिलातर्फ सात टोलीले भाग लिएका छन् । आन्तरिक कारण इरानले अन्तिम समयमा प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो । पुरुषतर्फ सहभागी टोलीलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइँदै छ ।

नेपाल प्रतियोगिताको समूह ‘बी’ मा रहेको छ । उक्त समूहमा बहराइन र उज्वेकिस्तान पनि छन् । समूह ‘ए’ मा फिलिपिन्स, पाकिस्तान र जोर्डन छन् । समूह ‘सी’ मा कजाकिस्तान, कतार, साउदी अरबिया र श्रीलंका तथा समूह ‘डी’ मा अफगानिस्तान, भारत, बंगलादेश र चाइनिज ताइपेई छन् ।

यसैगरी, महिलातर्फ सात राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । महिलातर्फ समूह ‘ए’ मा नेपालसहित फिलिपिन्स, गुआम र उज्वेकिस्तान रहेका छन् । समुह ‘बी’ मा भने भारत, इन्डोनेसिया र श्रीलंका परेका छन् ।

प्रतियोगिताको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफीसहित स्वर्ण पदक, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले कांस्य पदक प्राप्त गर्नेछन् । नेपालबाट महिलातर्फ सिर्जना राई र पुरुषतर्फ विक्रम पुरीले कप्तानको भूमिका निर्वाह गरेका छन् ।

यो प्रतियोगिता सन् २०२५ मा आयोजना हुने एसिया रग्बी सेभेन्स सिरिजको छनोटका रूपमा समेत रहेको छ । प्रतियोगिताको विजेताले सन् २०२५ मा आयोजना हुने एसिया रग्बी सेभेन्स सिरिजमा स्थान बनाउने छन् । आयोजकका अनुसार, प्रतियोगिताको पहिलो दिन ३० खेल हुनेछन् । सिनियर स्तरको एसियाली रग्बी नेपालमा पहिलो पटक आयोजना भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप