शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

कुन परिवेशमा सरकार बनेको हो भन्ने बुझिएन भने पार्टीभित्र प्रश्न उठ्छ : डा. प्रकाशशरण महत

‘प्रधानमन्त्री हुँदामात्र काम हुने बाँकीचाहिँ निकम्मा हुन् भन्ने होइन’
शुक्रबार, १८ असोज २०८१

प्रधानमन्त्री र अर्थमन्त्रीबिचको द्वन्द्वले सरकारको समीकरण नै परिवर्तन भयो । सरकारबाट कांग्रेस बाहिरियो र एमाले प्रवेश ग¥यो । पछि कांग्रेस–एमाले मिलेर माओवादीलाई नै सरकार बाहिर पु¥याए । अर्थमन्त्रीसँगको मनमुटाव तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई यति महँगो भयो कि उनी सरकार बाहिर पुगे ।

त्यतिबेला अर्थमन्त्री थिए डा. प्रकाशशरण महत । वर्तमान सरकारको समीकरण बनाउन सक्रिय भूमिका खेलेका महत नेपाली कांग्रेसको प्रवक्ता पनि हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र महतसँग विपत्मा सरकारको असफलता, अर्थमन्त्री हुँदा प्रधानमन्त्रीसँगको विवाद, कांग्रेसको अबको सभापति को हो ? लगायतका विषयमा रातोपाटीले विस्तृत कुराकानी गरेको छ । प्रस्तुत छ, महतसँग गरिएको कुराकानीको सम्पादित अंश–

  • तपाईं कांग्रेस–एमाले समीकरणको सरकार बनाउन जसरी लाग्नुभयो, अहिले पछुतो लागेको छ ?

अहिले पछुतो लाग्नुपर्ने कारण त्यस्तो छैन ।

  • सरकारले काम गर्न नसकिरहेको अवस्था, प्रधानमन्त्री जथाभावी बोल्दै हिँडेको अवस्था छ । यस्तो देखेर पछुतो लाग्दैन ?

हाम्रो सभापति आवश्यकताभन्दा ज्यादा एक शब्द पनि बोल्नुहुन्न । कोही नेतामा आवश्यकताभन्दा बढी बोल्ने बानी छ । अहिलेको प्रधानमन्त्री झण्डै दुई तिहाइको सरकार चलाइसक्नुभएको व्यक्ति हो । तर टिकेन । त्यसबाट शिक्षा लिनुभएको होला । त्यसकारण कुरामा भन्दा काममा केन्द्रित हुने र गरेको काममा सशक्त ढंगबाट जनतामा सम्प्रेषण गर्ने कुरातिर हामी उन्मुख हुनुपर्छ ।

  • कांग्रेस–माओवादीको सरकार नटिक्नुमा प्रमुख कारक त तपाईं बन्नुभयो । प्रचण्डले तपाईंलाई असफल अर्थमन्त्री बनाइदिनुभयो । त्यसको बदलामा प्रचण्डजीलाई नै हटाइदिनुभयो, होइन ?

म एक्लैले हटाएर हट्ने कुरा हुँदैन । त्यसमा आधार छैन । प्रचण्डजी के कारणले हट्नुभएको रहेछ भनेर त उहाँ आफैँले संसदमा भन्नुभयो त । उहाँ कसरी फकिनुभएको रहेछ भनेर उहाँले नै भनिसक्नुभयो । अनि म कसरी कारक भएँ ?

  • तपाईं असफल अर्थमन्त्री त हो नि ?

कतिपय दलको नेतृत्वको भावना के छ भने पार्टी चलाउनु पर्छ । पार्टीलाई खुसी पारेँ भने नेतृत्वमा रहिरहन्छु भन्ने छ । देश र जनतालाई केन्द्रमा राखेर काम गर्दा कसैलाई असफल लाग्छ भने त्यसको त उपचार छैन ।

  • तपाईंलाई त प्रचण्डले मात्र होइन, सेयर बजारले पनि असफल बनायो, होइन ?

सेयर मार्केटको कुरामा धेरै भूमिका नेपाल राष्ट्र बैंकको हुन्छ । उसले ल्याउने मौद्रिक नीतिमा भर पर्छ ।

  • यसको मतलब राष्ट्र बैंकले तपाईंको कार्यकालमा असहयोग ग¥यो ?

आंशिक रुपमा त सहयोग पाएँ । तर पूरै रूपमा राष्ट्र बैंकलाई कन्भिन्स गर्न सकिनँ ।

  • कांग्रेस–एमालेको सरकार बन्ने बित्तिकै देशमा सबै ठिकठाक हुन्छ भनेर संसदमा भन्नुभएको थियो । अस्तिको विपत्तिमा सरकारले गरेको काम हेरेपछि त्यो भनाइ फिर्ता लिनुहुन्छ कि ?

दुई ठुला दल मिलेपछि यसले आशा जगाएको छ । त्यही अनुसार हामीले काम गर्नुपर्छ । अब काम नगर्नुपर्ने कुनै कारण छैन भन्ने मेरो भनाइ थियो । अपेक्षाअनुसार काम भएको छ भन्दिनँ तर अहिले नै यसले गर्न सक्दैन भन्ने निस्कर्षमा पुग्नचाहिँ अपरिपक्व हुन्छ ।

  • विपतका बेला गृहमन्त्री तपाईंकै पार्टीको, कार्यवाहक प्रधानमन्त्री तपाईंकै पार्टीको । मन्त्रिपरिषद्को एउटा बैठक राख्न सक्नुभएन । उद्धारको काम त कसरी भयो भनेर भन्नै परेन । यहाँभन्दा असफल हुन बाँकी हुन्छ ?

कतिपय ठाउँमा चुक भयो होला । कतिपय ठाउँमा संयन्त्रले काम गरेन होला । कतिपय ठाउँमा नेतृत्वले सघन ढंगबाट सशक्त कमाण्ड गर्न सकेन होला । तर उहाँले कामै गर्नुभएन, अफिसमा आनन्दले बस्नुभयो भन्ने अवस्था होइन ।

461170482_935544155082443_246210510741960134_n

  • यसको मतलब सरकारले काम गरेको थियो, त्यसै आलोचना भयो भन्ने तपाईंको भनाइ हो ?

राज्य संरचनामा धेरै नै कमी–कमजोरी छ । संशाधनको पनि कमी छ । त्यसका बाबजुद केही नै गर्नुभएन म भन्दिनँ । तत्कालै परिणाम खोज्ने समाज छ हाम्रो । म मन्त्री हुँदा अहिले मन्त्री भएका कतिपय साथीहरूले नै केही भएन भनेर भन्थे । म त्यस्तो गैरजिम्मेवार भएर बोल्न चाहन्नँ ।

  • भिजिविलिटी नपुगेर हेलिकोप्टर समयमा उडाउन सकिएन भन्ने गृहमन्त्रीको भनाइ पनि सही हो ? तथ्यले त्यही भन्छ ?

गृहमन्त्रीले हामीलाई ब्रिफिङ गरे अनुसार, आर्मीका महत्त्वपूर्ण व्यक्तित्व उहाँसँगै त्यतिबेला थिए । आर्मीका उच्च अधिकारीले त्यहीँबाट पाइलटलाई कुरा गर्नुभयो । पाइलटले भिजिविलिटी कम छ, म जान सक्दिनँ भनेकाले त्यही कुरा गृहमन्त्रीले बाहिर गर्नुभएको रहेछ । यसमा गृहमन्त्रीले ढाँटेको कसरी भयो त ?

  • त्यस दिनको र त्यो समयको भिजिविलिटीको तथ्य त्यही हो त ? अहिले त मिनेट मिनेटको हेर्न पाइन्छ । तथ्य अर्कै देखिन्छ । अनि ढाँटेको भएन ?

गृहमन्त्री त्योसम्बन्धी प्राविधिक ज्ञान भएको व्यक्ति त होइन । उनीहरूले जे भने, गृहमन्त्रीले त्यही भनिदिनुभयो । पछि आर्मीलाई किन ढाँट्यौ भन्न पनि मिलेन होला ।

  • यसको मतलब गृहमन्त्रीलाई सेनाले टेरेन ?

भिजिविलिटी थियो भने किन गएनन् ? भिजिविलिटी हुँदाहुँदै छैन भनिएको हो भने सिरियस विषय हो । त्यस विषयमा सम्बन्धित संरचनाले गम्भीर रूपमा हेर्नुपर्छ ।

  • मौसम पूर्वानुमान महाशाखाले पानी पर्छमात्र भन्यो तर कहाँकहाँ पहिरो जान्छ त भनेन नि भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति पनि सही नै हो ?

ठुलो जिम्मेवारीमा बसेको व्यक्तिको जिम्मेवारी पनि ठुलै हुन्छ । त्यसैले अभिव्यक्ति दिँदा कतिपय संवेदनशीलतालाई मध्यनजर राखेर दिनुपर्छ । यसमा  प्रधानमन्त्रीले ध्यानमा राख्नुपर्छ ।

  • अमेरिकामा सामान्य काममा नअल्मलिइ स्वदेश चाँडै फर्किनुस् प्रधानमन्त्रीज्यू भनेर कांग्रेसले भनेन ?

हाम्रो संयन्त्र थियो । गृहमन्त्री हुनुहुन्थ्यो । कार्यवाहक प्रधानमन्त्री हुनुहुुन्थ्यो । अनि हामीलेचाहिँ नसक्ने भयौँ । तपाईं आइदिनुप¥यो भन्ने कुरा हुँदैनथियो ।

  • आपत् विपत्मा मन्त्रिपरिषदको एउटा बैठकसमेत राख्न नसक्ने कार्यवाहक प्रधानमन्त्री के काम ?

बैठक भएका छन् । निर्णय भएका छन् । गर्दै नगरेको होइन । राजमार्गको मुभमेण्ट रोक्न नसक्नुचाहिँ कमजोरी हो ।

  • मुलुकमा विपद् आइपर्दा प्रधानमन्त्री, प्रहरी प्रमुख, विपद् व्यवस्थापन प्रमुख विदेशमा, सम्मान खान मुख्य सचिव गृहजिल्लामा अनि यता उद्धारका लागि जनता गुहार माग्ने, सरकार नजाने तर पनि कांग्रेसलाई सामान्य नै लागेको रहेछ, कसरी ?

मेरो भनाइ यतिमात्र हो कि प्रधानमन्त्री हुँदामात्र काम हुने, बाँकीचाहिँ निकम्मा हुन् भन्ने कुरा हुन सक्दैन ।

  • कांग्रेसको मूल्याङ्कनमा समग्रमा सरकार कसरी चलिरहेको छ ? कस्तो काम गरिररहेको छ सरकारले ?

सरकारले पार्टीलाई केन्द्रविन्दुमा राखेर काम गर्न थाल्यो भने गडबड हुन्छ ।

  • त्यो कसले गरेको छ ? प्रधानमन्त्रीले ?

म अहिले यसले उसले भन्दिनँ । मेरो पार्टी, मेरो मान्छे, ब्यूरोक्रेशीमा कसलाई सेट गर्ने, नियुक्ति कसलाई गर्ने, यसमा मेरो माथि हात पर्छ कि पर्दैन भन्ने कुराले काम गर्न थालियो भने परिणाम राम्रो हुँदैन ।

  • प्रधानमन्त्री त्यो दिशातर्फ हुनुहुन्छ ?

प्रधानमन्त्री त्यतातर्फ हुनुहुन्छ भनेको होइन । मैले त्यतातर्फ सतर्क गराएको । कुन परिवेशमा यो गठबन्धन बनेको हो ? जनताको अपेक्षा के छ ?  देश र जनताबाहेक अब केही पनि छैन । हामी उदाहरण बन्न चाहन्छौँ । यो मानसिकताबाट काम गरियो भने ०८४ सम्म यो सरकारले निरन्तरता पाउँछ । होइन भने जनताबाट प्रश्न उठ्न थाल्छ । पार्टीभित्र पनि प्रश्न उठ्छ ।

  • अहिलेको सरकारले अहिलेसम्म गरेको तीन वटा राम्रा काम भन्न सक्नुहुन्छ ?

अहिले नै निस्कर्षमा पुग्ने बेला भएको छैन ।

  • शेरबहादुर देउवापछि पार्टीको सभापति को हुन्छ ?

पार्टीभित्रको जनमत जसले सिर्जना गर्छ, त्यसैले बोक्छ ।

461182785_1305421057105880_5953278403334195959_n

  • तपाईंहरुको गुटबाटचाहिँ को हुन्छ दाबेदार ?

हामी एक से एक साथीहरू छौँ ।

  • अहिलेको सभापतिले महामन्त्री गगन थापालाई नै सभापति बनाउने सम्भावना पनि छ भनिन्छ, हो त ?

उहाँ पनि इच्छुक हुनुहुन्छ भन्ने सुनेको छु ।

  • सभापतिले उहाँलाई बोक्ने सम्भावना छ ?

अहिले कसैले कसैलाई बोक्ने कुरै छैन ।

  • परिस्थिति हेर्दा त सभापति बन्न शेरबहादुर देउवाको आशीर्वाद अनिवार्य चाहिन्छ जस्तो देखिन्छ, होइन ?

एउटा के सत्य हो भने पहिलाजस्तो दुई समूह बनाएर भिडन्त गर्ने अवस्था छैन । जसले पार्टी पंक्तिभित्र म नेतृत्व गर्न सक्छु भन्ने प्रमाणित गराउँछ । त्यही हुन्छ । अहिले त्यो कसैले प्रमाणित गर्न सकेको अवस्था छैन ।

  • हुन त सभापतिको आशीर्वादले मात्र हुने भए त तपाईंले महामन्त्री जितिहाल्नुहुन्थ्यो नि, होइन ?

म उहाँसँग नजिक हुँला । तर शेरबहादुर देउवाको कारणले मात्र प्रकाशशरणको उपस्थिति भएको जसले ठान्छ, त्यसलाई विद्यार्थीकालदेखिको मेरो राजनीतिमा सक्रियता थाहा छैन । म सात कक्षा पढ्दादेखि जेल जान थालेको व्यक्ति हुँ । निर्वाचन उत्तम प्रक्रिया हो तर निर्वाचनले सधैँ राम्रै परिणाम दिन्छ भन्ने छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया