शनिबार, ०६ पुस २०८१
ताजा लोकप्रिय

‘भाइरल’ प्रा.डा. सुरेन्द्र केसीको नाममा चिठी

शुक्रबार, १८ असोज २०८१, १३ : ०६
शुक्रबार, १८ असोज २०८१

आदरणीय प्रा.डा. सुरेन्द्र केसीज्यू !

नेपाली समाजमा सामाजिक सञ्जाल विशेषतः युट्युबमार्फत सम्प्रेषित तपाईंका विचार, तपाईंले गर्नुभएको खबरदारी, सचेतता र अनुशिक्षण बन्दनीय छ । तपाईं हक्की हुनुहुन्छ । विषयलाई स्पष्ट रूपमा जनमानसमा बुझाइदिनुहुन्छ । नेतालाई र्‍याखर्‍याख्ती पार्नु हुन्छ । झट्ट सुन्दा र हेर्दा कुनै राजकीय पद र प्रतिष्ठाको लोभ नगर्ने निर्भीक र निडर व्यक्तिजस्तो पनि देखिनुहुन्छ । देशको हित गर्ने सर्वाेपरी चाहना गर्ने व्यक्तिजस्तो पनि सुनिनुहुन्छ । 

एउटा बौद्धिक व्यक्तिको धर्म यो हो नै । म पनि यहाँका कुरा सुन्नेमा पर्छु र आफूलाई घत लागेको विषय स्रोत उल्लेख गरेर आफ्नो लेखमार्फत प्रकट गर्ने गर्छु । ‘राइट म्यान राइट प्लेस’ र ‘रिवार्ड एन्ड पनिसमेन्ट’ भन्ने अवधारणा लागु नगरेका कारण नेपाली राजनीति बिग्रेको हो भन्ने तपाईंको निष्कर्षसँग मेरो पनि सहमति छ । मूल कुरो राजनीति नै धमिलो भएपछि अन्य क्षेत्र र स्थान निष्कलङ्क हुने कुरा नै भएन । तसर्थ अराजनीतिलाई तपाईंले गर्नुभएको प्रहारको घन बेजोड छ । तथापि आज तपाईंसँग मेरा केही गुनासा र विमतिका पोका छन । तपाईंप्रति केही प्रश्न पनि छन । 

डा. केसीमा एउटा औडाह र हडबडाहट छ, सत्ता र शक्तिको अतृप्त भोक छ । म जति पढे–लेखेको र ज्ञानी, शुद्ध र चर्चित मान्छे अर्काे छैन भन्ने मिठो विभ्रम पनि छ ।

हाम्रो देशमा राजनीति हुँदैन अराजनीति हुन्छ, त्यसैले राजनीति रसातलमा छ, अराजनीति जताततै व्याप्त छ । अराजनीति व्याप्त हुने ठाउँमा राजनीति सजिलो पक्कै छैन । त्यसैले हाम्रो राजनीतिलाई बौद्धिक र प्राज्ञिक खबरदारी, चेतावनी र निरन्तर प्रश्नको झटारो आवश्यक पर्छ । यो अर्थमा यहाँले गर्नुभएको निरन्तरको आक्रमण विशेष छ । यद्यपि तपाईंले गर्ने विश्लेषण, विवेचना, मूल्याङ्कन, तथ्य विश्लेषण र सत्यको खोज अरूको भन्दा पृथक्, विशेष र अँध्यारोको दीप हुनुपर्छ । बाटो बिराएकाका लागि मूल बाटोमा फर्कने दृष्टि हुनुपर्छ । तपाईंको अध्ययन विश्लेषण र मूल्याङ्कनको सामाजिक मूल्य हुनुपर्छ, जुन भइरहेको पाइन्न, जसमा तपाईंकै बोलीको असन्तुलन, अतृप्त व्यक्तिगत आकांक्षाको विम्ब र जो भेटे पनि डामी हाल्ने प्रवृत्तिले काम गरेको छ । एक केजी लड्डुमा एक पाउ गोबर मिसाइदियो भने बाँकी लड्डुको मूल्य गोबर बराबर नै भयो नि होइन र ? सत्य केलाएर र निफनेर के भन्ने के नभन्ने सोच्न सकिएन भने त्यसले दिने परिणाम भाइरल बनाउने र समाज विषाक्त बनाउनेबाहेक अरू नहुन सक्छ । 

डा. केसीज्यू !
सामाजिक सञ्जालमा भाइरल भएका र हुने समाजका अनेक क्षेत्रका मान्छे आफ्नो औकात र हैसियत अनुसार बोलिरहेका छन् । त्यसमा तपाईं डाक्टर प्रोफेसर, तपाईं बारम्बार म जतिको प्रोफेसर डाक्टर भनेर आफू विशेष र उल्लेख्य भएको भान दिनुहुन्छ । तपाईंजस्ता अरू पनि छन् । सुरेन्द्र केसी जल्दोबल्दो र प्रतिनिधि पात्र हुनुहुन्छ । अन्य प्रा.डा. र थुप्रै यस्ता तह र हैसियतका मान्छे छन्, जसले आफ्नो हैसियत भुलेर, प्राध्यापकीय मर्यादा घटेर, घटाएर पनि बोल्ने गरेको पाइन्छ । एउटा डाक्टर (विद्यावारिधि उपाधि प्राप्त) प्रोफेसरले ‘रे’, ‘अरे’जस्ता विषयलाई आफ्नो तर्कको आधार बनाउन मिल्छ ? र पिपलपाते भएर सदैव मिडियामा छाउने उद्देश्यले बोल्नु कति उपयुक्त हो ? अनि धेरै कुरा बोल्दा भए भरका कुरा र मान्छेबारे नकारात्मक टिप्पणी र अड्कल गर्दा केही कुरा मिल्ने संयोग प्राडाको भागमा मात्र पर्छ कि बाटोमा हात हेरेर बस्ने ज्योतिषले पनि मिलाउन सक्छ ? प्राडाको गरिमा र प्राधिकारको विषय तर्क र दाबीमा आधारित हुन्छ । कुनै पनि व्यक्ति, विषय र प्रसङ्गको मूल्याङ्कन गर्ने, विश्लेषण गर्ने, विवेचना गर्ने  निष्कर्ष निकाल्ने एउटा विश्वसनीय विधि वा तरिका हुन्छ, त्यसको एउटा उपयुक्त समय पनि हुन्छ । यस्ता विषयमा मैले तपाईंलाई सिकाउन मिल्दैन, हुँदैन र सक्दिनँ पनि । तर आदरणीय डाक्टर साब म केवल स्मरण गराउन सक्छु र त्यही गर्न यो आलेख तयार गरेको हुँ । 

समय, गति र दृष्टिकोणका अनेक आयाम हुन्छन् तर प्राडाहरू त्यति सस्तो हुनुहुँदैन जति डाक्टर सुरेन्द्र केसीहरू बन्नुभएको छ, जुन यो देशका लागि दुर्भाग्यपूर्ण छ । त्यस्ता अरूहरू पनि थुप्रै छन्, जो आफ्नो हैसियत भुलेर सस्तो प्रचारमा रमाउन चाहन्छन् । पहिलोपटक र सर्वसाधारणले सुन्दा केसीजी लगायत सार्वजनिक सञ्जालमा बोल्नेहरू घत लाग्ने गरी नै बोल्छन् र बोल्नुहुन्छ, आम मान्छेलाई हो जस्तै पनि लाग्छ तर एउटा प्रोफेसरको बोली गहिरो अध्ययन अनुसन्धानपश्चात् खारिएको, माझिएको र तथ्यलाई साक्षात्कार गराउने हुनुपर्ने हो, त्यस्तो हुँदैन । 

गाली गर्न, मुख छाड्न जसले पनि सक्छ र जान्दछ । समाजको प्रतिष्ठित व्यक्तिको बोलीले सम्प्रेषण गर्ने सन्देश मामुली र औसतभन्दा माथि हुनुपर्छ, तर तपाईंले त्यसो गर्न सकिरहनुभएको छैन । तपाईं नेपालको सन्दर्भमा औसत बुद्धिजीवी होइन । विश्वविद्यालयमा वर्षाैं पढाएको प्राध्यापक हो, औसत बुद्धिजीवीभन्दा पनि माथि हो । यद्यपि तपाईंको बोलीमा त्यही औसत प्रवृत्ति पाइन्छ, जुन असाध्यै दुःखलाग्दो विषय हो । 
तपाईं नेपालको चर्चित बौद्धिक व्यक्ति हुनुहन्छ । तपाईं प्रशस्त बोल्नुहुन्छ । आफ्नो क्षेत्र र विषयको बोली त प्राधिकार नै हुने भयो । समाजका अरू धेरै विषयमा पनि बोल्नुहुन्छ । आफ्नो विषय अध्ययनको क्षेत्र बाहेकको विषयमा पनि बोलिरहनुहुन्छ । जसले तपाईंको बोलीमा दम र इमान भेट्न मुस्किल पर्दै गएको छ । तपाईं रातारात दृष्टिकोण बदल्नुहुन्छ । बेलुकी कसैको प्रशंसा गर्दै गरेको व्यक्ति बिहान सोही व्यक्तिलाई आलोचना गर्दै गरेको भेटिनु हुन्छ ।

बौद्धिक र विज्ञको तागत र सामथ्र्य भाइरल दुनियाँको सिजनल भेलमा बग्नु र तुरुन्तै प्रतिक्रियात्मक बन्नु हुँदै होइन । बौद्धिक र प्राज्ञले समाजमा जे आएको छ, त्यो जस्ताको तस्तै सुनाउने कि फिल्टर गरेर सही विषयवस्तु मात्रै समाजलाई दिने हो ?

कुनै पनि विषय वा व्यक्तिको मूल्याङ्कन र विश्लेषण गर्न धैर्य गर्नुभएको पाइन्न । एउटा प्राज्ञिक व्यक्तिको आवाज भिडको जस्तै तरंगित र भिडको फैसलाजस्तै हुँदैन, बनाउनु हुँदैन, बरू भिडलाई आफ्नो कुरा सुनाउने हो भन्ने कुरा हेक्का राख्नुपर्ने हो । बुद्धिजीवी त्यो हो, जो भिडको अनावश्यक कुराको पछाडि लाग्दैन र ऊ एक्लै हुँदा पनि बहकिँदैन र भिड हुँदा पनि अहङ्कार गर्दैन । भिडलाई नियन्त्रण गर्ने दिग्दर्शन दिन्छ र भिडसँग लतारिएर भाइरल बन्न हिँड्दैन । तपाईं भिडले चाहेको बोल्न थाल्नुभएको छ । जुन औसत मान्छेको आदत र प्रवृत्ति हो, त्यसैले तपाईंलाई आफ्नो मर्यादा, नाम र ओज अनुसार सुहाएको छैन । 

तपाईंलाई ठुला मिडियाले स्थान नदिएको झोँक र इगो छ, तसर्थ मिडिया नामको जुनसुकै वस्तु जस्तोसुकै भए पनि, जसले माइक तेर्साए पनि प्रवचन दिन तयार हुनुहुन्छ । बोल्नका लागि तपाईंलाई जस्तो विषय र प्रसङ्ग भए पनि हुन्छ । कुन विषय बोल्न हुने हो, कुन होइन, त्यसमा हेक्का राखेको पटक्कै पाइन्न । तपाईंकै कथनमा तपाईं धेरै सुनिने मान्छे हुनुहुन्छ । त्यही सुनिने मान्छे बन्ने लोभमा तपाईंले आफ्नो हैसियत भुल्नुभएको भान मलाईजस्तै आममान्छेलाई भएको छ । कुनै एउटा व्यक्तिको साधारण बोली, आवेग, कमेन्ट, निचोडलाई तपाईं सामान्यीकरण गरेर सत्य हो, तथ्य हो भनिदिनुहुन्छ । तपाईं जत्तिको व्यक्तिले तलमाथि, वरपर, अघिपछि हेरेर प्रतिक्रिया दिनुपर्ने होइन र ? यसो रे, उसो रे— एउटा विद्यावारिधि प्राप्त व्यक्तिको बोल्ने आधार र तर्क यही हो ?

तपाईं धेरै सुनिने र हेरिने टिप्पणीकर्तामा पर्नुहुन्छ, यो असत्य र तपाईंको दाबी गलत छैन, किनकि सस्ता मान्छेलाई पनि धेरै मान्छेले सुन्न सक्छन्, चिन्न सक्छन् । अश्लील भनिएको सामग्री नै धेरै हेरिन्छ, सुनिन्छ । कुनै विषयमा बोल्नु बौद्धिकको धर्म र कर्तव्य हो, तर जे विषयमा पनि बोल्नु, जतासुकै बोल्नु, बौद्धिक विरासतको अवमूल्यन गर्नु हो । आफ्नो मर्यादाको क्षयीकरणमा रमाउनु हो । जुन तपाईं गरिरहनुभएको छ र आत्मरतिमा रमाइरहनुभएको छ । आहुतिले भनेझैँ राम्रो भनिएको मान्छेले नराम्रो कुरा राम्रो पारेर भनिदियो बोलिदियो भने त्यसले समाजमा पार्ने प्रभाव दीर्घकालीन हुन्छ । गलत कुराको असरको मूल्य चर्काे गरी समाजले तिर्नुपर्ने हुन्छ । 

बोल्दा बोल्दा सार्वजनिक खपतका लागि जे पनि र जति पनि बोल्नु तपाईंको सोख र आदत भएको छ । डाक्टर साबसँग आफ्नो विषय र क्षेत्रमा यथेष्ट ज्ञान छ, साथसाथै अन्य विषयमा अज्ञानता छ, गलत ज्ञान छ र सतही ज्ञान पनि उत्तिकै देखिन्छ । 

तपाईं पदले, अध्ययनले र प्राध्यापकीय कर्मले बौद्धिक अध्येता हो । राजनीतिक विश्लेषक हो । यस्तो मान्छेले ‘मैले यस्तो सुनेँ, मलाई मान्छेले यो पनि सुनाए, आज र अहिले सामाजिक सञ्जालमा यस्तो देखेँ’ भनेर आफ्नो तर्क राख्नु, त्यसलाई आधिकारिक मान्नु र समाजमा आएका उडन्ते कुरालाई आधार मानेर निष्कर्ष सुनाउँदै हिँड्नु कति उचित हो ? यस्ता कमसल विचार र टिप्पणीले तपाईंको प्राध्यापकीय कर्मको अवमूल्यन क्रमशः आफैँ गरिरहेको छ । 

प्रा.डा. आफैँमा प्राधिकार प्राप्त ब्रान्ड हो । डाक्टर सुरेन्द्रले त्यो ब्रान्ड कायम गर्न मुस्किल मानिरहनुभएको छ । एउटा बौद्धिक प्राध्यापक डाक्टर रिसर्चरले बजारमा आएका सतही आवाजलाई हतारमा आफ्नो आवाज दिने कि गम्भीर भएर, मूल्याङ्कन विश्लेषण गर्दै, विवेचना गरेर तार्किक र खँदिलो निचोड निकाल्ने हो ? चर्चा पाउनु र लोकप्रिय बन्नु, विश्वसनीय हुनु फरक कुरा हो । 

तारा बराल, शर्मिला वाइबा, मुकुन्द घिमिरे, पुण्य गौतम, दुर्गा प्रसाईं, रणबहादुर चन्द, युवराज पौडेल, डिल्लीराम खनाल, रविरत्न चुडाल, महेश बस्नेत, नरनाथ गौतम, आङकाजी शेर्पा, ऋषि धमला लगायत अनेकौँ पात्र बजारमा छन् र भाइरल छन् । तिनको पनि कुरा सुन्ने मान्छेहरू छन् । तिनका कुराले युटुबहरू चलेका छन् । तिनका कुरा रेडियोमा बजेका छन्, अन्य सञ्चार माध्यममा चलेका छन्, तर समाजले त्यसबाट के प्राप्त गर्‍यो ? 
समाज र देशले तपाईंहरूबाट सही दृष्टिकोण, दायित्वबोध, गहन अध्ययनबाट आएको निष्कर्ष, नैतिक तागत, निर्दिष्ट लक्ष्य, प्राथमिकताको निर्धारण, स्तरीय कूूटनीति, विश्वसनीयता, मूल्यबोध र संवेदनशील वाणीजस्ता विषयको अपेक्षा गरेको छ । बौद्धिक विलास, सस्तो मनोरञ्जन र हल्काफुल्का टिप्पणी गर्ने त यहाँ धेरै छन् । 

सस्तो मनोरञ्जन, जोकर शैली र भद्दा तरिकाले समाजलाई के दियो ? ज्ञान उत्पादन, वितरण र विस्तारमा कति सहयोग पुर्‍यायो ? समाजलाई मार्गनिर्देश गर्‍यो कि गतिछाडा, अभद्र, अशिष्ट र अराजक बनायो ? करिब दुई दशक प्राध्यापन गरेका, समाज बुझेका, देश–विदेश डुलेका र धेरै पढे–लेखेका डाक्टर सुरेन्द्र केसीलाई सस्तो मनोरञ्जनका लागि मात्रै बोल्न सुहाउँछ होला र ?

प्रा.डा. सुरेन्द्र केसीले वितरण गरेको ज्ञान खोज र विश्लेषणलाई आजकलका सुपथ र सतही टिप्पणीले फिका बनाउँदै लगेको छ । डा. केसीमा एउटा औडाह र हडबडाहट छ, सत्ता र शक्तिको अतृप्त भोक छ । म जति पढे–लेखेको र ज्ञानी, शुद्ध र चर्चित मान्छे अर्काे छैन भन्ने मिठो विभ्रम पनि छ । भ्रमको आनन्द र सुख दीर्घकालीन हुँदैन, डाक्टरसाब ? 

केसी सर स्याडिस्ट जस्तो देखिनुभएको छ, जो–अर्कालाई होँच्याउन पाउँदा, बजारका उडन्ते कुरामा विश्वास गरेर बौद्धिक लेपन लगाएर खुइल्याउन पाउँदा केसीजी दङ्गदास पर्नुहुन्छ । के यसो गर्दा कतैकाहीँ एक्लै बसेर सोच्दा हीनताबोध हुँदैन ? कृपया डा. सुरेन्द्र केसी सर, एकपटक आफैँलाई मूल्याङ्कन गर्नुहोला, आत्मसमीक्षा गर्नुहोला, पछाडि फर्केर हेर्नुहोला । आफ्नो विश्लेषण कति टिक्यो, कति बिक्यो, त्यसको हिसाब राख्नुहोला । देश बिग्रेको छ, नेताहरू बिग्रेका र बिकेका छन् । पार्टीहरू स्वच्छ, पारदर्शी र जवाफदेही बनेका छैनन्, यो कुरामा दुनियाँ जगजाहेर छ, तर त्यसो भन्दैमा बौद्धिक वर्ग, प्राज्ञिक क्षेत्र र बुद्धिजीवीहरू पनि दृष्टिविहीन र दृष्टिबन्धक बन्न मिल्छ र ? 

बौद्धिक र विज्ञको तागत र सामथ्र्य भाइरल दुनियाँको सिजनल भेलमा बग्नु र तुरुन्तै प्रतिक्रियात्मक बन्नु हुँदै होइन । बौद्धिक र प्राज्ञले समाजमा जे आएको छ, त्यो जस्ताको तस्तै सुनाउने कि फिल्टर गरेर सही विषयवस्तु मात्रै समाजलाई दिने हो ? आफ्नो लेभलबाट के दिने, के नदिने त्यो ‘स्क्रिनिङ’ गर्ने क्षमताको नाम र ल्याकत हो बौद्धिक र प्राज्ञिक ब्रान्ड । डाक्टरसाब भेलु बाजे होइन, त्रिभुवन विश्वविद्यालयको प्रोफेसर डाक्टर हो ।

प्राध्यापकहरूको सन्दर्भमा यसो भन्ने गरिएको पाइन्छ, ‘प्राध्यापकहरू देशका गरिमा र सान हुन् । ज्ञान, सोच र विद्वताका अपार स्रोत तथा सदाकाल प्रज्ज्वलित दीप हुन् । उनीहरूको विज्ञता र विद्वताको परिमिश्रणबाट समाजमा अग्रगमन तथा विकासका नयाँ चिन्तन प्रस्फुटन हुन्छन् । प्राध्यापकलाई अति सम्मानित व्यक्तित्वको रूपमा प्रस्तुत गरिएको छ । कुनै कुरामाथि बौद्घिक र तार्किक सत्यको अन्तिम बुझाइ निर्माणमा प्राध्यापकलाई आधार मानिन्छ । विशिष्ट श्रेणीको पद आफैँमा गौरवको विषय हो । यद्यपि प्राज्ञिक हिसाबले ज्ञान तथा अध्ययनको अपार सागर मानेर दिइने प्राध्यापक पदको महानताको शाब्दिक व्याख्या त्यति सहज छैन । कुनै काम विशेषको अनुभव मात्र नभई ज्ञानको विचरण तथा अध्ययनको क्षेत्रमा अनन्त दख्खल प्रमाणित गरेबापत प्राध्यापक बनिन्छ ।’ 

हामीकहाँ त्यो गरिमा र ओज धुलिसात हुने गरी प्राध्यापकहरू अशिष्ट, अधैर्य र असहिष्णु रूपमा प्रस्तुत भएका छन् । इटालेली चिन्तक आन्टिनियो ग्राम्सीले समाजका बौद्धिकहरू को हुन् भन्नेबारे चिन्तन गरेका थिए । उनका दृष्टिमा परम्परागत बुद्धिजीवी र जैविक बुद्धिजीवी गरी बुद्धिजीवीका दुई चरित्र हुन्छन् । सत्ताका लागि काम गर्ने बुद्धिजीवी, वैज्ञानिक, पुजारी, पादरी, लामा, मिडिया आदिले समाजका विभिन्न क्षेत्र र सत्तासँग पहुँच पुर्‍याएर परम्परागत सत्ताको लागि काम गर्छन् भने जैविक अर्थात् अर्गानिक बुद्धिजीवीहरूले सामाजिक र ऐतिहासिक रूपमा भिन्न विचारधाराको निर्माण गरेर समाजको प्रतिरोधी विचार धारलाई मलजल गर्न सहयोग गर्छन् । कतिपय अवस्थामा सत्ताविरुद्ध अगुवाइ समेत गर्छन् । परम्परागत बुद्धिजीवी भने सत्तामुखी हुन्छन् । 

दीनहीन, असहाय, नारी उत्पीडन, अल्पसंख्यकको हित, पीडित र दलितका लागि जीवन्त आवाज बोल्नुपर्ने, असल दृष्टि र मूल्यबोधमा काम गर्नुपर्नेमा जसले बुम तेस्र्याए पनि बोल्दै हिँड्नुपर्ने स्थिति आफ्नो गरिमाको भद्दा मजाकभन्दा केही पनि होइन । शीघ्र निष्कर्ष निकाल्ने र निष्कर्षमा अडान नराख्ने व्यक्तिको रूपमा डाक्टर साबको परिचय बन्दै गएको छ, यो दुःखलाग्दो विषय हो । डाक्टर साबले धेरैको नकाब उतारिदिनुभएको छ । यति हुँदाहुँदै पनि आफ्नो बौद्धिक स्तरको नकाब पनि बारम्बार एकै कुरा दोहोर्‍याएर उतार्नुभएको छ । विद्वान् व्यक्तिको बोलीले दिने सन्देशको महत्त्व धेरै हुन्छ । कति बोल्ने, कति नबोल्ने, तौलेर बोल्ने क्षमताका कारण नै विद्वान् कहलाएको हुन्छ । 

सामान्य मान्छेले गरेको प्रदूषण (बोली मार्फत) सामान्य नै हुन्छ, त्यसको मूल्य सामान्य नै रहन्छ, त्यसको असरले समाज हतपत बिथोलिने सम्भावना रहन्न, तर समाजमा सुनिने र देखिने मान्छेले गरेको प्रदूषणको मूल्य समाजले चर्काे तिर्नुपर्छ, समाज छिटो प्रदूषित हुन्छ । त्यसैले समाजमा अफवाह र तथ्यहीन सूचना तपाईं जतिको मान्छेले ‘रे’को भरमा सम्प्रेषण गर्नु वाञ्छनीय हुँदैन । डाक्टर साब त्यसो नगर्नुस् । कृपया आफ्नो गरिमा र ओजलाई ख्याल गर्नुस्, देशलाई दिने थुप्रै कुरा र समय अझै छ ।

देश नेताले मात्र बिगार्दैनन् । नेतालाई गालीगलोज गर्ने बुद्धिजीवी, तथाकथित पठितको भाष्य, निर्माण गरिदिने अपसंस्कृति र जथाभावी बोलेर भाइरल बन्ने प्रवृत्तिले पनि बिगारिदिन सक्छ । तपाईंमा सत्ता र शक्तिको अतृप्त भोक छ, त्यसैले तपाईं जहिल्यै विधि, पद्धति र नीतिको कुरा गर्ने क्रममा भन्नुहुन्छ, ‘म प्रधानमन्त्री भएँ भने डे वानमा नै म यसो गरिदिन्छु, म मन्त्री भएँ भने उसो गरिदिन्छु, म अख्तियार प्रमुख भएँ भने यसो गर्छु ।’ 

त्यसो गर्न कुनै विधि र नीति र संवैधानिक प्रक्रिया पूरा गर्नुपर्दैन ? के जंगेले बोलेपछि बोल्यो बोल्यो नै आजको दुनियाँको घोषणा हो डाक्टर साब ? विधि मिचे भनेर वकालत गर्नेले आफैँले विधि मिच्ने कुरा गर्नु कति सङ्गतिपूर्ण हो ? अरूको यति धेरै निन्दा गर्ने डाक्टर साब आफूलाई गरिएको कमेन्टमा कति धेरै असहिष्णु बनेर बोल्नुहुन्छ, त्यो बोली सुन्दा एउटा विद्यावारिधि गरेको मान्छेको बोली भन्न कसले सक्छ र ? 
जैविक बुद्धिजीवीहरू सबाल्टर्नहरूको पनि आवाज हुन् । आवाज विहीनका आवाज, सीमान्तकृत समुदाय, महिला, जनजाति, आदिवासी र दलितका भरपर्दा सारथी हुन् । इतिहास हराएकाहरूको इतिहासको उत्खनन गर्ने शक्ति र सामथ्र्य कसैसँग हुन्छ भने यिनै बौद्धिक जमातसँग हुन्छ । इतिहास मेटिएकाहरूको इतिहास खोज्ने काम बौद्धिकहरूले गर्दै आएका छन् । यति गौरवशाली कर्मबाट आफूलाई च्युत गरेर सस्तो नबन्नुहोला । त्रुटिमा क्षमायाचना गर्दै पत्रको बिट मारेँ । 

तपाईंसँग यो लेखकको कुनै लेनादेना, रिसराग, स्वार्थको द्वन्द्व, छिनाझपटी केही पनि छैन । यो लेखकको आलोचनात्मक विमर्श र निजी विचार हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जीव कार्की
सञ्जीव कार्की
लेखकबाट थप