शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

टी–२० महिला विश्वकप : वेस्ट इन्डिजलाई दक्षिण अफ्रिका र भारतलाई न्युजिल्यान्डको चुनौती

शुक्रबार, १८ असोज २०८१, १२ : ५२
शुक्रबार, १८ असोज २०८१

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी टी–२० महिला विश्वकप क्रिकेटको दोस्रो दिन शुक्रबार पनि दुई खेल खेलिने भएको छ । शुक्रबारको पहिलो खेल दक्षिण अफ्रिका र वेस्ट इन्डिजबिच खेलिने छ । उक्त खेल नेपाल समय अनुसार, दिउँसो १५ः४५ बजे सुरु हुनेछ ।

दोस्रो खेल भारत र न्युजिल्यान्डबिच खेलिने छ । उक्त खेल नेपाली समय अनुसार, राति १९ः ४५ बजे सुरु हुनेछ । वेस्ट इन्डिज र दक्षिण अफ्रिका प्रतियोगिताको समूह ‘बी’ मा रहेका छन् । उक्त समूहमा बंगलादेश, इङ्ल्यान्ड र स्कटल्यान्ड पनि रहेका छन् ।

समूह ‘बी’ अन्तर्गत खेल्न लागिएको यो दोस्रो खेल हो । यसअघि बिहीबार खेलिएको खेलमा बंगलादेशले स्कटल्यान्डलाई १६ रनले हराएको थियो । टी–२० महिला विश्वकपमा स्कटल्यान्डको यो पहिलो सहभागिता हो ।

भारत र न्युजिल्यान्ड प्रतियोगिताको समूह ‘ए’ मा रहेका छन् । उक्त समूहमा अस्ट्रेलिया, पाकिस्तान र श्रीलंका पनि रहेका छन् । समूह ‘ए’ अन्तर्गत खेल्न लागिएको यो दोस्रो खेल हो । यसअघि पहिलो दिन बिहीबार खेलिएको खेलमा पाकिस्तानले श्रीलंकालाई ३१ रनले हराएको थियो । महिला टी–२० विश्वकपको यो नवौँ संस्करण हो । प्रतियोगिता अक्टोबर २० तारिखसम्म सञ्चालन हुनेछ ।

समूहगत चरणको खेल अक्टोबर १५ तारिखसम्म चल्नेछ । त्यसपछि दुबै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको पहिलो सेमिफाइनल अक्टोबर १७ र दोस्रो सेमिफाइनल खेल अक्टोबर १८ तारिखमा खेलिने छ ।

सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग र समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनलमा विजयी दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । त्यसपछि अक्टोबर २० तारिखमा फाइनल खेल खेलिने छ ।

आईसीसी महिला टी–२० विश्वकपमा अस्ट्रेलियाले एकछत्र राज गर्दै आएको छ । अस्ट्रेलियाले हालसम्म ६ पटक टी–२० महिला विश्वकपको उपाधि उचालिसकेको छ । अस्ट्रेलिया महिला विश्वकपको साविक विजेता पनि हो ।

यसका अतिरिक्त इङ्ल्यान्ड र वेस्ट इन्डिजले पनि एक–एकपटक टी–२० महिला विश्वकपको उपाधि जितेका छन् । इङ्ल्यान्डले सन् २००९ मा आफ्नै भूमिमा आयोजित पहिलो संस्करणको फाइनलमा न्युजिल्यान्डलाई ६ विकेटले हराउँदै उपाधि चुमेको थियो ।

वेस्ट इन्डिजले भने सन् २०१६ मा भारतमा आयोजित पाँचौँ संस्करणको उपाधि चुमेको थियो । त्यो विश्वकपको फाइनलमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई आठ विकेटले हराउँदै पहिलो पटक उपाधिमाथि कब्जा जमाएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप