एसिया रग्बी सेभेन्स : महिलातर्फ पनि नेपाली टोली फिलिपिन्ससँग पराजित
काठमाडौँ । एसिया रग्बी इमिरेट्स सेभेन्स ट्रफी–२०२४ को आफ्नो पहिलो खेलमा नेपाली महिला टोली पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शुक्रबार खेलिएको महिलातर्फको खेलमा फिलिपिन्सले नेपाललाई ३२–० को स्कोरमा हराएको हो ।
यसअघि शुक्रबार नै नेपालको पुरुष टोली पनि आफ्नो पहिलो खेलमा उज्वेकिस्तानसँग २४–० ले पराजित भएको थियो । प्रतियोगिता एसिया रग्बीको आयोजना र नेपाल रग्बी संघको व्यवस्थापनमा सञ्चालन भएको हो । प्रतियोगितामा १६ राष्ट्रका २१ टोलीको सहभागिता रहेको छ । उक्त प्रतियोगितामा पुरूषतर्फ १४ र महिलातर्फ सात टोलीले भाग लिएका छन् । आन्तरिक कारण इरानले अन्तिम समयमा प्रतियोगिताबाट नाम फिर्ता लिएको थियो ।
पुरुषतर्फ सहभागी टोलीलाई चार समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेलाइँदै छ । नेपाल प्रतियोगिताको समूह ‘बी’ मा रहेको छ । उक्त समूहमा बहराइन र उज्वेकिस्तान पनि छन् । समूह ‘ए’ मा फिलिपिन्स, पाकिस्तान र जोर्डन छन् । समूह ‘सी’ मा कजाकिस्तान, कतार, साउदी अरबिया र श्रीलंका तथा समूह ‘डी’ मा अफगानिस्तान, भारत, बंगलादेश र चाइनिज ताइपेई छन् ।
यसैगरी, महिलातर्फ सात राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ । महिलातर्फ समूह ‘ए’ मा नेपालसहित फिलिपिन्स, गुआम र उज्वेकिस्तान रहेका छन् । समुह ‘बी’ मा भने भारत, इन्डोनेसिया र श्रीलंका परेका छन् । प्रतियोगिताको च्याम्पियन महिला तथा पुरुष टोलीले एसिया रग्बीको ट्रफीसहित स्वर्ण पदक, दोस्रो हुनेले रजत र तेस्रो हुने टोलीले कांस्य पदक प्राप्त गर्नेछन् । नेपालबाट महिलातर्फ सिर्जना राई र पुरुषतर्फ विक्रम पुरीले कप्तानको भूमिका निर्वाह गरेका छन् ।
यो प्रतियोगिता सन् २०२५ मा आयोजना हुने एसिया रग्बी सेभेन्स सिरिजको छनोटका रूपमा समेत रहेको छ । प्रतियोगिताको विजेताले सन् २०२५ मा आयोजना हुने एसिया रग्बी सेभेन्स सिरिजमा स्थान बनाउने छन् । आयोजकका अनुसार, प्रतियोगिताको पहिलो दिन ३० खेल हुनेछन् । सिनियर स्तरको एसियाली रग्बी नेपालमा पहिलो पटक आयोजना भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डियन प्रिमियर लिगको मेगा अक्सन आजदेखि
-
सबैको पहुँचमा गुणस्तरीय खानेपानी सेवा पुर्याउनु सरकारको प्रमुख दायित्व : मन्त्री यादव
-
मेस्सीकै पूर्वसहकर्मी मास्चेरानो इन्टर मियामीको नयाँ प्रमुख प्रशिक्षक !
-
हिरासतबाट दुर्गा प्रसाईंले लेखे समर्थकलाई पत्र
-
गरिब देशका लागि ३ खर्ब डलर छुट्ट्याउने निर्णयसहित सकियो कोप-२९
-
पोखरा–मुग्लिन सडक निर्माण कछुवा गतिमा