शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय
पूर्वाधार विकास समिति बैठक

बीपी राजमार्गबाहेक सम्पूर्ण राजमार्ग तीन दिनभित्र पूर्णरुपमा सञ्चालन हुने

शुक्रबार, १८ असोज २०८१, १२ : ४३
शुक्रबार, १८ असोज २०८१

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी तीन दिनभित्र बीपी राजमार्ग बाहेक देशका सम्पूर्ण राजमार्ग सञ्चालनमा ल्याउने बताएको छ। शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्रालयका सचिव केशवकुमार शर्माले गत असोज ११ र १२ गतेको भीषण वर्षाबाट बाढी पहिरोले क्षतिग्रस्त बनाएका राजमार्गहरू सञ्चालनमा ल्याउने तयारी गरिएको जानकारी दिए। 

बीपी राजमार्ग सञ्चालन गर्न भने समय लाग्ने उनले बताए। सो राजमार्गको १२ किलोमिटर सडक बगेकाले अस्थायी सडक बनाएर सञ्चालन गर्न पनि कठिनाइ रहेको सांसदहरुलाई जानकारी गराए । सचिव शर्माले बाढी पहिरोबाट ८० राजमार्गमध्ये २४ वटा राजमार्गमा ८०५ स्थानमा पहिरो गएको र ७७४ स्थानको पहिरो हटाइएको जानकारी गराए ।

अझै पाँचवटा राजमार्गका २१ स्थानमा पहिरोले अवरुद्ध भएकोले पहिरो पन्छाएर सञ्चालन गर्न प्रयास गरिरहेको उल्लेख गरे। उनले बीपी राजमार्गमा झन्डै ५ सयवटा गाडी र ती गाडीमा रहेका झन्डै १ हजार चालक तथा सहचालक फसेकाले उनीहरूको उद्धार कार्य उद्धार प्रयास भइरहेको पनि जानकारी दिए। 

बीपी राजमार्गबाट सुनकोशी पारी लगेर मध्य पहाडी राजमार्ग हुँदै काठमाडौँ ल्याउन सकिन्छ कि भनेर मन्त्रालयले प्रयास गरिरहेको उल्लेख गरे । उनले भोलिदेखि कान्तिराजपथ सञ्चालनमा आउन सक्ने बताएका छन् । कान्ति राजपथ अन्तर्गत छपेलीदेखि बगुवासम्म बाटो खुला रहेको र बागमती नदीको १५ मिटरको भाग कटान भएकोले नेपाली सेना र सडक विभागका कर्मचारीले सडक मर्मतको काम गरिरहेको जानकारी दिए ।

 यस्तै अरनिको राजमार्ग पनि तीन दिनभित्र सञ्चालनमा ल्याउनको लागि मन्त्रालय लागिपरेको बताए। लिपिङ खोलासम्म बाटो खुला रहेको लिपिङको पुल भत्केकोले डाइभर्सन गर्न समस्या रहेको र बेली ब्रिज बनाएर सीमासम्म ३ दिनभित्र बाटो खुला गर्नका लागि मन्त्रालय लागि परेको संसदीय समितिमा जानकारी गराए । 

फूलपातीपछि मजदुर तथा डोजर चालकले काम गर्न नमान्ने हुँदा छिटो काम गराउन समस्या रहेको र त्यस अगाडि जति काम गर्न सकिन्छ मन्त्रालय लागि परेको उनले बताए । सचिव शर्माले बाढी पहिरोका कारण राजमार्गका आठवटा पुल बगाएको बागमती लिपिङ खुर्कोट पुल लगायतका विभिन्न ठाउँमा पुल बगाएकोले सम्भव भएको ठाउँमा बेली ब्रिज लगाएर सडक सुचारु गर्न लागि परेको उल्लेख गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप