शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय
एभरेस्ट महिला भलिबल लिग

लिग चरणको अन्तिम खेल आज, टोलीहरू ‘गर या मर’ को स्थितिमा

शुक्रबार, १८ असोज २०८१, १० : ५३
शुक्रबार, १८ असोज २०८१

काठमाडौँ । नेपालमा पहिलो पटक आयोजना भएको ‘वात्सल्य एभरेस्ट महिला भलिबल लिग’ मा शुक्रबार सहभागी ६ वटै टोलीले लिग चरणको आफ्नो अन्तिम खेल खेल्दैछन् । यो खेलपछि अंक तालिकाको सबैभन्दा माथि रहने दुईवटा टोली प्रतियोगिताको फाइनलमा पुग्नेछन् ।

हालसम्म ६ वटै टोलीले चार–चार खेल खेलिसकेका छन् । कर्णाली यश्विज चारवटै खेल जित्दै १० अंकसहित तालिकाको पहिलो स्थानमा आसीन छ । कर्णाली यश्विज आफूले खेलेको चारवटै खेल जित्ने एकमात्र टोली पनि हो ।

यसैगरी, चारमध्ये तीन खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको काठमाडौँ स्पाइकर्स नौ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । तेस्रो स्थानमा आसीन चितवन शक्तिले चारमध्ये दुई खेलमा जित र दुई खेलमा हारको नतिजाबाट सात अंक जोडेको छ ।

यसैगरी, ललितपुर क्विन्स चारमध्ये दुई खेलमा जित र दुई खेलमा हारको नतिजाबाट सात अंक बटुल्दै तालिकाको चौथो स्थानमा छ । पाँचौँ स्थानमा आसीन गण्डकी थन्डर्सले चारमध्ये एक खेलमा जित र तीन खेलमा हारबाट तीन अंक जोडेको छ । मधेश युनाइटेड भने चारवटै खेलमा पराजित भएको छ ।

समूहगत चरणको अन्तिम खेलमा शुक्रबार ललितपुर क्विन्सले बलियो प्रतिद्वन्द्वी चितवन शक्तिको सामना गर्नेछ । उक्त खेल दिउँसो १५ः४५ बजे सुरु हुनेछ । चितवन शक्तिले आफ्नो पहिलो खेलमा  गण्डकी थन्डर्सलाई २५–२२, १९–२५, २५–२३, २५–१८ अंकले हराएको थियो ।

चितवन शक्ति आफ्नो दोस्रो खेलमा काठमाडौँ स्पाइकर्ससँग पराजित भएको थियो । उक्त खेलमा काठमाडौँ स्पाइकर्स २१–२५, २५–१०, २५–२२, २५–१७ अंकले विजयी भएको थियो । चितवन शक्तिले तेस्रो खेलमा मधेश युनाइटेडलाई २५–२०, २५–१९, १९–२५, २५–२१ अंकले हराएको थियो ।

चितवन शक्ति आफ्नो चौथो खेलमा भने कर्णाली यश्विजसँग पराजित भएको थियो । उक्त खेलमा कर्णाली यश्विज २०–२५, २५–१८, २१–२५, २५–१५, १५–१३ अंकले विजयी भएको थियो । लिग चरणको अन्तिम खेलमा चितवन र ललितपुर दुबैसँग जितको विकल्प देखिँदैन ।

यसैगरी, ललितपुर क्विन्सले आफ्नो पहिलो खेलमा काठमाडौँ स्पाइकर्सलाई २५–२०,  २१–२५, २५–२१, २५–१९ अंकले हराएको थियो । ललितपुर क्विन्सले आफ्नो दोस्रो खेलमा मधेश युनाइटेडलाई २५–१५, २६–२४, २४–२६, २५–२३ अंकले हराएको थियो ।

ललितपुर क्विन्स आफ्नो तेस्रो खेलमा कर्णाली यश्विजसँग पराजित भएको थियो । उक्त खेलमा कर्णाली यश्विज २५–२२, २५–२२, २९–२७ अंकले विजयी भएको थियो । आफ्नो चौथो खेलमा ललितपुर क्विन्स गण्डकी थन्डर्ससँग हारेको थियो । त्यो खेलमा गण्डकी थन्डर्स २७–२९, २५–२३, २५–१२, १३–२५, १५–०६ अंकले विजयी भएको थियो ।

शुक्रबारको दोस्रो खेल मधेश युनाइटेड र गण्डकी थन्डर्सबिच खेलिने छ । उक्त खेल साँझ १७ः४५ बजे सुरु हुनेछ । जारी प्रतियोगितामा मधेश युनाइटेडभन्दा गण्डकी थन्डर्स बलियो देखिएको छ । मधेश प्रदेश आफूले खेलेको चारवटै खेलमा पराजित भएको छ ।

गण्डकी थन्डर्स आफ्नो पहिलो खेलमा चितवन शक्तिसँग, दोस्रो खेलमा कर्णाली यश्विजसँग र तेस्रो खेलमा काठमाडौँ स्पाइकर्ससँग पराजित भएको थियो । आफ्नो चौथो खेलमा भने गण्डकी थन्डर्सले ललितपुर क्विन्सलाई २७–२९, २५–२३, २५–१२, १३–२५, १५–०६ अंकले हराएको थियो ।

शुक्रबारको तेस्रो खेल काठमाडौँ स्पाइकर्सले बलियो प्रतिद्वन्द्वी कर्णाली यश्विजको सामना गर्नेछ । उक्त खेल राति १९ः४५ बजे सुरु हुनेछ । कर्णाली यश्विजले आफ्नो पहिलो खेलमा मधेश युनाइटेडलाई २५–१५, २५–२०, २६–२८, २५–११ अंकले हराएको थियो ।

आफ्नो दोस्रो खेलमा कर्णाली यश्विजले गण्डकी थन्डर्सलाई १५–२५, २५–२२, २५–१७, १९–२५, १५–१२ अंकले पराजित गरेको थियो । कर्णाली यश्विजले तेस्रो खेलमा ललितपुर क्विन्सलाई २५–२२, २५–२२, २९–२७ अंकले र चौथो खेलमा चितवन शक्तिलाई २०–२५, २५–१८, २१–२५, २५–१५, १५–१३ अंकले पराजित गरेको थियो ।

काठमाडौँ स्पाइकर्स भने आफ्नो पहिलो खेलमा छिमेकी प्रतिद्वन्द्वी ललिपतुर क्विन्ससँग पराजित भएको थियो । काठमाडौँ स्पाइकर्सले दोस्रो खेलमा चितवन शक्तिलाई २१–२५, २५–१०, २५–२२, २५–१७ अंकले, तेस्रो खेलमा गण्डकी थन्डर्सलाई २५–२३, १९–२५, २५–२१, २५–१६ अंकले र चौथो खेलमा मधेश युनाइटेडलाई १५–२५, २५–२३, २५–१५, २५–१८ अंकले हराएको थियो ।  

वात्सल्य एभरेस्ट महिला भलिबल लिगका खेलहरु त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा सञ्चालन भइरहेको छ । महिला भलिबल लिगको पहिलो संस्करणमा ६ वटा टोलीको सहभागिता रहेको छ ।

सहभागी ६ वटै टोलीले राउन्ड रोविन लिगका आधारमा एक–आपसमा प्रतिस्पर्धा गरेपछि शीर्ष दुई टोली प्रतियोगिताको फाइनलमा प्रवेश गर्ने प्रावधान छ । प्रतियोगिताको फाइनल खेल असोज १९ गते खेलिने छ । फाइनल खेल साँझ ५ः३० बजे सुरु हुनेछ ।  

प्रतियोगिता इन्फिनिटी ड्रिम्स प्रालिले आयोजना गरेको हो । इन्फिनिटी ड्रिम्सले प्रतियोगिताका लागि नेपाल भलिबल संघसँग सात वर्षका लागि यसअघि नै सम्झौता गरिसकेको छ । लिग आयोजना गरेवापत इन्फिनिटीले संघलाई प्रत्येक वर्ष २५ लाख रुपैयाँ उपलब्ध गराउने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप