शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

नेपालमा छैटौँ एसियाली जनसङ्ख्या सम्मेलन हुँदै, ५० देशका ८ सय  प्रतिनिधि सहभागी हुने

शुक्रबार, १८ असोज २०८१, १० : ३७
शुक्रबार, १८ असोज २०८१

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय जनसङ्ख्या अध्ययन केन्द्रीय विभागको आयोजनामा आउँदो मङ्सिर १२ देखि १५ गतेसम्म एसियन जनसाङ्ख्यिक सम्मेलन हुने भएको छ । 

सो कार्यक्रममा संसारभरिका करिब ५० भन्दा बढी देशका ८ सय प्रतिनिधि सहभागी हुने विभागका प्रमुख प्राडा योगेन्द्र बहादुर गुरुङले जानकारी दिए । शुक्रबार पत्रकार सम्मेलनमा बोल्दै उनले यो सम्मेलन नेपालमा आयोजना गर्न पाउनु गौरवको विषय रहेको बताउँदै  सम्मेलनमा एसियाका विभिन्न देशका जनसङ्ख्या विज्ञहरूले १७ वटा थिममा आधारित भएर करिब ४ सय  भन्दा बढी कार्यपत्रहरू प्रस्तुत गर्ने तयारी रहेको जानकारी दिए । 

विश्वको जनसाङ्ख्यिक  परिदृश्य, जनसाङ्ख्यिक प्रवृत्ति यसको राजनीतिक, सामाजिक, आर्थिक प्रभाव, विकसित र विकासोन्मुख देशका जनसङ्ख्याका अवसर र चुनौतीहरू आदिमा केन्द्रित रहेर कार्यपत्रहरू प्रस्तुत गर्ने तयारी रहेको छ ।  सम्मेलनमा ‘नेपाल स्पेसल सेसन’ पनि सञ्चालन हुने जानकारी दिए । 

जनसङ्ख्या संरचनामा भइरहेको स्थानान्तरणले विश्वसँगै नेपालले पनि विकास र सामाजिक सेवाका क्षेत्रमा लिइरहेका नीतिका बारेमा पुनर्विचार गर्न सरकारलाई पर्याप्त पृष्ठपोषण प्रदान गर्ने हाम्रो विश्वास रहेको प्राडा गुरुङले बताए । 

चार दिनसम्म सञ्चालन हुने सम्मेलनमा करिब ५ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सम्मेलनमा सहभागी हुने हरेक व्यक्तिले दर्ता शुल्क अनिवार्य रुपमा तिर्नुपर्ने, दर्ता शुल्क ७ हजार, १० हजार र १३ हजार कायम गरिएको छ । 

कार्यक्रमका लागि हालसम्म दक्षिण एशिया बाहेकका देशबाट १ सय जना, दक्षिण एशियाबाट १७० जना र नेपालबाट १ सय जना सहभागीहरुले नाम दर्ता गराएको विभागका सह प्राध्यापक एवं सम्मेलनमा सदस्य सचिव पद्म प्रसाद खतिवडाले जानकारी दिए । 

सम्मेलनमा एसियामा भविष्यमा जनसङ्ख्या गतिशिलताका चुनौतीहरु, प्रजनन क्षमता, प्रजनन स्वास्थ्य र प्रजनन अधिकार, जनसङ्ख्या र अर्थव्यवस्था जनसांख्यिकी लाभांश र श्रम बजार, जनसांख्यिकीय विश्लेषणको लागि डिजिटल प्रविधि लगायतका विभिन्न थिममा कार्यपत्र प्रस्तुत गरिने भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप