शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय टोलीमा स्थान पाएनन् केलियन एमबाप्पेले

शुक्रबार, १८ असोज २०८१, १० : २४
शुक्रबार, १८ असोज २०८१

काठमाडौँ । निकट भविष्यमा खेलिने यूईएफए नेशन्स लिग फुटबलका लागि प्रभावशाली स्ट्राइकर केलियन एमबाप्पेले फ्रान्सेली टोलीमा स्थान पाउन सकेनन् । नेशन्स लिगको आगामी खेलका लागि एमबाप्पे बिनाको टोली घोषणा गरिएको छ ।

२५ वर्षीय स्ट्राइकर एमबाप्पे स्वास्थ्य भएर मैदानमा फर्किए पनि उनलाई राष्ट्रिय टोलीमा स्थान नदिइएको हो । केही समयअघि घाइते भएका एमबाप्पे गत साता पूर्ण रूपमा स्वास्थ्य भएर मैदानमा फर्किएका थिए ।

उनी स्पेनिस ला लिगा क्लब रियल म्याड्रिडबाट व्यावसायिक फुटबल खेल्छन् । तिघ्राको समस्याका कारण उनले गत आइतबार खेलिएको एटलेटिको म्याड्रिडविरुद्धको खेल गुमाएका थिए । त्यो खेलमा रियल म्याड्रिड एटलेटिकोसँग १–१ गोलको बराबरीमा रोकिएको थियो ।

तर, बुधबार राति खेलिएको रियल म्याड्रिड र लिलेबिचको च्याम्पियन्स लिग खेलमा भने उनी मैदानमा ओर्लिएका थिए । फ्रन्सले नेशन्स लिगमा इजरायल र बेल्जियमको सामना गर्दै छ । यसै वर्ष रियल म्याड्रिडमा आबद्ध भएका उनले क्लबका लागि १० खेलमा सात गोल गरिसकेका छन् ।

फ्रान्सेली टोलीका प्रशिक्षक डिडियर डेसच्याम्पसले यी दुवै खेलका लागि एमबाप्पेलाई टोलीमा स्थान दिएनन् । यसपटक फ्रान्सेको राष्ट्रिय टोलीमा प्रभावशाली खेलाडी एन्टोइन ग्रिजम्यानलाई पनि देख्न पाइने छैन । उनले गत सोमबार नै अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यास लिइसकेका छन् ।

‘मैले यस विषयमा एमबाप्पेसँग पनि छलफल गरेको थिएँ । उनी अझै पूर्ण रूपमा स्वास्थ्य भइसकेका छैनन् । यस्तो अवस्थामा मैले कुनै जोखिम मोल्न चाहिन । चोट बल्झियो भने त्यसले एमबाप्पेको खेल जीवनलाई नै सङ्कटमा पार्न सक्छ,’ प्रशिक्षक डेसच्याम्पसले भनेका छन् ।

नेशन्स लिगको समूहगत चरणमा दुई खेल खेलेको फ्रान्स तीन अंकसहित तालिकाको दोस्रो स्थानमा आसिन छ । फ्रान्सले एक जित र एक हारको नतिजा निकालेको छ । उक्त समूहमा दुवै खेल जितेको इटाली ६ अंकसहित पहिलो स्थानमा छ । दुई खेलबाट तीन अंक जोडेको बेल्जियम तेस्रो र दुवै खेलमा पराजित भएको इजरायल चौथो स्थानमा छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप