शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय
गोलार्द्ध

इरान–इजरायल द्वन्द्वको कथा

शुक्रबार, १८ असोज २०८१, ११ : ००
शुक्रबार, १८ असोज २०८१

मंगलबार राति अर्थात् १ अक्टोबरका दिन सामाजिक सञ्जाल एक्समा एउटा भिडियो निकै रिट्विट भयो । भिडियोमा इजरायली प्रधामन्त्री बेन्जामिन नेतन्याहु एउटा साँघुरो प्यासेजमा हतार–हतार दौडिरहेका छन् र उनलाई पछाडिबाट क्यामराले पच्छ्याइरहेका छन् । 

हिजोसम्म त्यस्ता भिडियोमा इजरायली बमबारीबाट जोगिन प्यालेस्टाइन र लेबनानका केटाकेटी, बुढाबुढी, गर्भवती वा घाइते दौडिरहेका हुन्थे । तर, फेरिएको परिस्थितिबिच इजरायली प्रधामन्त्री बेन्जामिन नेतन्याहु इरानी ‘ब्यालेस्टिक मिसाइल’बाट जोगिनका लागि बंकरतर्फ भागिरहेका थिए । 

युद्धको दोस्रो अध्यायमा परिस्थिति ठ्याक्कै उल्टो थियो । इरानले इजरायलमा हमला गरेसँगै प्यालेस्टाइन, लेबनान, यमन र इरानमा खुसियालीमा जुलुस निकालिएको थियो भने इजरायलको मुटु मानिएको तेल अभिभमा भागाभाग थियो । 

युद्धको पहिलो अध्यायमा इजरायली बमबारीसँगै इजरायलीहरू बियर पिउँदै नाचेर बमबारीको खुसियाली मनाउँथे र प्यालेस्टिनी तथा लेबनानीहरू ज्यान जोगाउन भागाभाग गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा प्रसारित हुन्थे ।

१ अक्टोबरमा इरानले इजरायलसँग युद्धको घोषणा गरेको तथा भारी बमबारी गरेको यो दोस्रो परिघटना हो । युद्धको घोषणासँगै उसले इजरायलको जेरुसेलम, तेल अभिभ लगायत क्षेत्रमा रहेका सैन्य अखडालाई पहिलो निसाना बनाएको छ । इरानले दुई सयभन्दा धेरै ब्यालेस्टिक क्षेप्यास्त्र इजरायलमा प्रहार गरेको छ ।

हालसम्म इजरायलको रक्षा कवचका रूपमा हेरिएको ‘आइरन डोम’ले समेत प्रतिक्रिया जनाउनुअगावै इरानी क्षेप्यास्त्र इजरायली भूमिमा पड्कन पुगे । इरानको यो हमलासँगै इजरायल–प्यालेस्टाइन–इरान युद्धले नयाँ मोड लिएको छ । र, विभिन्न शान्ति वार्तालाई लत्याउँदै आएको इजरायलको अबको रणनीति के हुने हो भन्ने अन्योलपूर्ण हुन पुगेको छ । 

इरानको हमलापछि छोटो प्रक्रिया दिँदै इजरायली प्रधानमन्त्री नेतन्याहुले ‘उपयुक्त समयमा बदला लिइने’ अभिव्यक्ति दिएका छन् । उता इरानका प्रमुख अखबारले आफ्नो मुखपृष्ठमा ठुलो अक्षरमा ‘हामी तयार छौँ’ भनी छापेका छन् । 

युद्धको कालो बादल फिँजारिएसँगै अन्तर्राष्ट्रिय बजारमा खनिज तेल लगायत इन्धनको मूल्य बढ्ने प्रारम्भिक संकेत देखिन थालेका छन् । आपूर्ति चक्रमा देखापर्ने अवरोधसँगै विश्वभर महँगी बढ्ने अनुमान हुन थालेको छ । युद्ध कति सघन हुन्छ भन्नेले भावी दिनहरू कति अँध्यारा हुनेछन् भन्ने तय हुनेछ । 

  • इरानको हमला किन ?

इरान–इजरालको दुस्मनीको कथा बुझ्न इतिहासको धेरै लामो लहरो तान्नुपर्ने हुन्छ । पश्चिम एसियाको राजनीतिका जरा विगत र वर्तमानका घटना क्रममा व्यापक फैलिएका छन् । पछिल्लो युद्धको कारण पहिल्याउन हामीले निकट विगतका घटनातर्फ सरसर्ती हेरे पुग्छ । 

७ अक्टोबर २०२२ मा प्यालेस्टिनी समूह हमासले झन्डै १२ सय इजरायलीको मृत्यु हुने गरी हमला गरेसँगै इजरायलले प्यालेस्टाइन विरुद्ध युद्धको घोषणा गर्‍यो । हमासले इजरायल विरुद्धको आफ्नो हमलालाई ‘इजरायली अतिक्रमण विरुद्ध गरिएको प्रतिरोध कारबाही’ बताउँदै आएको छ । हमासले गरेको प्रतिरोधका जराहरू धेरै गहिरा छन् । त्यसैले हामी त्यसतर्फ जाँदैनौँ । 

युद्धको दोस्रो अध्यायमा परिस्थिति ठ्याक्कै उल्टो थियो । इरानले इजरायलमा हमला गरेसँगै प्यालेस्टाइन, लेबनान, यमन र इरानमा खुसियालीमा जुलुस निकालिएको थियो भने इजरायलको मुटु मानिएको तेल अभिभमा भागाभाग थियो ।

७ अक्टोबरको हमासको आक्रमणले इजरायललाई प्यालेस्टाइन विरुद्ध हमला गर्ने अन्तर्राष्ट्रिय लाइसेन्स प्रदान गरिदियो । हवाई र स्थल दुवै क्षेत्रबाट सञ्चालन गरिएको युद्धले विश्वका सबै युद्धका मानकलाई भत्काइदियो । र, यसले पश्चिम एसियाको तरल राजनीतिमा ज्वारभाटा नै ल्याइदियो । 

आजका दिनसम्म इजरायली आक्रमणमा परी ४५ हजारभन्दा धेरै प्यालेस्टीनीको हत्या भइसकेको छ भने एक लाखभन्दा धेरै गम्भीर घाइते छन् । हत्या गरिने र घाइते हुनेमा अधिकांश बालबालिका र वृद्धवृद्धा छन् । ‘मध्यपूर्वमा कायापलट गर्ने’ घोषणासहित सञ्चालन गरिएको इजरायली युद्धलाई अमेरिका, फ्रान्स, बेलायतसहित पश्चिमा मुलुकको समर्थन प्राप्त छ भने पश्चिम एसियाका मुस्लिम बहुल मुलुकहरू यस युद्धलाई मुसलमान समुदायविरुद्ध गरिएको युद्धका रूपमा हेर्ने गर्छन् ।

इजरायललाई पश्चिमा शक्ति राष्ट्रले खुला सहयोग र समर्थन गर्न थालेसँगै युद्ध झन्–झन् गहिरिँँदै गयो । र, युद्ध प्यालेस्टाइनसम्म सीमित रहेन । प्यालेस्टाइनमा गरिएको इजरायली आक्रमणविरुद्ध पश्चिम एसियाका यमन, लेबनान, इरान, सिरिया र इराकमा ठुल्ठुला विरोध र्‍याली हुन थालेसँगै ती मुलुकमा पनि इजरायली हमला हुन थाले । 

यससँगै लेबनानमा सक्रिय हिज्बुल्लाहले इजरायलविरुद्ध क्षेप्यास्त्र आक्रमण गर्न थाल्यो । २५ डिसेम्बर २०२३ मा इजरायलले सिरियाको राजधानी दमास्कसनजिकै राजी मौसभी नामका इरानका वरिष्ठ सैन्य कमान्डरको हत्या गरिदियो । अमेरिकी सेनाले इराक भ्रमणमा रहेका इरानी कमान्डर कासिम सुलेमानीको हत्यापछि यो सबैभन्दा ठुलो हत्या थियो । 

lebanon

त्यसको एक महिना नबित्दै सिरियाकै अर्को सहरमा १० जना इरानी कमान्डर रहेको एउटा भवनमा इजरायलले हमला गर्‍यो र त्यहाँ रहेका सबै इरानीको हत्या गरिदियो । १ अप्रिल २०२४ सम्म आइपुग्दा नपुग्दै इजरायलले सिरियामा रहेको इरानी दूतावासमै आक्रमण गरेर १६ जनाभन्दा धेरै सैन्य तथा कूटनीतिक अधिकारीको हत्या गरिदियो । 

त्यसपछि इरानले इजरायलविरुद्ध प्रत्याक्रमण गर्ने घोषणा गर्‍यो । यता हिजबुल्लाहले इजरायल विरुद्धको आक्रमणलाई थप बढाउँदै गइरहेको थियो । १३ र १४ अप्रिलमा इरानले यमनमा सत्ता चलाइरहेका हुथी, इराकको प्रभावशाली इस्लामिक रेसिस्टेन्स ग्रुप र लेबनानको हिज्बुल्लाहसँग संयुक्त रूपमा इजरायलमा हमला गर्‍यो । तीन सयभन्दा धेरै ड्रोन र दर्जनौँ ब्यालेस्टिक क्षेप्यास्त्र यो हमलामा प्रयोग गरिएका थिए । 

मूलतः यी आक्रमण सांकेतिक थिए तर पनि यसले पश्चिम एसियाको राजनीतिलाई थप तात्न मलजल गर्‍यो । पश्चिमा मुलुकले आफ्ना हतियार सम्पन्न प्रमुख जहाजी बेडाहरू इजरायलको वरपर तैनाथ गर्न थालेसँगै इरानमाथि उनीहरूले थप नाकाबन्दी लगाए । 

iran

यसबाट हौसिएको इजरायलले इरानको इस्फान विमानस्थलमा हमला गरेर त्यहाँका विभिन्न संरचना ध्वस्त बनाइदियो तथा इरानका राष्ट्रपति र विदेशमन्त्री लगायत महत्त्वपूर्ण सरकारी अधिकारी सवार हेलिकप्टर दुर्घटना हुन पुग्यो । यसमा इजरायलको हात रहेको आशंका गरियो । एकपछि अर्को गरी विकसित प्रतिशोधपूर्ण घटनाक्रमले बिस्तारै भुसको आगो जसरी फैलिरहेको युद्ध मंगलबार सतहमा देखापर्ने गरी इजरायलको तेल अभिभमा प्रकट भयो ।

हमास प्रमुख इस्माइल हनियाको तेहरानमा भएको हत्या तथा १७ सेप्टेम्बरमा लेबनानविरुद्ध सुरु गरिएको इजरायली युद्ध इरान–इजरायल युद्धमा घिउ थप्ने प्रमुख घटनामध्येका एक थिए । 

  • पश्चिम एसियामै किन ?

आजको द्वन्द्वको कारण पहिल्याउन इतिहासका जराहरू खोतल्नुपर्ने हुन्छ । पर्सियाली साम्राज्य, यहुदी र इसाई धर्मको उदय, विविध धर्मयुद्ध, अटोमन साम्राज्य, रुस–युरोप संघर्ष, इस्लामको उदय, दुई महायुद्ध, तेलको खोजी र शीत युद्ध हुँदै व्यापार, भूराजनीति तथा भू–अर्थनीतिसम्म यसका जरा फैलिएका छन् । 

युरोपमा साम्राज्यहरूको तानातान, महायुद्धहरू, यहुदी समस्या, वेलफोर घोषणा, हिटलरको उदय, प्यालेस्टाइनमाथि यहुदी अतिक्रमण, इजरायलको स्थापना, तेलको अर्थराजनीति, इरानमा भएको ‘कु’ र रुसको पुनरोदय सबै यसमा जोडिन आइपुग्छ ।

इरानको हमलापछि छोटो प्रक्रिया दिँदै इजरायली प्रधानमन्त्री नेतन्याहुले ‘उपयुक्त समयमा बदला लिइने’ अभिव्यक्ति दिएका छन् । उता इरानका प्रमुख अखबारले आफ्नो मुखपृष्ठमा ठुलो अक्षरमा ‘हामी तयार छौँ’ भनी छापेका छन् । 

पश्चिम एसियाको संकटबारे विभिन्न विद्वान्को विभिन्न बुझाइ छ । चर्चित अमेरिकी भू–रणनीतिकार जबिगन्यु ब्रेजेजिन्स्कीले आफ्नो बहुचर्चित पुस्तक ‘द ग्रान्ड चेसबोर्ड’मा युरोप र एसियाको सग्लो भूगोलमा नियन्त्रण गर्न सक्ने शक्ति नै विश्वको महाशक्ति हुने तथा वर्तमान संघर्ष त्यहीँ केन्द्रित हुने बताएका छन् । 

15380295_100124-wpvi-iran-israel-map-img

उनका अनुसार रुस, इरान र चीनको प्रभावकारी सहकार्य भयो भने युरेसियाली भूगोल उनीहरूको नियन्त्रणमा पुग्छ र अमेरिकी प्रभुत्वको अन्त्य हुने निश्चित छ । त्यस्तै अर्का चर्चित अमेरिकी कूटनीतिज्ञ तथा रणनीतिकार हेनरी किसिन्जरका अनुसार इरानको सामरिक क्षमताले पश्चिम एसियाको भविष्य निर्धारण गर्ने बताउने गर्थे । 

इरानलाई प्रभावकारी आणविक हतियार सम्पन्न मुलुक हुनबाट नरोक्ने हो भने पश्चिम एसियाबाट अमेरिकाको बिदाइ निश्चित हुने उनको बुझाइ थियो । त्यसैले अमेरिका त्यस क्षेत्रमा आफ्नो प्रभुत्व कायम राख्न र इरानलाई नियन्त्रण गर्न इजरायललाई समर्थन गर्ने गर्छ । 

त्यस्तै प्रख्यात पत्रकार पेपे एस्कोबार ढल्दै गरेको पश्चिमा साम्राज्यको अन्तिम छटपटाहटका रूपमा पश्चिम एसियामा युद्ध चलिरहेको टिप्पणी गर्छन् । 

यसबिच अन्तर्राष्ट्रिय राजनीतिमा तात्त्विक रूपमै केही ठुला परिघटना भए । उदाहरणका रूपमा अमेरिकी गठबन्धनमा रहेको साउदी अरेबिया ब्रिक्समा सहभागी भयो भने चीनकै पहलमा इरान–साउदी अरेबियाबिच सन्धि भयो । चीनले प्यालेस्टाइनमा सक्रिय १४ विभिन्न राजनीतिक समूहलाई निम्त्याएर एक ठाउँमा उभिन सहमत बनाइदियो ।

804031_0

दक्षिण अफ्रिकाको अगुवाइमा अन्तर्राष्ट्रिय अपराध अदालतमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्ध अपराधी करार गरियो र उनीविरुद्ध पक्राउ पुर्जी जारी गरियो । यी सबै परिघटनाले इजरायल–अमेरिकी सहकार्यलाई थप बलियो बनाउनुपर्ने चुनौती थपिदिएको छ । 

  • इरान–इजरायल द्वन्द्वको प्रभाव

इरान–इजरायल द्वन्द्व थप बढेर व्यापक क्षेत्रीय युद्धमा परिणत हुने कि भन्ने आशंका छ । यसले आपूर्ति चक्रलाई प्रभावित पार्नेछ र ‘स्ट्रेट अफ होर्मुज’मा हुन सक्ने नियन्त्रण तथा बाबेल मान्डेबमा हुन सक्ने अवरोधले तेल लगायत इन्धनको मूल्य बढाइदिनेछ । 

इन्धनको मूल्य वृद्धि भएसँगै अन्य अत्यावश्यक सामग्रीले पनि आकाश छुने अनुमान हुन थालेका छन् । यससँगै नेपाली श्रमिकका लागि इजरायल आकर्षक गन्तव्यमा पर्ने गर्छ । युद्ध लम्बियो भने यसका असर नेपाली जनजीवनमा प्रत्यक्ष रूपमा देखापर्ने छन् । 

आक्रमणमा नेपालीको हताहती हुन सक्छ भने त्यहाँको कामबाट बिदा लिएर स्वदेश फिर्ता हुनुपर्ने अवस्था आउन सक्छ । यसले अन्ततः धेरै नेपाली श्रमिक रहेका पश्चिम एसियामै रोजगारका लागि जान नसक्ने परिस्थिति निर्माण हुन सक्छ । यति हुँदाहुँदै पनि आगामी दिनहरू कस्ता हुनेछन् भनेर अझै केही दिन इरान–इजरायल द्वन्द्वलाई नियालेर हेर्नुपर्ने हुन्छ । 

(एजेन्सीको सहयोगमा)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप