शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय
जीवनशैली

यस्तो बन्यो ‘हेर्ने कथा’का प्रकाश तामाङको घर

सहयोग गर्न माओवादी–एमालेबिच प्रतिस्पर्धा
शुक्रबार, १८ असोज २०८१, ०९ : ५९
शुक्रबार, १८ असोज २०८१

काठमाडौँ । युट्युबमा सर्वाधिक हेरिएको डकुमेन्ट्री ‘हराएका वर्षहरू’का प्रमुख पात्र प्रकाश तामाङ भाइरल भएपछि उनलाई सहयोग गर्न एमाले र माओवादीले प्रतिस्पर्धा गरिरहेका छन् ।

गत भदौै ८ गते युट्युबमा ‘हेर्ने कथा’ शृङ्खला अन्तर्गत सार्वजनिक गरिएको सो भिडियोले १ करोड १४ लाख भ्यूज पाएको छ । झण्डै ३५ वर्ष आफ्नै देशमा गुमनाम भएका उनको कथा हेरेर धेरै नेपाली भावुक बने ।

नागरिकता बनाउनसमेत झमेला बेहोरेका उनलाई भाइरल हुने बित्तिकै प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकता सहज रूपमा बनाइदिन निर्देशन दिएपछि जिल्ला प्रशासन कार्यालय भोजपुरका कर्मचारी ढड्डा नै बोकेर तामाङको घरमा पुगी नागरिकता दिएका थिए ।

भिडियो सार्वजनिक भएको दुई दिनमै भोजपुरको षडानन्द गाउँपालिकामा अर्काको जग्गामा बसेका प्रकाशको परिवारका लागि माओवादी केन्द्रका सांसद सुदन किराँतीले घर–जग्गा व्यवस्था गर्ने घोषणा गरे । घोषणा अनुरुप तत्कालै माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं भूतपूर्व गोर्खा सैनिक संघ (गेसो)का अध्यक्ष कृष्णकुमार राईले आफ्नो पुर्ख्यौली १० रोपनी हाराहारी जग्गा दिए । डोजरले घडेरी खारेर सांसद किराँतीको पहलमा घर बनाउन थालियो ।

गत भदौ २९ गते भोजपुरको षडानन्द नगरपालिका वडा नम्बर १० मा उनको घर निर्माणको शिलान्यास गरिएको थियो । माओवादी सांसद सुदन किरातीको अगुवाइमा उनका लागि ३ कोठे पक्की घर निर्माणको काम अन्तिम चरणमा पुगेको छ । घरमा टिनको छाना हाल्ने तयारी गरिएको छ ।

यता माओवादी केन्द्रका सांसद किरातीले आफ्नै देशमा ३५ वर्ष हराएको प्रकाशलाई उनको अवस्था थाहा पाएपछि कोही अघि नसरेको बेला आफू अघि सरेर घर जग्गाको व्यवस्था गरेकाले अरुसँग प्रतिस्पर्धा गरेको भन्न नमिल्ने बताए ।

माओवादीले घर जग्गा दिएर प्रकाशलाई सहयोग गरिरहेको बेला नेकपा एमाले पनि सहयोगको प्रतिस्पर्धामा उत्रिएको छ । एमालेका नेता एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईले पनि प्रकाश तामाङलाई हालै जग्गा दिएका छन् । तामाङको परिवार बसेको घरमा पुगेर राईले श्रीमतीसँग मिलेर असोज १३ गते ५ रोपनी ३ आना जग्गा, एक हल गोरु र जोत्ने एउटा ट्याक्टर सहयोग गरेका छन् ।

जग्गा हस्तान्तरण गर्दै उनले प्रकाशको जीविकोपार्जनलाई सहज होस्, बाँकी जीवन आमाबुबाको सेवा गरेर गाउँमा बस्ने, जग्गा भयो भने कृषिकर्म गरेर बस्ने भनेपछि सो भनाइबाट आफू प्रभावित भएर सहयोग गरेको बताएका छन् । आफू भोजपुरवासी तथा जनप्रतिनिधि भएकाले खेतबारीमा काम गर्न सहज होस् भनेर गोरु, ट्याक्टरसहित जग्गा सहयोग गरेको उल्लेख गरेका छन् । राईले श्रीमती जाङ्मु शेर्पासँग सल्लाह गरेर उनको नामको जग्गा तामाङलाई पास गरेर लालपूर्जा हस्तान्तरण गरेका छन् ।

त्यसअघि शेरधन र जाङ्मुले प्रकाशलाई १ लाख रुपैयाँ नगद पनि सहयोग गरेका थिए ।

यता माओवादी केन्द्रका सांसद किरातीले आफ्नै देशमा ३५ वर्ष हराएको प्रकाशलाई उनको अवस्था थाहा पाएपछि कोही अघि नसरेको बेला आफू अघि सरेर घर जग्गाको व्यवस्था गरेकाले अरुसँग प्रतिस्पर्धा गरेको भन्न नमिल्ने बताए ।

उनले भने, ‘कोही अघि नसरेको बेला घर जग्गाको व्यवस्था गर्‍यौँ । यो  प्रतिस्पर्धा गरेको होइन । कसैले नथालेको बेला मैले घर बनाइदिन थालेँ । त्यसका लागि कृष्णकुमार राईले जग्गा व्यवस्थापन गरिदिनुभयो । हामीले घर–जग्गा व्यवस्था गरिसकेपछि अरु पनि कोही सहयोग गर्न आउनुभएको होला ।’

किरातीले आफ्नै देशमा ३५ वर्ष हराएको मान्छे, जसको एक चपरी माटो पनि थिएन, त्यस्तो मान्छेलाई बसोबासको आधार बनाउने काम गरेको बताए । ‘अरु को–को सहयोग गर्न आउनुभयो, त्यसलाई के प्रतिस्पर्धा भन्नु र ?’ उनले भने ।

सांसद किराँतीले तामाङको घर दसैँ अगाडि नै संरचना तयार पारिसक्ने बताए । वर्षातको कारण घरमा रङरोगन भने पछि गर्ने उनले बताए ।

किरातीले भने, ‘मूल घर छानाको चरणमा पुग्यो, ट्वाइलेट ढलान भयो, किचेन पनि ढलान भइसकेको छ । दसैँ अगाडि हामी सबै संरचना ठड्याइसक्छौँ । रङरोगनमात्र बाँकी राख्छौँ ।’

WhatsApp Image 2024-10-03 at 14.13.01

स्थानीय पार्टीसँग मिलेर श्रमदानबाटै घर बनाउन खोजे पनि घर बनाउनलाई सिप भएको मिस्त्री चाहिने भएकाले श्रमदानबाट मात्रै सबै काम गर्न नसकेको उनले बताए । होङ्सी कम्पनीले १५० बोरा सिमेन्ट दिएको, टिनको छानाका लागि पनि प्रक्रिया सुरु गरिएको उनले बताए ।

पहाडी विकटताले गर्दा घर निर्माणमा खर्च लागत १९ लाख हाराहारी पर्न आउने भए पनि श्रमदान पनि भएकाले १६ लाख हाराहारी खर्चमा घर निर्माण सम्पन्न हुने किरातीको भनाइ छ । स्थानीय साथीहरूबाट सहयोग उठाएर कामदारहरूको खर्च दिने व्यवस्था गरेको किरातीले उल्लेख गरे ।  

झरीका कारण समयमा घर निर्माण सम्पन्न गर्न बाधा उत्पन्न भएको बताउँदै उनले घर हस्तान्तरण गर्दा लालपूर्जासहित जग्गा हस्तान्तरण गर्ने योजना रहेको जानकारी दिए ।

फोटो स्रोत : सुदन किँराती

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप