शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय
एकीकृत समाजवादीको कार्यविभाजन

विभाग प्रमुख र जिल्ला इन्चार्ज बन्न पदाधिकारीकै प्रतिस्पर्धा !

शुक्रबार, १८ असोज २०८१, ०८ : ५६
शुक्रबार, १८ असोज २०८१

काठमाडौँ । नेकपा एकीकृत समाजवादीमा विभागीय प्रमुख र जिल्ला इन्चार्ज बन्न पदाधिकारी तथा केन्द्रीय सदस्यहरूबिच होडबाजी चलेपछि दसैँअघि कार्यविभाजन नहुने भएको छ ।

अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको सात सदस्यीय कार्यदलले विभाग प्रमुख, ७७ जिल्ला इन्चार्ज, जनसंगठन प्रमुख र केन्द्रीय आयोग गठनको गृहकार्य गरे पनि नेताहरूले महत्त्वपूर्ण विभागको प्रमुख र केन्द्रीय सदस्यहरूले जिल्लाको इन्चार्ज आफैँ हुनुपर्ने अडान नछाडेपछि कार्यविभाजन गर्न कठिन भएको हो ।

गत साता कार्यदलको बैठक बसे पनि महत्त्वपूर्ण विभागहरू आर्थिक विभाग, संगठन विभाग, विदेश विभाग र प्रचार विभागमा पदाधिकारीबिच नै कुरा नमिल्दा निर्णय गर्न नसकिएको एक नेताले जानकारी दिए ।

‘महत्त्वपूर्ण विभाग आफैँले राख्नुपर्छ भन्ने पदाधिकारीबिच नै लडाइँ छ’, ती नेताले भने, ‘यस्तो देखिएपछि बरु समय लगाएर भए पनि व्यापक छलफल गरेरमात्र निर्णयमा पुग्ने सोचमा अध्यक्ष नेपाल पुग्नुभएको छ । सायद दसैँ अघि कार्यविभाजन नटुङ्गिन सक्छ ।’

उपमहासचिवसमेत रहेका नेकपा एकीकृत समाजवादीका कार्यालय सचिव रामकुमार भट्टराई कार्यदलस्तरमा कार्यविभाजनबारे गृहकार्य भइरहे पनि ठोस निष्कर्षमा पुग्न बाँकी रहेको बताउँछन् ।

‘अध्यक्ष बिहीबार काठमाडौँ आइपुग्ने कुरा छ । उहाँ आएपछि प्रक्रिया अघि बढ्ला । सकेसम्म दसैँ अघि नै नेताहरूको कार्यविभाजन गर्ने प्रयास भइरहेको बुझेको छु’, भट्टराईले भने ।

स्रोतका अनुसार आर्थिक विभाग प्रमुख बन्न पदाधिकारीबिच चर्को प्रतिस्पर्धा छ । यो विभागको नेतृत्व हत्याउन वरिष्ठ नेता, उपाध्यक्ष र सचिवसम्मले प्रयत्न गरिरहेका छन् ।

आर्थिक विभाग प्रमुख बन्न नेता प्रमेश हमाल, उपाध्यक्ष जगन्नाथ खतिवडा र सचिव सोमप्रसाद पाण्डेले तीव्र आकाङ्क्षा राखेका छन् । अध्यक्ष माधवकुमार नेपाल पनि उक्त विभागको नेतृत्व आफू अनुकूलका नेतालाई दिन चाहन्छन् । यस्तोमा अध्यक्ष नेपालको रोजाइमा पाण्डे परे पनि हमाल र खतिवडाले आर्थिक विभाग नपाए अरु महत्त्वपूर्ण विभागको सुनिश्चित हुनुपर्ने अडान राखेको बुझिएको छ ।

यस्तै संगठन विभाग प्रमुखका लागि पनि नेताहरूबिच हानथाप छ । यो विभागको प्रमुखमा वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसालबिच प्रतिस्पर्धा चलिरहेको छ । यसअघि यो विभागको प्रमुुख रहेका बेदुराम भुसाल पनि अर्थ नपाए संगठन विभागको नेतृत्व लिने चाहनामा छन् । यसअघि भुसालले संगठन विभागको नेतृत्व गर्दा संगठन विस्तार हुन नसकेको आरोप पार्टीभित्रै लागेको थियो ।

विदेश विभागको नेतृत्वका लागि सम्मानित नेता झलनाथ खनाल र नेता प्रमेश हमालबिच प्रतिस्पर्धा छ । यसअघि विदेश विभाग प्रमुख रहेका खनाल फेरि सोही विभागको नेतृत्व गर्न चाहन्छन् । तर हमालले अध्यक्ष नेपालसँग आफूलाई अर्थ विभाग नभए विदेश विभाग दिनुपर्ने भनिसकेका छन् । ‘हमालजी अर्थ कि विदेश चाहिन्छ भन्ने पक्षमा हुनुहुन्छ, हमाललाई विदेश दिँदा खनाल मान्ने पक्षमा हुनुहुन्न’, माधव नेपाल निकट स्रोत भन्छ, ‘यो विभाग पनि धेरै नेताको रोजाइमा परेको छ । जसले गर्दा निर्णयमा पुग्न नेताहरूलाई कठिन भएको छ ।’

सञ्चारमाध्यम र सञ्चारकर्मीसँग प्रत्यक्ष सम्बन्ध बढाउन सकिने र त्यसैका बलमा नेतृत्वको नजिक हुन पाउने भनेर चिनिएको प्रचार विभागको नेतृत्व लिन नेताहरू लालयित देखिन्छन् । असारमा सम्पन्न १० औँ महाधिवेशनअघि यो विभागको नेतृत्व जगन्नाथ खतिवडाले गरेका थिए । अहिले पनि खतिवडा आर्थिक विभाग नपाए प्रचार विभागको निरन्तरता पाउनुपर्ने पक्षमा छन् ।

खतिवडाबाहेक यो विभागको प्रमुख बन्न उपमहासचिव मेटमणि चौधरी, गरिमा शाह, गंगालाल तुलाधर लगायतका नेता आकाङ्क्षी देखिएका छन् ।

विभागमात्र नभएर एकभन्दा बढी केन्द्रीय सदस्य रहेका जिल्लामा जिल्ला इन्चार्ज बन्न पनि नेताहरूबिच चर्को प्रतिस्पर्धा रहेको बताइएको छ ।

दशौँ राष्ट्रिय महाधिवेशनपछि प्रदेश इन्चार्जको जिम्मा अस्थायी रूपमा पदाधिकारीलाई दिएको सो पार्टीले आगामी मंसिरभित्र प्रदेश अधिवेशन गर्ने बताउँदै आएको छ । प्रदेश अधिवेशनमा तलैबाट निर्वाचित भएर आएको नेतामात्र प्रदेश अध्यक्ष लड्न पाउने प्रावधान भएका कारण पनि नेताहरू प्रदेशमा हारिने डरले विभाग प्रमुखमा मनोनीत हुन चाहिरहेको नेताहरूको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप