शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

‘के तपाईंले मेरो देवता देख्नुभयो’ को पहिलो प्रदर्शन गरियो

बिहीबार, १७ असोज २०८१, २२ : ४६
बिहीबार, १७ असोज २०८१

काठमाडौँ । ‘नेपालका हराएका देवताका मूर्तिहरू’ को बारेमा निर्देशक अमिताभ जोशीद्वारा निर्देशित वृत्तचित्र ‘के तपाईंले मेरो देवता देख्नुभयो’ (ह्याब यू सिन माई गड?) को पहिलो प्रदर्शन गरिएको छ ।

राजधानीको ठमेलस्थित छाँया सेन्टरको क्यूएफएक्स सिनेमामा पहिलो प्रदर्शन भएको हो । उक्त प्रदर्शनमा अमेरिकन अष्ट्रेलियन, युरोपियन युनियन, मलेसियन र बेलायती राजदूतावासका कूटनीतिज्ञहरू लगायत विभिन्न सङ्घ संस्थाका विशिष्ट व्यक्तिहरू गरी १३० जनाको सहभागिता रहेको थियो ।

उक्त वृत्तचित्रले नेपालबाट विभिन्न समयमा चोरी भई विदेश लगिएका र अनुसन्धान पश्चात् प्राप्त भएका देवताका मूर्तिहरूलाई नेपाल फर्काउने पहल र त्यसको सांस्कृतिक महत्वको बारेमा सनसनीपूर्ण तथ्य उजागर गरेको छ भने यो उक्त वृत्तचित्र अझै पूर्ण रूपमा निर्माण हुन भने बाँकी नै छ ।

यो वृत्तचित्र केवल एक वृत्तचित्र मात्र नभई नेपालका हराएका चोरिएका मूर्तिहरूलाई नेपालमा फिर्ता ल्याउने अभियानको सुरुवाती चरण भएको र खोज तथा अनुसन्धानको निरन्तरता आवश्यक भएको कुरा निर्देशक जोशीले बताए । 

सो वृत्तचित्र को बारेमा वरिष्ठ पत्रकार कनकमणि दीक्षित र अलिसा सिजापति, कलाकार लेखक लैनसिंह बाङ्देल, जुगैल सिक र जोय डेभिसले नेपालका सांस्कृतिक सम्पदाहरू स्वदेश फिर्ता ल्याई सङ्ग्रहालयमा राख्न गरिएका प्रयासहरू मध्य सबैभन्दा सराहनीय प्रयास यो वृत्तचित्र भएको र यसले उक्त कार्यमा सहयोग पुराउनमा कोशे ढुङ्गाको काम गर्ने बताए । 

उक्त वृत्तचित्र प्रदर्शनको प्रायोजन दया फाउन्डेसन, नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्क लिमिटेड र नेपाल कला परिषद्ले  गरेको हो भने उक्त कार्यक्रमको संयोजन दया फाउन्डेसनकी पूर्व अध्यक्ष एवं कल्चर विभागका प्रमुख निभा माथेमा प्रधानले गरेकी हुन् । वृत्तचित्र प्रदर्शन पछि निभा माथेमा प्रधानबाट दर्शकदिर्घा एवं निर्मातासंग प्रश्नोत्तर सत्रद्वारा वृत्तचित्रको औचित्य बारेमा थप प्रकाश पारिएको थियो । 

सांस्कृतिक सम्पदाको महत्त्व र त्यसलाई पुन प्राप्तिको प्रयासलाई उजागर गर्न उक्त वृत्तचित्रले सन् १९८४ मा पाटनको लक्ष्मी–नारायणको चोरी भएको मूर्ति लाई सन् २०२१मा फिर्ता ल्याई पुनर्स्थापित गरिएको घटनालाई रोचक ढङ्गले पस्किएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप