शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

गुठी संस्थानको अतिक्रमणमा परेको जग्गा प्रदेशको मातहतमा ल्याइन्छ : मुख्यमन्त्री सिंह

बिहीबार, १७ असोज २०८१, २२ : ३६
बिहीबार, १७ असोज २०८१

महेन्द्रनगर । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाम क्षेत्रमा अतिक्रमणमा परेको गुठी संस्थानको जग्गा प्रदेश सरकारको मातहतमा ल्याइने बताएका छन् । 

मुख्यमन्त्री सिंहले जनकपुरधाम उद्योग वाणिज्य सङ्घको आयोजनामा आज यहाँ सुरु गरिएको ‘सस्तो बजार’को उद्घाटन गर्दै अतिक्रमणमा परेको गुठीको जग्गाको सदुपयोग गर्न त्यसलाई प्रदेश सरकारको मातहत ल्याउन पहल भइरहेको बताए ।

उनले जनकपुरधामको ५२ बिघा भनेर चिनिएको जग्गामा प्रदेश सरकारले जनक दरबारसहितको सभा हल र अन्य पूर्वाधार निर्माण गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम भइरहेको बताए । 

“रामजानकी अन्तर्राष्ट्रिय रङ्गशाला निर्माण गर्ने समेत योजना बनाएका छौँ”, उनले भने । मुख्यमन्त्री सिंहले जनकपुरधामको महिमासँग जोडिएको ऐतिहासिक तथा धार्मिक महत्वको दुग्धमतिको पहिलाको स्वरूप अनुसारको विकास गर्न नक्सा सङ्कलनका लागि प्राविधिकसहितको टोली खटाउने काम प्रदेश सरकारले गरेको जानकारी दिए । 

प्रदेशसभा सदस्य दीपेन्द्र ठाकुरले जनकपुरधामको समग्र विकासका लागि जनकपुर विकास प्राधिकरण निर्माण आवश्यक भएको बताए । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख  मनोजकुमार साहले सस्तो बजारबाट आम उपभोक्ता लाभान्वित हुने बताए । आजदेखि सुरु भएको सस्तो बजार यही असोज २५ गतेसम्म चल्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप