शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे, १० समाचार

बिहीबार, १७ असोज २०८१, २२ : ००
बिहीबार, १७ असोज २०८१

आज मिति २०८१ साल असोज महिनाको १७ गते बिहीबार । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–

१. भ्रष्टाचारमा स्थानीय तह

अख्तियार दुरुपयोग र भ्रष्टाचारको मामलामा स्थानीय सरकार निकै अगाडि देखिएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तथ्याङ्क अनुसार पोखरा महानगरपालिका र काठमाडौँ महानगरपालिकामा बढी भ्रष्टाचार हुने गरेको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य छन् । भ्रष्टाचारको सबैभन्दा बढी विरोधी काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह हुन् । तर, शाहलेनै नेतृत्व गरेको महानगर दोस्रो बढी भ्रष्टाचार हुने स्थानीय सरकार भएको अख्तियारमा पर्ने उजुरीले प्रमाणित गरेको छ ।

२. सडक खुलाउने के छ सरकारी तयारी ?

सरकारले बाढी पहिरोका कारण क्षतिग्रस्त देशभरका सडक खुलाउने सम्बन्धमा कार्ययोजना प्रस्तुत गरेको छ । बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै देशभरका राजमार्गमा भएका अवरोध एवं त्यसलाई खुलाएर यातायात सञ्चालनलाई सुचारु बनाउनेबारे कार्ययोजना प्रस्तुत गरेको हो ।

३. विद्युत व्यापार सम्झौता

नेपालको बिजुली बङ्गलादेशमा निर्यात गर्ने सम्बन्धमा नेपाल, बङ्गलादेश र भारतबिच बहुप्रतिक्षित ऐतिहासिक त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

बिहीबार काठमाडौँमा आयोजित एक समारोहमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घसिङ, भारतको एनटीपीसी विद्युत् व्यापार निगमकी सीईओ डेइनो नारान र बङ्गलादेशको पावर डेभलपमेन्ट बोर्ड (बीपीडीबी)का अध्यक्ष मोहम्मद रिज्वान करिम प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् । ऊर्जा मन्त्री दीपक खड्का र बङ्गलादेशी ऊर्जा मन्त्रालयकी सल्लाहकार सहिद रिजवाना हसनको उपस्थिति थियो ।

४. राप्रपामा जिम्मेवारी हेरफेर

राप्रपाका महामन्त्री डा धवलशमशेर राणाको संगठन विभाग प्रमुखको जिम्मेवारी खोसिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरूको जिम्मेवारी हेरफेर गर्दा राणालाई संगठन विभागबाट हटाएका हुन् । उनी आन्दोलन परिचालन समितिको संयोजक रहेकाले त्यहाँमात्रै केन्द्रित गर्नका लागि जिम्मेवारी हेरफेर भएको दाबी गरिएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाह परिवारका सदस्यसहित भुटान गएका छन् । उनी भुटान एयरलाईन्सको जहाजमार्फत बिहीबार भुटानको थिम्पुु पुगेका हुन् ।

५. द्वन्द्वग्रस्त मुलुकमा नेपालीमाथि सुरक्षा चुनौती

लेबनान र इरानसँग इजरायलको द्वन्द्व चर्किँदै गएसँगै त्यहाँ रहेका नेपालीको सुरक्षा चुनौती थपिएको छ । इजरायल र लेबनानमा रहेका नेपालीहरू युद्धका कारण त्रसित बन्दै गएका छन् । ती क्षेत्रमा नेपालीहरूलाई सुरक्षा सतर्कता अपनाएर मात्र बाहिर हिँड्न भनिएको छ ।

इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीलाई अत्यावश्यक कामबाहेक बाहिर नहिँड्न भनेको छ ।

६. उद्धारलाई तिव्रता

मनसुनजन्य विपदबाट प्रभावित १७ हजार मानिसहरूलाई मुलुकभरबाट उद्धार गरिएको गृह मन्त्रालयले जनाएको छ । देशभरबाट १७ हजार १२० जनालाई सकुशल उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता (सहसचिव) ऋषिराम तिवारीले रातोपाटीलाई बताए । सैनिक, सशस्त्र, प्रहरी तथा  स्वयंसेवकहरूबाट बिहीबार बिहानसम्म प्रभावितहरूको उद्धार गरेका हुन् ।

७. नेपाल–भारतबिच सम्झौता

नेपाल आयल निगमले अघि बढाएका महत्त्वपूर्ण आयोजना निर्माणसम्बन्धी अन्यौल अन्त्य भएको छ ।  झापाको चारआलीको पेट्रोलियम पाइपलाइन तथा स्मार्ट टर्मिनल तथा अमलेखगञ्ज–लोथर पाइपलाइन तथा टर्मिनल निर्माणको मोडालिटीको अन्यौलता अन्त्य भएको हो ।

८. कृषि क्षेत्रमा समस्या

सन् २०१८ देखि कालिजपालन व्यवसाय गर्दै आएका सुशील भट्टराईले लामो समय कालिजको चल्ला बेच्ने अनुमति सरकारबाट नपाएर रन्थनिनुपर्‍यो । सुरुदेखि लगातार दुई वर्षसम्म धाएपछि मात्रै उनलाई कालिजको चल्ला बेच्ने अनुमति मिल्यो ।‘कालिजको मासु रेस्टुरेन्ट र मासु पसलमै बिक्छ, तर चल्ला बेच्न नपाउने रे !’ भट्टराई सम्झन्छन् ।

सरकारले रासायनिक मल, कृषि बिमा, बिउ बिजन आदिमा अनुदान दिने गरेको छ, तर लगानीपछि उत्पादित कृषि उपज भण्डारण, प्रशोधन र बजारको व्यवस्थामा सरकारी ध्यान नपुगेको ठान्छन् उनी ।

कृषि क्षेत्रमा नयाँ काम गर्न दिने विषयमा सरकार कति अनुदार छ भन्ने एउटा उदाहरण हो यो । कृषि क्षेत्रको समस्याबारे बिहीबार रातोपाटीमा एक प्याकेज सामग्री प्रकाशित भएको छ ।

 

९. ३५ जनाको सनाखत

धादिङको धुनिवेशी नगरपालिका–९ स्थित झ्याप्ले खोलामा पहिरोमा पुरिएर ३ वटा गाडीमा सवार ३५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ जना पुरुष ९ जना महिला र १ जना बालिका छन् । उनीहरू सवैको सनाखत भएको जिल्ला प्रहरी कार्यालय धादिङका इन्स्पेक्टर प्रह्लाद सिलवालले रातोपाटीलाई बताए ।

१०. दसैँ सुरु

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने हिन्दुहरूको महान् पर्व बडादसैँ आजबाट सुरु भएको छ । आज घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिएको छ ।

 

थप सामग्री

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप