शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय

घटस्थापनासहित जमरा राखी बडादसैँ सुरु

बिहीबार, १७ असोज २०८१, २१ : २०
बिहीबार, १७ असोज २०८१

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बी नेपालीले घर घरमा घटस्थापनासहित जमरा राखी नवदुर्गाको पूजा आराधना गरेसँगै बडादसैँ सुरु भएको छ ।

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरेपछि नेपालीको महान् पर्व बडादसैँ सुरु हुन्छ । बिहान ०९ः१६ बजेको शुभ साइतमा घटस्थापना गरी दसैँ घर वा पूजा कोठामा जौ रोपेर जमरा राखेपछि आजदेखि नेपालीको महान् पर्व बडादसैँ सुरु भएको हो । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाउने गरिन्छ । यो १५ दिनको समयलाई दुर्गा पक्ष पनि भनिन्छ ।

बडादसैँको पहिलो दिन आज घर घरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिएको छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ भएको छ । पूजा कोठा वा दसैँ घरमा नवरात्रभर दुर्गा देवीको आराधना गरिन्छ ।

जौको अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँग समृद्धिको प्रतीक पहेँलो जमरा पनि लगाइन्छ । जमरामा जौ बाहेक अरू अन्न रोप्ने शास्त्रीय विधि नभएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । कुल परम्परा अनुसार कसैले अन्य अन्न पनि जौसितै रोप्ने गरेका छन् । जमरालाई आयुर्वेदिक औषधिका रूपमा प्रयोग गरिन्छ ।

दुर्गादेवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य र ऐश्वर्यको प्रतीक तथा महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकका रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।

दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकको रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तवीज लगायतका राक्षसलाई वध गर्न लिएका नौवटा रुपको दुर्गा पक्षका अवसरमा विशेष पूजाआजा र आराधना गर्ने गरिन्छ ।  

पहिलो दिन शैलपुत्री देवीको पूजा आराधना

 दुर्गा पक्षको पहिलो दिन आज शैलपुत्रीको आह्वानसहित विशेष पूजा गरिएको छ । दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भन्ने गरिन्छ । 

आसुरी एवं राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै दुर्गादेवीको पूजा आराधना गर्ने शास्त्रीय नियम छ । दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवं धर्म विशेषको नभएको शास्त्रीय प्रमाण रहेको धर्मशास्त्रविद् गौतमले बताए । दसैँ पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने गरिन्छ ।

नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवं स्तुतिहरुको पाठ पारायण पनि गर्ने गरिन्छ । यस अवसरमा नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती लगायत देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको घुइँचो लाग्ने गरेको छ ।  

दसैँ घरमा घटस्थापनापछि दैनिक बली दिई विधिपूर्वक पूजा आराधना सुरु भएको छ । रोजगारी, अध्ययन एवं अन्य काम विशेषले आफ्नो घर बाहिर रहेकाहरु दसैँको अवसर पारेर घर फर्कने र परिवारका साथ बसेर महान् पर्व मनाउँछन् । यसैले बडादसैँलाई पारिवारिक पुनर्मिलनको पर्वका रूपमा समेत लिइन्छ ।

पूजा कोठा वा दसैँ घरमा आज विधिपूर्वक राखिएको घडाको जलले विजयादशमीका दिन अभिषेक गरी समृद्धिको प्रतीक जमरासहित मान्यजनबाट दुर्गादेवीको प्रसादका रूपमा टीका लगाइन्छ । टीका लगाउने क्रम कोजाग्रत पूर्णिमासम्म जारी रहन्छ । यो १५ दिनको अवधिलाई दुर्गा पक्ष पनि भनिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप