बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय
राष्ट्रिय सम्मेलन

क्रान्तिकारीको राष्ट्रिय सम्मेलन स्थगित हुनुमा दोषी को ?

बिहीबार, १७ असोज २०८१, २० : ५५
बिहीबार, १७ असोज २०८१

काठमाडौँ । नयाँ नेतृत्व चुन्ने र चुनिने आकांक्षा बोकेर देशभरिबाट काठमाडौँमा भेला भएका अनेरास्वभियु क्रन्तिकारीकाे राष्ट्रिय सम्मेलन प्रतिनिधि निराश भएर घर फर्किएका छन् । क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनमा भाग लिन देशभरिबाट दुई हजार २२३ जना राजधानीमा भेला भएका थिए ।

असोज १० गते त्रिभुवन विश्वविद्यालयस्थित स्मृति हलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेलन उद्घाटन गरेका थिए । असोज ११ गतेबाट सुरु भएको बन्दसत्रमा अध्यक्ष पञ्चा सिंह नेतृत्वको पुरानो केन्द्रीय समिति भङ्ग गरी वीरबहादुर थापाको नेतृत्वमा सात सदस्यीय अध्यक्षमण्डल गठन गरिएको थियो ।

१२ गते अविरल वर्षापछि आएको बाढीपहिरोले सम्मेलन बिथोल्यो । १३ गते बसेको बन्दसत्रमा १० वटा समूहमा विभाजन गरी मस्यौदा विधान र प्रतिवेदनमाथि छलफल भएको थियो । तर समूहगत छलफलमा उमेर हदसम्बन्धी विवाद उत्पन्न हुँदा परिस्थितिले नयाँ मोड लियो ।

नियमित समयभन्दा एक वर्ष ढिलो गरी बोलाइएको सम्मेलन दुई पक्षबिच चर्को विवादका कारण अध्यक्षमण्डलले अनिश्चितकालका लागि स्थगित भएको घोषणा गर्‍यो । अन्ततः नयाँ कार्यसमिति छनोट नगरी प्रतिनिधिहरू रित्तो हात घर फर्किन बाध्य भए ।

आयोजक समितिले प्राविधिक र व्यवस्थापकीय कमजोरीका कारण सम्मेलन स्थगित गरिएको तर्क गरेको छ । पार्टी अध्यक्ष प्रचण्डले बन्दसत्र भाँडिएको वा असफल नभएको प्रस्ट्याए । बिहीबार अध्यक्षमण्डललाई आफ्नै निवास खुमलटारमा बोलाएर उनले व्यवस्थित र विधिसम्मत रूपमा सम्मेलन सम्पन्न गरेर छाड्ने प्रतिबद्धता जनाएका छन् ।

‘बन्दसत्र स्थगन भनेको सम्मेलन भाँडिएको वा असफल भएको होइन । बरु यसलाई व्यवस्थित रूपमा सम्पन्न गर्न समय लिएको हो । हामी कोही पनि नबहकिऔँ । सम्मेलन असफल भएको दुष्प्रचार नगरौँ,’ उनले भने, ‘बरु यसलाई कसरी व्यवस्थित रूपमा र विधिसम्मत रूपमा सम्पन्न गर्ने भन्ने बारेमा सोचौँ ।’

प्रचण्डका स्वकीय सचिव रमेश मल्लले विज्ञप्तिमार्फत जनाए अनुसार अध्यक्ष प्रचण्डले व्यवस्थित रूपमा सफलतापूर्वक सम्पन्न गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् ।

उमेरहद लगाउने कि नलगाउने भन्नेबारे दुई पक्षबिच धकेलाधकेल, हुलहुज्जत हुँदा कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसर रणभूमिमा परिणत भएको थियो । विवाद सुल्झाउन पार्टी नेतृत्व र क्रान्तिकारीका पदाधिकारबिच पटकपटक भएको प्रयास असफल भएपछि निर्वाचन अयोगको सिफारिसमा बुधबार अध्यक्षमण्डलले सम्मेलन अनिश्चितकालका लागि स्थगित गर्‍यो ।

यसअघि असोज २–५ मा गर्ने भनिएको सम्मेलन तयारी नपुगेको कारण देखाउँदै स्थगित गरिएको थियो । असोज ३ गते प्रचण्ड निवासमा शीर्ष नेता र विद्यार्थी नेताहरूबिच असोज (१०–१४) मा सम्मेलन सम्पन्न गर्ने सहमति भएको थियो । क्रान्तिकारीको कार्यालय बैठक उमेर हद लगाउने कि नलगाउनेबारे निष्कर्षमा पुग्दैथियो । तर १३ गते बसेको माओवादी पदाधिकारी बैठकले निर्वाचनबाट उमेर हद विवाद टुङ्ग्याउन निर्देशन दिएपछि बन्दसत्र नयाँ विवादमा फसेको एक पक्षको बुझाइ छ ।

अर्कोपक्षले संगठनमा जनार्दन शर्मा पक्षको बलियो पकड रहेकाले नियोजित ढंगले सम्मेलन स्थगित गरेको आरोप लगाएको छ । १५ गते राति अबेरसम्म बसेको इन्चार्ज हिमाल शर्मासहितको विद्यार्थी नेताहरूको बैठकले विवाद समाधान गर्न नसक्दा क्रान्तिकारीको नयाँ नेतृत्व चयन प्रक्रिया रुमल्लिएको छ । यद्यपि इन्चार्ज शर्मा प्राविधिक र व्यवस्थापकीय कमजोरीका कारण सम्मेलन गर्न नसकिएको बताउँछन् ।

पार्टीको हस्तक्षेपभन्दा पनि नजिकिएको दसैँ र मनसुन सक्रिय भएका कारण सम्मेलन स्थगित भएको उनको तर्क छ । ‘पार्टीले हस्तक्षेप गरेको वा गुटगत प्रभावका कारण सम्मेलन स्थगित भएको हल्लामा कुनै सत्यता छैन,’ उनले भने, ‘पार्टी नेताहरूसँग छलफलमा बस्दा पनि त्यस्तो अनुभूति हामीले गरेका छैनौँ ।’

रातोपाटीसँग शर्माले भने, ‘दसैँ अगाडि सम्मेलन सम्पन्न गर्न नसकिने निर्वाचन आयोगको प्रस्तावलाई मध्यनजर गरी स्थगित गरिएको हो । उमेर हदका कारण बन्दसत्र हल नै विभाजित हुने वातावरण बन्यो । मौसम पनि बदली भएकोजस्ता विभिन्न बाध्यताका कारण तोकिएको समयमा सम्पन्न गर्न सकिएन ।’

स्थगित भएको सम्मेलन पार्टी नेतृत्वसँगको समन्वयमा मंसिरतिर सम्पन्न गर्ने गरी तयारी हुने शर्माले बताए । सम्मेलन स्थगित हुनुमा प्राविधिक र व्यवस्थापकीय कमजोरी नै मुख्य रहेकोमा विद्यार्थी नेताहरू एकमत भए पनि उमेर हद लगाउने वा नलगाउनेबारे फरकफरक धारणा बनाइरहेका छन् । सम्मेलन स्थगित भएको सम्बन्धमा निवर्तमान उपाध्यक्षहरू पवन कार्की, मदन भूल, जीपी मैनाली, केशव रावल र नरेश रेग्मीसँग रातोपाटीका सम्वाददाता गणेश पाण्डेले कुराकानी गरेका छन् । प्रस्तुत छ, उनीहरूसँग गरिएको कुराकानीको सम्पादित अंशः

बन्दसत्रमा मुठभेडको स्थिति देखिएकाले स्थगित भयो : पवन कार्की

सम्मेलनको बेला अत्यधिक वर्षा भयो । त्यसले एकदुई दिन लम्बियो । त्यसपछि दुईदुई वटा चुनावी प्रक्रियामा जानुपर्ने भयो । नेतृत्व छनोट अगाडि उमेर हद पनि मतदान प्रक्रियाबाट टुङ्ग्याउने कुरा भयो । उमेर हदको विषय टुङ्ग्याएपछि नेतृत्व छनोट गर्न कम्तीमा पनि एक साता लाग्ने भयो । दसैँ आइसकेकाले त्यो सम्भव भएन । त्यो हिसाबले अहिलेलाई स्थगित गरेको हो ।

मुख्य कुरा, विधान प्रतिवेदनमाथिको छलफलमा उमेर हद सम्बन्धी विवाद उठ्यो । यसले हल विभाजित भयो । उमेर हद लाग्दा करिब ९ सय जना बाहिरिने अवस्थामा भयो, जो पदाधिकारीदेखि केन्द्रीय समितिका लागि उम्मेदवारका आकाङ्क्षी थिए । अर्कोपक्ष उमेर हद लगाउनुपर्छ भनिरहेका थिए । एकएक उमेर हद लगाएर उम्मेदवार नै बन्न नदिने कुरा जायज नभएको भन्दै जोडदार आवाज उठाए । यी दुई पक्षको अलि बढी घम्साघम्सी बन्ने स्थिति बन्यो ।

यस्तो अवस्थामा जबरजस्ती पेलेर जाने कुरा पनि सम्भव थिएन । जबरजस्ती पेल्नाले विगतमा अप्रिय घटना भएको रेकर्ड नै छ । उनीहरूलाई नपेली खुला गर्दा उमेर हद लाग्ने साथीहरूको सङ्ख्या पनि ठुलो थियो । त्यसकारण दुवै पक्षलाई पेलेर जाने स्थिति नबनेकाले स्थगित गरिएको हो ।

विधानमा जे लेखिए पनि कार्यविधिमा केन्द्रीय समितिमा रहेका साथीहरू अध्यक्ष बन्न सक्ने व्यवस्था छ । महाधिवेशन प्रतिनिधि सबैलाई खुला गर्ने विधिमा पनि छलफल गर्‍यौँ । तर हदबन्दी लगाउने समूहले सबैलाई खुला भन्दा पनि उमेर हद लगाउनुपर्नेमा बढी जोड दिनुभयो । त्यसैले सहमति भएन । उमेर पार गरेका साथीहरू अन्य मोर्चामा गएर काम गर्नुपर्छ । नियमित विद्यार्थीले संगठन हाँक्नुपर्छ । उनीहरू नहुँदा विद्यार्थीको एजेण्डा उठ्न सकेन भन्ने उमेर हद लगाउनुपर्नेको तर्क थियो ।

उनीहरूको प्रस्ताव उमेर पार गरेकाले सुन्ने कुरा भएन । मुठभेडमा जाने स्थिति बन्यो । त्यो सम्भावित मुठभेडको खतरालाई पनि अन्त्य गर्दै सम्मेलन स्थगित भएको हो । दसैँ–तिहारपछि विधानमाथि छलफल गरेर छुट्टै पारित गर्ने । त्यसपछि नेतृत्व चयनको प्रक्रियामा अगाडि बढाउने कुरा भएको छ ।

पार्टी अध्यक्षले उमेर हद लगाउनु, निर्वाचन प्रक्रियाबाट टुङ्ग्याउनोस् भनेर निर्देशन दिएको होइन । चार महिना अगाडि बसेको केन्द्रीय समिति बैठकमा उमेर हद लगाउनुपर्छ भन्ने समूहले जोडदार माग गरेको थियो । उमेर हदको विषय राष्ट्रिय सम्मेलनमा मतदानबाट गरिनेछ भनेर केन्द्रीय समितिले निर्णय गरेको थियो । अहिले आएर यो कुरा उठ्यो वा पार्टीले समस्या खडा गर्‍यो भन्ने कुरामा कुनै सत्यता छ जस्तो मलाई लाग्दैन ।

दोस्रो, पार्टीभित्र कसको बढी प्रभाव भयो वा कसको प्रभाव कम भयो भन्ने कुरा हामीले हेर्दा प्रभाव र दबाब हलमा देखिएन । बाहिरबाट सुन्दा केहीले उमेरको पक्षमा लबिङ गरिराखेको र केहीले विपक्षमा गरेको देखिन्छ । यसमा नेताहरू पनि जोडिएको कुरा आएका थिए । त्यो हल्लाको पुष्टि भएको छैन । प्रभावित पार्ने कुरामा कतै न कतै इन्ट्रेस्ट जोडिएको हुन सक्छ । संगठनलाई वास्तविक विद्यार्थीको बनाउनुपर्छ । उमेर हद लगाउनुपर्छ भन्ने अभियान हामीले नै थालेको हो । तर जहाँबाट अभियान थाल्नुपर्ने, त्यो भएन । अन्तिममा आएर त्यतातिर जान खोजियो । यसले समस्या आएको हो । सुरु इकाइ समितिबाट गर्नुपर्थ्यो ।

एकैपटक ३२ वर्षभन्दा सबै बिदा हुने, अर्कोपटक सबै खाली हुने स्थिति बन्दै थियो, त्यसले समस्या पैदा ग¥यो । खेल खेल्ने बेला एउटा नियम बनाइयो । तर फाइनलमा पुग्दा खेलाडी नै परिवर्तन गर्ने स्थिति पैदा भयो । इकाइमै ३५ वर्षका छन् । प्रदेशमा आउँदा ४० वर्षका छन् । उनीहरूलाई तलै रोक्न सक्नुपर्थ्यो । प्रतिनिधिनै बनेर आइसकेपछि बन्देज हुने हो कि भन्ने खालको कुराले बढी तरङ्गित भयो । पार्टीका नेताहरूले क–कसलाई समर्थन गर्छन्, त्यो उनीहरूको कुरा भयो । तर नेतृत्व छनोट प्रक्रिया सम्मेलनमा आएका प्रतिनिधिबाट टुङ्ग्याउने भन्ने थियो । पार्टीको कमजोरीलाई देखाएर पन्छिन मिल्दैन ।

पार्टी पदाधिकारीलाई मुछ्न मिल्दैन : जीपी मैनाली

पार्टीको कमजोरी होइन, हाम्रो हो । हामीले सम्मेलन गराउन सकेनौँ । यसको जिम्मा हामी लिन्छौँ र लिनुपर्छ । उत्तरदायी बन्नुपर्छ, बन्छौँ । यो कार्यालय टोलीको असफलता हो । पार्टी नेतृत्वले हलबाट निर्णय लिन सुझाव दिएको थियो । तर हलमा पुग्दा हामी नै विभाजित भएपछि समस्या आएको हो । पार्टी यसपटक सबैभन्दा बढी लोकतान्त्रिक भयो भन्ने मेरो बुझाइ छ । यसमा पार्टी पदाधिकारीलाई मुछ्न मिल्दैन ।

नेतृत्व छनोटमा पार्टी नेतृत्वको इन्ट्रेस्ट छैन भनेर भन्न सकिँदैन । सबै नेताहरूका आ–आफ्ना मान्छे हुन सक्छन् । प्रचण्ड वा खुमलटारले चुनाव रोक्न चाहेकोजस्तो लाग्दैन । संगठनमा गुटगत प्रभाव छैन भन्ने अवस्था छैन । गुट खारेज गरौँ भन्दाभन्दै पनि नेताहरूको प्रभाव देखिएका छन् । गुटविनाको पार्टी नहुँदो रहेछ । गुटको प्रभावको कारण सम्मेलन रोकियो भन्न मिल्दैन ।

पार्टीले पहिलोपटक अहस्तक्षेप नीति लिएको मेरो अनुमान छ । सबै विकल्पमा आफैँले निर्णय गर्न निर्देशन दिएको थियो । पार्टीले ‘जे निर्णय गरेको छ, त्यही मानेर जानोस्’ भनेको हो ।

अहिलेको अप्ठ्यारो परिस्थितिमा केन्द्रीय सदस्यबाट निर्वाचित भएर नेतृत्वमा आएमा हजारौँ विद्यार्थीलाई हाँक्न सक्छन् भन्ने देखिँदैन । संगठन हाँक्न अनुभव पनि चाहिन्छ । अहिले पदाधिकारी बाहेक नेतृत्वका लागि टिम तयार भएजस्तो मलाई लाग्दैन । त्यसका लागि खारिएको नेतृत्व चाहिन्छ । पार्टीको निर्णय लिएर हलमा जाँदा हामी विभाजित भयौँ । उमेर हद लगाउनुभन्दा पनि खुला प्रतिस्पर्धाबाट जोसुकै आउने वातावरण बनाउनुपर्छ ।

पार्टीको निर्देशनमा स्थगित भएको हो : मदन भूल

सम्मेलन समयमै सम्पन्न हुने सोचेका थियौँ । निर्वाचन आयोगले निर्वाचन सम्पन्न गर्न पाँच दिनको समय चाहिन्छ भन्यो । दसैँ सुरु भएकाले त्यो सम्भव भएन । यसैकारण अहिले स्थगित गर्ने र दसैँ–तिहारपछि सुरु गर्ने सहमति भयो । स्थगित गर्न पार्टीले नै निर्देशन दिएपछि अगाडि बढ्न सम्भव भएन ।

मुख्य कुरा, पार्टीभन्दा पनि समयको सीमाले गर्दा सम्भव भएन । निर्वाचनमा जाँदा वा उमेर हद नलगाउँदा पनि माहोल राम्रो थियो । सम्मेलन गर्न हामी तयार थियौँ । पार्टीका कारण स्थगित भएको हो । हामीले सुरुदेखि उठाएको माग पहिला विधान सम्मेलन हो । पार्टीले एकैपटक गरौँ भन्यो । पछि नेतृत्वको भोटिङ गरौँ भन्ने भयो । यसले अन्योलता सिर्जना भयो । अब के गर्ने भन्नेबारे ठोस निष्कर्षमा पुगेका छैनौँ । पार्टीसँग सल्लाह गरेर हामी अगाडि बढ्छौँ ।

सम्मेलन स्थगित हुनुमा बहुआयमिक कारण छन् : नरेश रेग्मी

सम्मेलन स्थगित हुनुमा बहुआयमिक कारण छन् । एउटामात्रै कारण छैन । पहिलो, संगठनमा नेता धेरै भएर हो । ठुलो कमिटी हुँदा सबैको चाहना पूरा गर्न सकिँदैन । राष्ट्रिय सम्मेलन विशुद्ध नेतृत्व छनोटका लागि मात्र माध्यम जस्तो बन्यो । कसरी नेता बन्ने र हत्याउने भन्नेमात्र होड चल्यो । विद्यार्थी संगठनबाट हेर्दा यो होला ।

अर्को, लामो समयदेखि सम्मेलन हुन सकेन । भद्रगोलबाट गुज्रिराखेका थियौँ । समानान्तर समिति गठन हुँदा एक अर्कालाई विश्वास गर्ने वातावरण अझै बनेको छैन । बाढी पहिरोले गर्दा त्यसै ढिला भयो । लामो समय एउटा रेसियोमा गएको संगठन बिचमा आएर एकैपटक उमेर हदको विषय आयो । तल्ला कमिटी उमेर हदविना चयन गर्‍यौँ । एकैपटक उमेर हद लाग्दा समस्या भयो । सिनियर साथीहरू तल बस्ने र जुनियर साथीहरू माथि हुने स्थिति बन्यो । चापाचापमा जिल्ला सम्मेलन गर्दै आउँदा समय अपुग भयो । भद्रगोलमा निर्वाचन हुँदा कसले जित्ने, नजित्ने भन्ने प्रस्ट भएन ।

पार्टीलाई दोष दिएर पन्छिने अवस्था छैन : केशव रावल

जिम्मेवारीको हिसाबले हामीले यसको जिम्मा लिनुपर्छ । पार्टीलाई दोष दिएर पन्छिने अवस्था छैन । कार्यालयको व्यवस्थापकीय कमजोरी हो । स्वाभाविक हिसाबले पार्टीका रुचि हुन्छन् । स्वाभाविक रूपमा पार्टी नेतृत्वसँग जोडिन्छ । मुख्य कमजोरी हाम्रो हो । समयमै प्रतिनिधि व्यवस्थापन, कार्यसूची बनाउन सकेनौँ । त्यसले अन्योल सिर्जन भयो । सबैभन्दा कमजोरी समयको हो । जुन समयमा सम्मेलन राखियो, त्यो समय भ्याउने अवस्था थिएन । प्रतिनिधि छनोट र अन्य व्यवस्थापकीय कामकाज समयमै गर्न सकेनौँ ।

असोज २ गतेसम्म हामीले जिल्ला सम्मेलन गर्न सकेका थिएनौँ । प्रतिनिधि छनोट कतै हुन सकेको थिएन । थोरै समयसीमा राखेर प्रतिनिधि छनोट गर्न निर्देशन दियौँ । त्यसले प्रतिनिधि छनोटमा ढिलाइ हुन गयो । सहमति पनि हुन नसक्ने, निर्वाचित पनि हुन नसक्ने स्थिति भयो । बल्लतल्ल प्रतिनिधि टुङ्गियो, फेरि उमेर हद विवादले प्रवेश पायो । उमेर हदको विषयमा दुईपक्ष बिच विवाद उत्पन्न भयो ।

झण्डै ८/९ सय प्रतिनिधि उमेर हद लगाउँदा बाहिरिने अवस्था थियो । नलगाउँदा मान्ने अवस्था थिएन । उमेर हद लगाउँदा सबै जिल्ला र प्रदेश अधिवेशनमा उमेर हद लगाइएको थिएन । जुनियरले सिनियरलाई चलाउने जस्तो परिस्थिति बन्न जाने भयो । उमेर हद लाग्ने र नलाग्नेबिच द्वन्द्वको स्थिति सिर्जना भयो । उमेर हद लगाउँदा भर्खरै निर्वाचित भएका समितिलाई अस्वीकार गरेकोजस्तो भयो । विकल्पमा पदाधिकारीमात्र अध्यक्षको उम्मेदवार बन्न पाउने व्यवस्था हटाउनेबारे छलफल भएको थियो । त्यसमा पनि सहमति भएन ।

मुख्यतः विधानमै समस्या भयो । कार्यालय र व्यवस्थापकीय समस्या थियो । हामीले चाहेरमात्रै हुने अवस्था पनि थिएन । सबै तहले जिम्मेवारी लिनुपर्छ । जेठमा बसेको बैठकले मंसिरमा राष्ट्रिय सम्मेलन गर्ने र असोजमा विधान अधिवेशन गर्ने भनिएको थियो । कार्यालयका केही साथीले सम्मेलन असोजमै गर्नुपर्छ भन्नुभयो । तीन महिनाको समयमा आधारभूत भेला, जिल्ला भेला र प्रदेश भेला गरेर प्रतिनिधि छनोट गर्न असाध्यै चुनौती थियो । एकदिन पनि आराम गर्ने दिन भएन । पार्टी नेतृत्वको साथसाथै विद्यार्थीको कार्यालय पनि विभाजित थियो ।

म लगायत ९ जना पदाधिकारी साथीहरूले १८ गतेसम्म विद्यार्थीको परीक्षा भएको र चाडपर्व नजिकिएकाले दसैँअघि सम्मेलन सम्भव छैन भनेर पार्टी नेतृत्व समक्ष प्रस्ताव राखेका थियौँ ।

अर्को कुरा, आर्थिक, प्रतिनिधि, मञ्च व्यवस्थापनको तयारी भएको थिएन । त्यतिबेला पार्टीको निर्णय मानेर जान सुझाव आयो । तर हामीले लिखित असहमति जनायौँ । फेरि अध्यक्ष प्रचण्डले बोलाएर निर्णय मानेर जान सुझाव दिएपछि अस्वीकार गर्न सकिएन ।

बन्दसत्र सञ्चालन भएको पाँचौँ दिनसम्म पनि प्रतिनिधि फाइनल गरेर निर्वाचन समितिमा पठाउन सकिएन । सम्मेलन सही ढङ्गले व्यवस्थापन गर्न नसक्दा लज्जाबोध भएको छ । समयमै सम्पन्न गर्न खोज्दाखोज्दै पनि सकेनौँ । त्यसले नेतृत्व क्षमतामाथि प्रश्न उठ्ने नै भयो । अहिलेकै प्रतिनिधि कायम गर्ने गरी सम्पन्न गर्ने सहमति गरेका छौँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप