शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

उपचार गर्न भारत गएको बेला राप्रपा महामन्त्रीको संगठन विभाग प्रमुख जिम्मेवारी खोसियो

बिहीबार, १७ असोज २०८१, १९ : ४०
बिहीबार, १७ असोज २०८१

काठमाडौँ । राप्रपाका महामन्त्री डा धवलशमशेर राणाको संगठन विभाग प्रमुखको जिम्मेवारी खोसिएको छ । अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरूको जिम्मेवारी हेरफेर गर्दा राणालाई संगठन विभागबाट हटाएका हुन् । उनी आन्दोलन परिचालन समितिको संयोजक रहेकाले त्यहाँमात्रै केन्द्रित गर्नका लागि जिम्मेवारी हेरफेर भएको दाबी गरिएको छ । 

उनको ठाउँमा उपाध्यक्ष बुद्धिमान तामाङलाई ल्याइएको छ । यसअघि तामाङ राजनीतिक विभाग प्रमुख थिए । अहिले राजनीतिक विभाग प्रमुखको जिम्मेवारी अर्का उपाध्यक्ष रवीन्द्र मिश्रलाई दिइएको छ । 

यसैगरी स्थानीय तह परिचालन समितिमा ध्रुवबहादुर कार्कीलाई जिम्मेवारी दिइएको छ । यसअघि सो विभागको प्रमुखमा उपाध्यक्ष रोशन कार्की रहेपनि उनलाई जिम्मेवारीबाट हटाएर प्रधानलाई दिइएको हो । 

यसअघि प्रधान प्रशिक्षण विभागमा थिए । सो विभाग भने हाललाई खाली नै रहेको र छिट्टै मनोनयन प्रक्रिया टुंग्याइने प्रवक्ता मोहन श्रेष्ठले बताए । श्रेष्ठले अध्यक्ष लिङ्देनले पार्टीको विधान बमोजिम उल्लेखित विभाग प्रमुखहरूको जिम्मेवारी हेरफेर र केही विभागका प्रमुखहरूको मनोनयन गरेको जानकारी दिए । 

‘संगठन विभागको प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ, स्थानीय तह परिचालन विभागको प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष ध्रुव बहादुर प्रधान, राजनीतिक विभागको प्रमुखमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, पर्यटन विभागको प्रमुखमा सहायक महामन्त्री विजय खड्का, विपद् व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धव थापा, सूचना प्रविधि विभाग (आइटी) को प्रमुखमा केन्द्रीय सदस्य उद्धवराज भेटुवाल र लेखा समितिको प्रमुखमा केन्द्रीय सदस्य केदार न्यौपाने रहनुभएको छ’, उनले बिहीबार साँझ जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

राणालाई संगठन विभाग प्रमुखबाट हटाएको विषयमा राप्रपाभित्र असन्तुष्टि देखिएको छ । पर्याप्त छलफल बिनै उपचार गर्नका लागि भारत गएको बेला अध्यक्षले जिम्मेवारीबाट हटाउने आपत्तिजनक भएको लिङ्देन इतरका एक नेताले प्रतिक्रिया दिए । राप्रपाका निर्वाचित केन्द्रीय सदस्य जनकराज पाठकले पनि यो निर्णयबारे अर्को बैठकमा कुरा उठाइने बताए । ‘कार्य सम्पादन समितिको बैठक बसेको पनि थाहा छैन । कुन तहबाट स्वीकृत भयो त्यो पनि थाहा छैन । यसविरुद्ध अर्को बैठकमा कुरा उठ्छ’, उनले भने। 

राणा हाल उपचारका लागि भारतमा रहेका छन् । भारतमा रहेकै बेला बिना छलफल उनलाई हटाइएको विषय पार्टीभित्र बहसको विषय बनेको छ । ‘दाँतमा क्यान्सरको समस्या देखिएपछि उहाँ उपचारका लागि अहिले भारतको बम्बईमा हुनुहुन्छ’, एक नेताले भने,‘पार्टीमा योगदान र मिहिनेत गरेको मान्छे, जसले लिङ्देनलाई अध्यक्ष बनाउन भूमिका खेल्यो । उसलाई नै उपचार गर्न अस्पतालमा भएको बेला हटाइनु निरंकुशताको पराकाष्टा हो ।’

राप्रपाभित्र २०८२ मंसिरमा महाधिवेशन गर्ने चर्चा भएसँगै पार्टीभित्र प्रतिस्पर्धा बढेको छ । राणाले आगामी महाधिवेशनमा लिङ्देनलाई टक्कर दिने तयारी थालेपछि  लिङ्देनले राणालाई ‘साइज’मा ल्याउन संगठन विभाग प्रमुख नै परिवर्तन गरेको बताइएको छ । अघिल्लो महाधिवेशनमा राणाकै बलियो समर्थनमा लिङ्देन अध्यक्ष बनेपनि पछिल्लो समय दुई नेताबिच दूरी बढेको नेताहरू बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप