बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय
प्राकृतिक विपत‍्

अवरुद्ध राजमार्ग दसैँअघि नै खुलाउन कस्तो छ सरकारको तयारी ?

बिहीबार, १७ असोज २०८१, १८ : ४८
बिहीबार, १७ असोज २०८१

काठमाडौँ । सरकारले बाढी पहिरोका कारण क्षतिग्रस्त देशभरका सडक खुलाउने सम्बन्धमा कार्ययोजना प्रस्तुत गरेको छ । बिहीबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्दै देशभरका राजमार्गमा भएका अवरोध एवं त्यसलाई खुलाएर यातायात सञ्चालनलाई सुचारु बनाउनेबारे कार्ययोजना प्रस्तुत गरेको हो । 

मन्त्रालयका अनुसार शुक्रबारदेखिको अविरल वर्षाको कारणले देशभर ३४ वटा राजमार्गहरूका ८०५ स्थानमा पहिरो गई सडक अवरुद्ध भएका थिए । त्यसमध्ये ७७४ स्थानको पहिरो हटाएर २९ वटा राजमार्गमा यातायात सञ्चालनमा ल्याइएको छ । बाँकी पाँच राजमार्ग भने सञ्चालनमा आउन बाँकी रहको मन्त्रालयले जनाएको छ । 

यसरी पूर्ण रूपमा सञ्चालनमा आउन बाँकी राजमार्गहरूमा बिपी राजमार्ग, अरनिको राजमार्ग, पुष्पलाल (मध्यपहाडी) राजमार्ग, कान्ति राजपथ र मेची राजमार्ग रहेका छन् । ती राजमार्गका ३१ स्थानको पहिरो पन्छाउन र भासिएको ठाउँमा वैकल्पिक व्यवस्था गर्न समय लागेको कारण यातायातसञ्चालनमा आउन नसकेको मन्त्रालयका सचिवकेशवकुमार शर्माले जानकारी दिए । 

‘यसका लागि कतिपय स्थानमा पहिरो हटाउनुका अतिरिक्त कटिङ, फिलिङ, टेवा, पर्खालका साथै ह्युमपाइप र अस्थायी प्रकृतिको बेलिब्रिज समेत राखेर यातायात सञ्चालन गर्नुपर्ने अवस्था छ,’ उनले भने । 

राजमार्गमा गएको पहिरोका कारण के–कति क्षति भयोभन्ने यकिन विवरण आइनसकेको सचिव शर्माले बताए । उनकाअनुसार क्षतिको विस्तृत विवरण सङ्कलनको काम जारी जै रहे पनि प्रारम्भिक अनुमान अनुसार सडक तथा पुलतर्फ अस्थायी यातायात चालु गर्न मात्रै अढाइदेखि तीन अर्ब रुपैयाँ लाग्नेछ । क्षति भएका सम्पूर्ण संरचना स्थायी रूपमा पुनर्निर्माण गर्न भने २० देखि २५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको उनको भनाइ छ । 

राजमार्गमा कसरी हटाइँदैछ अवरोध ?

सचिव शर्माका अनुसार अरनिको राजमार्ग काठमाडौँदेखि लार्चासम्म यातायात सञ्चालनमा आएको छ । लार्चामा एउटा पुल बगेको कारण लार्चादेखि कोदारी राजमार्ग ५ किलोमिटर अवरुद्ध छ । लिपिङमा एउटा पुल बगाएको छ । बेलिब्रिज बगाएका कारण यातायात अवरुद्ध लार्चामा ह्युम पाईप/पेनस्टक पाइप र लिपिङमा बेलिब्रिज जडान गरी यातायात सञ्चालन गरिने तयारी रहेको छ । 

यसैगरी,बिपी राजमार्ग अन्तगर्तको चौकीडाँडा–कालढुंगा १८ किलोमिटर सडकमध्ये करिब १२ किलोमिटर सडक पूर्णरुपमा बगेको छ ।यो खण्डमा दुवै तर्फबाट पहिरो सफा गर्ने कार्य भइरहेको छ । रोशी खोलाको पानीको वहावलाई मध्यनजर गरी सम्भव भएसम्मका सबै विकल्पहरु प्रयोग गरी अस्थायी रूपमा यातायात सञ्चालन गरिने तयारी गरिएको सचिव शर्माले बताए । 

पुष्पलाल (मध्यपहाडी) राजमार्ग दोलालघाट–राकथुम ८० किलोमिटर यस खण्डका धेरै ठाउँमा पहिरो गई सडक समेत ‘वासआउट’ भएको छ ।दुवै तर्फबाट पहिरो पन्छाउने काम भइरहेको छ । सडक सफा गरी वर्दिबासबाट बिपी राजमार्ग भएर आउने सवारी साधनलाई दोलालघाट हुँदै काठमाडौ प्रवेश गराइने तयारी छ । 

कान्ति राजपथअन्तर्गत  घपेली–बगुवा खण्डमा बाढी पहिरोले १३ किलोमिटरसडक अवरुद्ध छ भने बाग्मती पुलको दायाँबायाँको एप्रोच बगाएको छ । यस खण्डमा पनि मकवानपुर तथा ललितपुर दुवै तर्फबाट पहिरो सफा गर्ने काम भइरहेको छ । बाग्मती पुलको एप्रोच छिटो भन्दा छिटो निर्माण गरी सवारी साधन सुचारु गराइने सचिव शर्माले बताए । 

यस्तै,मेचीराजमार्ग अन्तर्गत रमिते– फिदिम ८ किलोमिटर सडक भत्किएको छ । हेवा पुल बगाएको छ । हेवाखेला पुल सहित रमिते डाँडाको पहिरो हटाउने काम भइरहेको र हेवा खोलामा अस्थायी डाईभर्सन निर्माण गरी यातायात सञ्चालन गरिने तयारी गरेको छ ।

सुनकोसी र हेवाखोलामा बेलिब्रिज राखिने

बाढी तथा पहिरोले ८ वटा पुलमा क्षति पुगेको छ । जसमध्ये २ स्थानमा सरकारले  बेलिब्रिज जडान गर्ने भएको छ । 

अविरल वर्षासँगै आएको सुनकोशीको बाढीले खुर्कोटको मन्थली जोड्ने ५० मिटर लामो पुल बगाएको थियो । त्यहाँ ५० मिटर लामो  बेलिब्रिज जडान गर्ने भएको सचिव शर्माले जानकारी दिए । ‘सरकारले उपलब्ध गराउने र यसको जडानको जिम्मा नेपाली सेनालाई दिने तयारी छ,’उनले भने । यसैगरी, लार्चाको हेवाखोलामा बेलिब्रिज राखेर यातायात सञ्चालन ल्याउने तयारी भएको उनको भनाइ छ । 

सगरमाथा राजमार्गको अन्तर्गत खोटाको  फोक्सिङटारपुल ८० मिटरको स्पान सुनकोशीले बगाको कारण ८० मिटरको बेलीब्रिज नभएकाले बेलिब्रिज दसैँ अघि  जडान गर्न नसक्ने जानकारी दिए । 

‘८० मिटरको नभएको हुनाले त्यहाँ बेलिब्रिज राख्न सम्भव भएन । अहिले ४८.५ मिटरभन्दा लामो बेलिब्रिज छैन,’ उनले भने, ‘हामीसँग अहिले ८/१० वटा बेलिब्रिज छ । अहिलेको अवस्थामा ५÷६ वटा प्रयोगमा जान सक्छन् ।’ 

यी हुन क्षति पुगेका ८ पुल र सञ्चालनको योजना 

ff

बिपी राजमार्ग दसैँअघि सञ्चालन नहुने

मन्त्रालयले बिपी राजमार्ग दसैँ अघि सञ्चालनमा ल्याउन नसकिने प्रष्ट पारेको छ । मन्त्रालयका सचिव शर्माकाअनुसार तत्काल अस्थायी रूपमा मात्रै सञ्चालनमा ल्याउन सकिने देखिएको आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

उक्त राजमार्ग चौकीडाँडा–कालढुंगा सडक खण्ड १८ किलोमिटर सडकमध्ये करिब १२ किलोमिटरसडक पूर्णरुपमा बगेका कारण यो सडक तत्काल मर्मत गर्न नसकिने देखिएको छ ।बाटो अवरुद्ध हुँदाबीचबीचमा सवारी साधनहरु रोकिएका छन् । यी सवारीसाधनलाई गन्तव्यमा पुर्याउने गरी मात्रै काम अघि बढिरहेको सचिव शर्माले बताए । 

‘यो खण्डमा दुवै तर्फबाट पहिरो सफा गर्ने कार्य भइरहेको छ । रोशी खोलाको पानीको बहावलाई मध्यनजर गरी सम्भव भएसम्मका सबै विकल्प प्रयोग गरी अस्थायी रूपमा यातायात सञ्चालन गरिने तयारी गरिएको छ,’ सचिव शर्माले भने ।

बाढी तथा पहिरोले राजमार्ग क्षतिग्रस्त भएपछि पूर्वबाट आउने गाडीहरू बिपी राजमार्गमा सित्खासम्म आउने र पुल तरेर रामेछापको मन्थली र दोलखाको चरिकोट भएर काठमाडौँ आउने विकल्प खोजिएको थियो । सित्खाबाट मध्यपहाडी राजमार्गबाट दोलालघाट आउने र अरनिको राजमार्गबाट काठमाडौँ आउने रुट तुलनात्मक रूपमा छोटो पर्ने देखिएको शर्माले बताए ।

त्यस्तै, पूर्व जाने गाडीहरूका लागि कान्ति राजपथ रदक्षिणकाली छैमले सडक विकल्प रहेको उनले बताए । भौतिक पूर्वाधार सचिव शर्माले भने, ‘यो बाटोबाट हेटौंडा र त्यहाँबाट मकवानपुरको भिमान पुग्न सकिन्छ । सिन्धुली उक्लिएर अन्यत्र जाँदा भयो ।’ भोलि वा पर्सिसम्म कान्ति राजपथ र दक्षिणकाली छैमले सडक सञ्चालन गर्ने प्रयासका साथ काम भइरहेको उनले बताए ।

काठमाडौँबाट नौबिसे हुँदै हेटौंडा जाने बाइरोडको बाटो अहिले सञ्चालनमा छ । त्यस्तै थानकोट –चित्लाङ भएर पनि हेटौंडा जोड्ने सडकमा समेत अवरोध नरहेको मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप