बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
कृषि

फ्रान्सबाट १० हजार अन्डा ल्याएर सुरु गरिएको कालिज फार्म

बिहीबार, १७ असोज २०८१, १७ : १९
बिहीबार, १७ असोज २०८१

काठमाडौँ । मासुका पारखीमध्ये धेरैलाई मन पर्ने तर सहजै पाउन नसक्ने पन्छी हो, कालिज । अचेल भने हामीकहाँ कालिजपालनको व्यवसाय गर्ने बढेका छन् र मासुका पारखीलाई केही हदसम्म सहज भएको छ । 

सुशील भट्टराई देशमै पहिलोपटक कालिजपालन सुरु गर्ने व्यवसायी हुन् । करिब डेढ करोड लगानी गरेर कालिज र कुखुरापालन सुरु गरेका सुशीलले यतिखेर वार्षिक १५ देखि २० लाख रुपैयाँ आम्दानी गर्छन् । आजको अवस्थासम्म आइपुग्न उनले धेरै उकाली–ओराली पार गर्नुपर्‍यो । 

अनुमति लिनै लाग्यो सात महिना

कालिजको व्यावसायिक पालन गर्न सुरुमा उनले वन मन्त्रालय, कृषि मन्त्रालय र साइटिस (संकटापन्न एवं लोपोन्मुख वन्यजन्तु तथा वनस्पतिको अवैध रूपमा हुने ओसारपसार र व्यापारलाई नियमन गर्न बनेको संस्था) को अनुमति लिनुपर्‍यो । यसका लागि उनले सात महिना धाए । 

‘वन मन्त्रालयबाट यसको अनुमति लिने प्रक्रिया सुरु हुँदो रहेछ,’ सुशील भन्छन्, ‘पहिलोपटक विदेशबाट कालिज ल्याउने भएकाले सात महिनाजति त लाइसेन्स (अनुमति) लिनै लाग्यो ।’ 

सन् २०१८ मा उनले साथीहरुसँग मिलेर कालिजपालनका लागि ‘एभरेस्ट वाइल्ड लाइफ एग्रो एन्ड रिसर्च सेन्टर प्रालि’ नाममा अनुमति लिएका थिए । हाल उनले ‘हिमालय वाइल्ड लाइफ एग्रो एन्ड रिसर्च सेन्टर प्रालि’ नामबाट कालिज र कुखुरा पालिरहेका छन् । 

दक्षिणकाली नगरपालिकाको वडा ४ र ३ मा रहेको २४ रोपनी जग्गा भाडामा लिएर उनले कालिज र कुखुराको फार्म सञ्चालन गरेका छन् । १७ रोपनीमा कालिज (१५०० वटा) र सात रोपनीमा स्थानीय कुखुरा (१२०० वटा) छन् । यो जमिनको भाडा उनले वार्षिक डेढ लाख तिनुपर्छ ।

final kalij and kukhura (5)

फ्रान्सबाट १० हजार अन्डा

६ वर्षअगाडि (सन् २०१८ मा) उनले फ्रान्सबाट १० हजार अन्डा ल्याएर यसको व्यवसाय सुरुका गरेका हुन् । १६ लाख रुपैयाँ तिरेर ल्याएको १० हजार अन्डाबाट मात्र तीन हजार चल्ला निस्किए । पाल्ने क्रममा तीमध्ये पनि एक हजार चल्ला मरे । हुर्किएका दुई हजार कालिजमध्ये केहीलाई बेचे र केहीलाई अन्डा उत्पादनका लागि राखे । त्यसपछि मात्रै मासु उत्पादनका लागि उनले कालिज पाल्न थालेका हुन् । 

‘कालिजका ५२ प्रजाति हुँदा रहेछन् । तीमध्ये घर–पालुवामा पर्ने प्रजाति हामीले ल्याएका हौँ । अन्डा उत्पादनका लागि १० पोथी कालिज बराबर एउटा भाले कालिज राख्छौँ । उत्पादन हुँदा पोथी–भाले बराबरजस्तै हुन्छन्,’ उनी भन्छन्, ‘भाले मासुका लागि बेच्छौँ र पोथीलाई अन्डा उत्पादनका लागि राखिन्छ ।’

‘कालिजका ५२ प्रजाति हुँदा रहेछन् । तीमध्ये घर–पालुवामा पर्ने प्रजाति हामीले ल्याएका हौँ । अन्डा उत्पादनका लागि १० पोथीबराबर एउटा भाले राखिन्छ । उत्पादन हुँदा पोथी–भाले बराबरजस्तै हुन्छन् । भाले मासुका लागि बेच्छौँ र पोथीलाई अन्डा उत्पादनका लागि राखिन्छ ।’ 

अन्डाका लागि राखेका कालिजबाट दोस्रो लटमा करिब आठ हजार कालिज मासुका लागि तयार भएका थिए । तर कोरोना महामारीका बेला उनले पालेका कालिजलाई पनि अज्ञात रोग लाग्यो र उनले करिब दुई करोड रुपैयाँ बराबरको क्षति बेहोर्नुपर्‍यो । 

‘कालिजलाई रोग मात्रै लागेन, यता दानाको समस्या भयो र अधिकांश कालिज मरे,’ उनी भन्छन्, ‘बिमा गर्ने सरकारको कुनै नीति थिएन, त्यतिबेला दुई करोडजति घाटा भयो ।’

चल्ला बेच्ने अनुमति लिनै लाग्यो दुई वर्ष

सुरुवाती चरणमा उनले कालिजका चल्ला उत्पादन गरे पनि बेच्नका लागि सरकारले अनुमति दिएको थिएन । सरकारसँग अनुमति लिन उनले दुई वर्ष धाउनुपर्‍यो । ‘कालिजको मासु रेस्टुरेन्ट र मासुपसलमै जान्थ्यो, तर चल्ला बेच्ने अनुमति सरकारले दुई वर्षपछि दियो,’ उनी भन्छन्, ‘त्यो अवधिमा १६ देखि १७ हजार कालिज उत्पादन भइसकेका थिए ।’ 

Final kalij and kukhura (26)

कोरोना महामारी, दानाको समस्या, कालिजलाई लागेको रोग र सरकारी निकायबाट असहयोग आदि कारण उनले डेढ वर्ष कालिज फार्म नै बन्द गर्नुपर्‍यो । देशको अर्थतन्त्र तंग्रिएसँगै उनले पनि कालिज र स्थानीय कुखुरा पाल्न सुरु गरे । 

अहिलेसम्म उनले करिब १६ हजारको हाराहारीमा कालिजका चल्ला बेचेका छन् । उनले एउटा कालिजलाई दुई हजारदेखि दुई हजार ५०० रुपैयाँसम्ममा बेच्ने गरेका छन् । यस्तै, लोकल कुखुरा प्रतिकिलो सात सय रुपैयाँका दरले बिक्छ । ‘हाम्रो फार्ममा आएर उपभोक्ताले छानी–रोजी लोकल कुखुरा लैजान सक्नुहुन्छ,’ उनी भन्छन्, ‘एउटा कुखुरा करिब दुई केजीको हाराहारीमा छ, १५ सय रुपैयाँ जति पर्न जान्छ ।’

व्यवसायमा नयाँपन ल्याउन उनी मृगपालनको सोच बनाएका छन् । लोकल कुखुरालाई ‘बधियाँ’ बनाएर (प्रजनन क्षमता रोकेर) बेच्ने तयारीमा छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप