बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय
व्यस्त सडक

काठमाडौँबाट मुग्लिन पुग्नै ६ घण्टा

सवारीको चाप बढेपछि ट्रक र टिपर सञ्चालनमा रोक लगाउने तयारी
बिहीबार, १७ असोज २०८१, १६ : ००
बिहीबार, १७ असोज २०८१

काठमाडौँ । दसैँ सुरु भएसँगै काठमाडौँबाट घर फर्किने यात्रुको चाप बढेको छ । यससँगै मुग्लिन–नारायणगढ सडक अहिले व्यस्त बनेको छ ।

अघिल्लो साता निरन्तर परेको वर्षाका कारण बाढी–पहिरोले काठमाडौँ उपत्यका जोड्ने धेरैजसो राजमार्ग अवरुद्ध छन् । विभिन्न स्थानमा खसेको पहिरोको कारण बीपी राजमार्ग, फर्पिङ र कान्ति लोकपथ हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि चल्न सकेका छैनन् ।

काभ्रेपलाञ्चोकको विभिन्न स्थानमा रोशी खोलाले सडक कटान गरेका कारण बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । नेपालको पूर्वतर्फका अधिकांश जिल्ला जोड्ने बीपी राजमार्ग अवरुद्ध हुँदा अहिले मुग्लिन–नारायणगढ सडकमा सवारी साधनको चाप बढेको छ ।

सवारीको चाप बढेसँगै अत्यधिक जाम हुन थालेको छ । कलंकीदेखि मुग्लिनसम्म पुग्न सामान्यतया ४ घण्टा लाग्थ्यो, अहिले ६ घण्टाभन्दा बढी लाग्ने गरेको यातायात व्यवसायी बताउँछन् ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरले सवारीको चाप बढेकाले वैकल्पिक मार्ग प्रयोग गर्न सरकारले सहजीकरण गरिदिनुपर्ने बताए ।

‘विपद्को घडीमा वैकल्पिक मार्ग प्रयोग गरेर यात्रा गर्न तथा जुनसुकै राजमार्गबाट पनि गन्तव्यमा पुग्न सकिने भएको छ । तर सबैजसो राजमार्ग अवरुद्ध हुँदा वैकल्पिक मार्ग भएर जान सक्ने अवस्था नरहेकाले सरकारले छिटोभन्दा छिटो अवरोध हटाउनु पर्छ,’ उनले भने ।

स्वाँरका अनुसार दसैँका लागि हालसम्म ६ लाखको हाराहारीमा टिकट बुक भइसकेको छ । यी यात्रुलाई सहजीकरण गरेर गन्तव्यमा पुर्‍याउन पहल गरिरहेको उनले बताए ।

‘कसरी सहज तरिकाले लैजानेबारे पहल गरिरहेका छौँ । सरकारलाई पनि छिटोभन्दा छिटो सडक मर्मत गर्न आग्रह गरेका छौँ,’ उनले भने ।

कति यात्रु बाहिरिए ?

नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएपछि १४ गतेदेखि १७ गते बिहान ६ बजेसम्म ८ हजार ६७२ साना, ठुला सवारी बाहिरिएका छन् भने ती सवारीमा ७६ हजार ४९८ यात्रु बाहिरिएका छन् । 

यस अवधिमा ७ हजार २३० सवारीमार्फत ५१ हजार ७१० यात्रु राजधानी भित्रिएका छन् । राजधानी भित्रिएका सवारी साधनमा बसको सङ्ख्यामात्र एक हजार १८९ छ । ती बसबाट ३४ हजार ९४७ यात्रु भित्रिएका छन् । यसैगरी ३ हजार ५६० ट्रकमार्फत ७ हजार १७३ जना, एक हजार १९९ साना सवारीमार्फत् ७ हजार २६५ जना र एक हजार २८२ वटा मोटरसाइकलबाट २ हजार ३२५ यात्रु राजधानीमा प्रवेश गरेको तथ्याङ्क छ ।

बाहिरिएका सवारी साधनमा बसको सङ्ख्यामात्र १ हजार ५०६ छ । ती बसमा ५६ हजार ९५६ यात्रु बाहिरिएका छन् । यस्तै, ३ हजार ५९२ ट्रकमार्फत ७ हजार ७९४ यात्रु बाहिरिएका छन् । समीक्षा अवधिमा १ हजार २४९ साना सवारीमार्फत ८ हजार २४८ जना, २ हजार १२५ मोटरसाइकलबाट ३ हजार ४६४ यात्रु बाहिरिएका छन् ।

नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत धादिङको जोगिमारा सडक २० मिटर भासिएको छ । पृथ्वी राजमार्गमा बेनीघाट रोराङ गाउँपालिका–५ मा कृष्णभीर नजिकैको सडक एकतर्फी सञ्चालनमा आएको छ । यस्तै चितवनको इच्छाकामना गाउँपालिका–९ को मुग्लिन ९ किलोमा सडक भासिएको ठाउँमा अहिले दुईतर्फी यातायात सञ्चालनमा आएको छ भने भासिएको खण्डलाई सडक विभागले प्लाष्टिकले छोपेको छ ।

ठुला सवारीलाई रोक

नारायणगढ–मुग्लिन सडकखण्डमा ठुला ट्रक र टिपरलाई चलाउन रोक लगाउनेबारे छलफल भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी रविन कार्कीले रातोपाटीलाई बताए ।

उनले भने, ‘अत्यावश्यक खाद्यान्न बोकेका ठुला सवारी बाहेक अरुलाई रोक्ने गरी छलफल भइरहेको छ ।’

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोख्रेलले अहिले नारायणगढ–मुग्लिन सडकखण्डमा यात्रुवाहक सवारीको चाप बढेकाले अत्यावश्यक सामग्री बोकेका बाहेक ठुला मालवाहक सवारीलाई रोक लगाउने तयारी भएको बताए ।

पोख्रेलकाअनुसार यस्ता सवारीलाई यात्रुवाहक सवारी चल्ने समयमा चल्न रोक लगाइ उपयुक्त समय निर्धारण गरी सवारी चल्न दिइने छ । यस्तै यात्रीलाई तत्काल अत्यावश्यक बाहेक यात्रा नगर्नसमेत आग्रह गरिरहेको उनले बताए ।

पोख्रेलले तत्काल राजमार्गका अवरोध हटाउन मन्त्रालयमा छलफल गरिएको बताए । धेरैजसो राजमार्गका अवरोध दुई दिनभित्र हटाइसक्ने गरी काम थालिएको उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप