शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय
वैदेशिक रोजगारी

इजरायलको लेबनान र इरानसँग द्वन्द्व चर्किँदा त्यहाँ कार्यरत नेपाली त्रासमा

बिहीबार, १७ असोज २०८१, १५ : ०८
बिहीबार, १७ असोज २०८१

काठमाडौँ । लेबनान र इरानसँग इजरायलको द्वन्द्व चर्किँदै गएसँगै त्यहाँ रहेका नेपालीको सुरक्षा चुनौती थपिएको छ ।

इजरायल र लेबनानमा रहेका नेपालीहरू युद्धका कारण त्रसित बन्दै गएका छन् । ती क्षेत्रमा नेपालीहरूलाई सुरक्षा सतर्कता अपनाएर मात्र बाहिर हिँड्न भनिएको छ ।

इजरायलस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका नेपालीलाई अत्यावश्यक कामबाहेक बाहिर नहिँड्न भनेको छ ।

इजरायली सुरक्षा मापदण्डको पालना गर्न सबैलाई सचेत गराएको हो । इजरायलमा हाल ५ हजारको हाराहारीमा नेपाली छन् ।

इजरायलले हेजबुल्लाहमाथिको आक्रमणलाई तीव्रता दिएसँगै लेबनान र इरानले इजरायलमाथि समेत प्रतिआक्रमण थालेका छन् । जसले गर्दा त्यहाँ रहेका नेपाली त्रसित बनेका हुन् ।

गत मंगलबार साँझ इरानले इजरायली क्षेत्रमा १८० वटा रकेट आक्रमण गरेको थियो । रकेट आक्रमण हुनुअघि सबैलाई सुरक्षित रहन भनेको थियो । इजरायलभर नै हाईअलर्ट राख्दै सबैलाई म्यासेज पठाइएको थियो भने देशैभर साइरन समेत बजेको थियो ।

त्यसपछि सबैजना सुरक्षित भएर बंकरभित्र बसेको तेल अभिभमा केयर गिभरको काम गर्दै राजमती भण्डारीले बताइन् ।

‘खासै सुरक्षित छैन । कतिखेर के हुन्छ भनेर ढुक्क हुने अवस्था त हुँदैन । अहिलेसम्म इजरायलको मिसाइल प्रतिरक्षा प्रणाली आइरन डोमले रोकिराखेको छ । तर पनि कतिखेर के हुन्छ, थाहा हुँदैन । कसैले मिलाइल हानिहाल्यो भने बंकरभित्र लुकिहाल्नुपर्छ,’ उनले भनिन् ।

मिसाइल प्रहारबाट त खासै डर नभएको तर, स्थलगत मार्ग हुँदै आएर हुने आक्रमणबाट डर भइरहेको उनले बताइन् ।

‘हवाई आक्रमणबाट त्यति धेरै खतरा हुँदैन । अस्ति रेल स्टेशनमा आत्मघाती आक्रमण गरेर मान्छे मारिदिएको थियो । त्यस्ताबाट चाहिँ डर छ,’ भण्डारीले भनिन् ।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् इजरायलका महासचिव अलि महम्मद मियाले इरानले आक्रमण गरेपछि सामान्य त्रास देखिएको बताए ।

‘यस्तो सधैँ भइरहने हो । इजरायलमाथि रकेट प्रहार गर्ने र इजरायलको आइरन डोमले रकेट नष्ट गर्दै आएको छ । अहिले इरानले समेत आक्रमण गरेपछि अलिकति त्रास फैलिएको छ,’ मियाले भने ।

रकेट प्रहार हुनु अघि नै सुरक्षित रहन अलर्ट आउने र त्यही आधारमा सबै जना सुरक्षित बस्ने गरेको उनको भनाइ छ ।

लेबनानसँगै इरानबाट समेत आक्रमण भएपछि अलि अलि त्रास देखिएको तर, आत्तिहाल्नुपर्ने अवस्था नरहेको उनले बताए ।

पछिल्लो समय इरानले प्रहार गरेका १८० वटा रकेट विगतको तुलनामा फरक देखिएको मियाको भनाइ छ । ‘हामीलाई नजिकैको बंकर गएर बस्न भनेर म्यासेज आएको थियो । सँगै साइरनसमेत बज्यो । त्यसपछि सबै जना नजिकै बंकर वा सुरक्षित स्थानमा बस्यौँ । एकछिन लगातार आकाशभरि उज्यालो बल्यो । त्यसपछि केही भए । एकछिनमा सबै जना आ–आफ्नो काममा लाग्यौँ,’ मियाले भने ।

इजरायलमा यस्तो खालको म्यासेज आउने, साइरन बज्ने र बंकरभित्र सुरक्षित बस्नुपर्ने नियमित कार्यजस्तै भएको उनको भनाइ छ ।

लेबनानमा समेत डर

लेबनानमा रहेका नेपालीहरूको समेत सुरक्षा चुनौती थपिएको छ । अहिले उनीहरू रोजगारदातामाथि आश्रित हुन थालेका छन् ।

गत सोमबारदेखि हिजबुल्लाह र इजरायली सेनाबिच लडाइँ चर्किएको छ । हिजबुल्लाहको नियन्त्रणमा रहेको लेबनानी भूमिमै प्रवेश गरेर इजरायली सेनाले आक्रमणलाई तीव्रता दिएपछि त्यहाँ कार्यरत नेपाली त्रसित बनेका हुन् ।

लेवनानमा करिब १२०० को हाराहारीमा नेपाली छन् । तीमध्ये ८०० को हाराहारीमा नेपाली शान्ति सैनिक छन् भने बाँकी घरेलु श्रमिक छन् ।

नेपाली राजदूतावास इजिप्ट, कायरोका द्वितीय सचिव दीपक घिमिरेले अधिकांश नेपाली लेबनानको द्वन्द्वग्रस्त क्षेत्रभन्दा टाढा रहेको बताए । उनीहरू बेरुत तथा लेबनानको उत्तरी भेगमा रहेको घिमिरेको भनाइ छ ।

लेबनानमा अधिकांश महिला कामदार छन् । दूतावासले त्यहाँ रहेका नेपालीसँग निरन्तर कुराकानी गरिरहेको र सबैले सुरक्षित रहेको बताएको उनको भनाइ छ ।

केहीले आफ्नो रोजगारदातासँग साइप्रस वा कुवेत जाने तयारी गरेको जानकारीसमेत आएको बताए । हालसम्म कोही पनि प्रभावित भएको जानकारी प्राप्त नभएको उनको भनाइ छ । उनीहरूको सुरक्षाको परिस्थिति दूतावासले तथा बेरुतस्थित अवैतानिक महावाणिज्यदूतले नजिकबाट नियालिरहेको उनले बताए ।

आक्रमण बढ्न थालेपछि लेबनानको दक्षिणी क्षेत्रबाट राजधानी बेरुत र सीमा काटेर सिरिया जाने लेबनानीहरूको संख्या बढिरहेको छ । शरणार्थीसम्बन्धी राष्ट्रसंघीय नियोग (यूएनएचसीआर) का अनुसार ९० हजारभन्दा बढी नागरिक विस्थापित भएका छन् ।

त्यहाँ कार्यरत नेपालीहरू रोजगारदाताको भरमा परेका छन् । विशेषगरी लेबनानको राजधानी बेरुत क्षेत्रमा आक्रमणलाई तीव्र पारेसँगै त्यहाँ कार्यरत नेपालीहरू त्रसित बनेका हुन् ।

त्यहाँका रोजगारदाताहरू अन्यत्र सर्ने योजना बनाइरहेको र कतिपय सरिसकेका छन् । नेपाली घरेलु श्रमिकहरू समेत रोजगारदातासँगै अन्यत्र सर्न थालेका छन् ।

गत वर्ष अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेपछि इजरायलले हमासमाथिको कारबाही व्यापक बनाएको थियो । त्यसपछि हिजबुल्लाहले समेत इजरायलाथि आक्रमण सुरु गरेको थियो । त्यसपछि इजरायल र हिजबुल्लाहबिच लडाइँ भइरहेको छ ।

परराष्ट्र मन्त्रालयले समेत इजरायल र लेबनानमा रहेका नेपाली सुरक्षित रहेको जनाएको छ । मन्त्रालयले लेबनानमा कार्यरत नेपालीलाई समस्या परेको खण्डमा कायरोस्थित द्वितीय सचिव दिपक घिमिरे र अवैतनिक नेपाली वाणिज्यदूतावास बेरुत लेबनानका महावाणिज्यदूत मोहम्मद गोजायललाई सम्पर्क गर्न भनेको छ ।

अवैतनिक नेपाली वाणिज्यदूतावास बेरुतले कन्सुलर रजिस्टरमा दर्ता हुन अनुरोध गरेको छ । लेबनानमा बसोबास गर्ने सम्पूर्ण नेपालीलाई वेबसाइटमार्फत रजिस्टरमा दर्ता गर्न आग्रह गरेको हो । आपतकालीन अवस्थामा तीव्र र प्रभावकारी सहयोग प्रदान गर्न सक्षम बनाउने उद्देश्यले दर्ता गर्न लागिएको वाणिज्यदूतावासले जनाएको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप