शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय
यात्रा

दुई दिन पनि टिकेन जनकपुर–लुक्ला वैकल्पिक उडान, पर्यटकहरू पश्चिमतिर ‘डाइभर्ट’

बिहीबार, १७ असोज २०८१, १२ : ३९
बिहीबार, १७ असोज २०८१

काठमाडौँ । रामेछाप विमानस्थलको विकल्पस्वरुप जनकपुरबाट सुरु गरिएको एभरेस्ट उडान दुई दिनमै असफल भएको छ । काठमाडौँदेखि मन्थलीसम्म जाने बाटो बिग्रिएपछि सगरमाथा आधार शिविरसम्म पुग्ने लुक्ला तथा फाप्लुसम्म पुग्न जनकपुरलाई विकल्प बनाउन खोजिएको थियो । तर, पर्यटकहरूको असन्तुष्टि र असुविधाको कारण यो सम्भव नभएको ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान) का उपाध्यक्ष विष्णु लम्सालले जानकारी दिए ।

अहिले काठमाडौँबाट मन्थलीसम्म पुग्ने वीपी राजमार्ग अवरुद्ध छ । विभिन्न ठाउँमा झन्डै तीन किलोमिटर सडक भासिएको छ । यो अवस्थामा मन्थली पुग्न खाडीचौर चरिकोट हुँदै जानुपर्छ । यसअघि चार घण्टामै पुग्न सकिने मन्थली यो बाटो हुँदै जाँदा कम्तीमा आठ घण्टा लाग्ने अवस्था छ । त्यो बाटोको पनि केही ठाउँमा पहिरोका कारण सडक अवरुद्ध भएसँगै जनकपुरबाट उडान सुरु गरिएको थियो । 

मंगलबार उडान सुरु भएको दिन तारा एयरले दुई ट्रिप यात्रु ओसारेको थियो । बुधबार पाँच ट्रिप यात्रुलाई लुक्ला पुर्‍याएको थियो । समिट र सीता एयरले भने यो रूपबाट उडान गर्ने निर्णय गरेका थिएनन् । तर, जनकपुरको चरम अस्तव्यस्तताको कारण यो विकल्पलाई निरन्तरता दिनसक्ने अवस्था नभएको भन्दै ट्रेकिङ कम्पनीहरूले पर्यटकलाई जनकपुर पठाउनै छाडेका छन् । 

यात्रुको भीड र होटल मुख्य कारण

दसैँको मुखमा यसै पनि काठमाडौँबाट जाने जुनसुकै उडान भरिभराउ हुन्छ । त्यसमाथि बाढी पहिरोका कारण स्थल मार्ग अवरुद्ध हुँदा यसको चाप बढेको छ । यस्तो अवस्थामा पर्यटकका लागि जनकपुरसम्मको उडान नै सकसपूर्ण थियो । टिकट नै नपाउने, पाएको टिकटमा पनि समयमा उडान नहुने समस्या छँदै थियो । 

तर, सबैभन्दा ठुलो समस्या चाहिँ जनकपुरमा होटलको मुख्य समस्या भएको टानमा उपाध्यक्ष लम्साल सुनाउँछन् । ‘मन्थलीसम्म पुग्न समस्या भएपछि हामीले नै क्यान र एयरलाइन्स कम्पनीसँग कुरा गरेर नयाँ विकल्प खोज्यौँ । तर, जनकपुरमा त विदेशीहरूलाई टिक्नै समस्या भयो,’ उनले भने, ‘भनेको जस्तो होटल पनि नपाउने, अरू सुविधा पनि नहुने भएपछि आजदेखि हामीले पठाउनै छोड्यौ, यो विकल्प काम नलाग्ने रहेछ भन्ने दुई दिनको अनुभवले देखायो ।’

जनकपुरको समस्यापछि टानले सदस्य फुर्पु छिरिङ लोमी (भोटे) मन्थली जाने नयाँ सडकको अवस्था बुझ्न मन्थली पठाएको थियो । नयाँ रुट लामो भए पनि सडकको अवस्था सुरक्षित भएको भन्दै सोही रुटबाट पर्यटकहरूलाई पठाउन थालिएको टानले जनाएको छ । लोमी सात घण्टाको अवधिमा मन्थली पुगेका थिए । 

यद्यपि नयाँ सडकको मार्ग प्रयोग गर्दा मन्थलीसम्मको यात्राको लागत भने दोब्बर हुने देखिएको छ । यसअघि एकै दिनमा मन्थलीदेखि काठमाडौँसम्म ‘अप–डाउन’ गर्दै आएको गाडी समय बढेसँगै मन्थलीमै बस्नुपर्ने र भोलिपल्ट मात्रै फर्किनुपर्ने भएपछि भाडा दोब्बर पुग्ने अवस्था रहेको नेपाल पर्यटक यातायात व्यवसायी संघले जनाएको छ । 

एभरेस्ट जान आएका पर्यटक पश्चिमतिर ‘डाइभर्ट’

त्यसो त, बाढी पहिरोजन्य विषम परिस्थितिका कारण सगरमाथा आधार शिविरसम्मको भ्रमण गर्ने कार्यतालिका बनाएर आएका पर्यटकहरू पश्चिमतिर लागेका छन् । सडकको अवस्था र लुक्लामा पर्यटकहरू अलपत्र परेको सूचनापछि उनीहरु पश्चिमी ट्रेकिङ रुटतिर ‘डाइभर्ट’ भएको टानका उपाध्यक्ष लम्साल बताउँछन् । 

‘एभरेस्ट जान भनेर आएका पर्यटकहरू ४/५ दिनसम्म त काठमाडौँमै रोकिनुपर्‍यो,’ लम्साल भन्छन्, ‘समय कम भएका पर्यटकहरू एभरेस्ट नजाने भन्दै पोखरा, अन्नपूर्णतिर जाने सेड्युल बनाएका छन् । पर्याप्त समय लिएर आएकाहरू चाहिँ एभरेस्टमै जाने भनेर पनि कुरिरहेका छन् ।’ अहिले पनि पूर्वी क्षेत्रमा पश्चिमी क्षेत्रको तुलनामा मनसुन प्रणाली बढी सक्रिय छ । त्यसैले पनि एभरेस्टलाई टार्गेट बनाएर आएका पर्यटकहरू पश्चिमतिर जान थालेको उनको भनाइ छ । यो रुट सगरमाथा भन्दा तुलनात्मक रूपमा छोटो समेत छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप