सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
खेलकुद

लिजेन्ड एल क्लासिको : बार्सिलोना र रियल म्याड्रिडका पूर्व खेलाडीबिच कतारमा भिडन्त

बिहीबार, १७ असोज २०८१, १२ : १५
बिहीबार, १७ असोज २०८१

काठमाडौँ । विश्व क्लब फुटबलमा बार्सिलोना र रियल म्याड्रिड एकअर्काका चिर प्रतिद्वन्द्वी हुन् । यी दुई स्पेनिस क्लबबिचको भिडन्त हेर्न विश्वभरका करोडौँ समर्थक सधैँ आतुर रहन्छन् । लामो समयदेखि यी दुई क्लबबिचको प्रतिद्वन्द्वीता यसरी नै चल्दै आएको छ ।

कुनै समय समकालीन विश्व फुटबलका दुई महान् खेलाडी लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो पनि यी दुई क्लबमा आबद्ध थिए । मेस्सी बार्सिलोनाबाट र रोनाल्डो रियल म्याड्रिडबाट ब्यवसायिक फुटबल खेल्थे ।

रियल म्याड्रिड र बार्सिलोनाबिचको आपसी प्रतिद्वन्द्वीतालाई बढाउन यी दुई महान् खेलाडीको पनि उत्तिकै ठुलो भूमिका रहेको छ । विश्वका हरेक राष्ट्रमा यी दुई क्लबका समर्थकको उपस्थिति छ । यी दुवै क्लबका समर्थकका लागि फेरि एउटा खुसीको खबर सार्वजनिक भएको छ ।  

खासमा बार्सिलोना र रियल म्याड्रिडका पूर्वखेलाडीहरुबिच कतारको दोहामा मैत्रीपूर्ण खेल खेलिने भएको छ । उक्त खेल आगामी नोभेम्बर २८ तारिखमा खेलिने समाचारमा जनाइएको छ । रियल र बार्साका पूर्वखेलाडीहरुको भिडन्तलाई ‘लिजेन्ड एल क्लासिको’ नाम दिइएको छ ।

खेल दोहास्थित खलिफा इन्टरनेशल स्टेडियममा हुने बताइएको छ । यसअघि पनि दुईपटक बार्सिलोना र रियल म्याड्रिडका पूर्व खेलाडीबिच भिडन्त भइसकेको छ । यी दुई क्लबका पूर्व खेलाडीबिच पहिलो मैत्रीपूर्ण खेल सन् २०१७ मा खेलिएको थियो ।

त्यो खेलमा बार्सिलोनाको लिजेन्ड टोलीले रियल म्याड्रिडको लिजेन्ड टोलीलाई ३–२ गोलले हराएको थियो । विजयी टोलीका लागि लुडोभिच गिउलीले दुई र सिमाओले एक गोल गरेका थिए । त्यसको चार वर्षपछि रियल म्याड्रिडले बार्सिलोनासँग हारको बदला लिएको थियो ।

‘लिजेन्ड एल क्लासिको’ को दोस्रो संस्करण सन् २०२१ मा खेलिएको थियो । त्यो खेलमा भने रियल म्याड्रिडको लिजेन्ड टोलीले बार्सिलोनाको लिजेन्ड टोलीलाई ३–२ ले नै पराजित गरेको थियो । विजयी टोलीका लागि पेड्रो मुनिटिस, अलफोन्सो पेरेज र रुबेन डी ला रेडले एक–एक गोल गरेका थिए ।

बार्सिलोना र रियल म्याड्रिडको लिजेन्ड टोलीबाट यसपटक कुन–कुन पूर्वखेलाडी मैदानमा ओर्लन्छन् भन्ने विषयमा भने केही बताइएको छैन । आयोजकले छिट्टै नै दुवै टोलीबाट खेल्ने खेलाडीको नाम सार्वजनिक गरिने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप