बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय
दोहामा परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्रीलाई ‘रिसिभ’ गर्न पुगेकाहरु भीआईपी कक्षमा, मन्त्री लागिन् अर्कै बाटो

बिहीबार, १७ असोज २०८१, १२ : ०९
बिहीबार, १७ असोज २०८१

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवा यतिबेला कतारको राजधानी दोहामा छिन् । भदौ ३१ गते महिला परराष्ट्रमन्त्रीको बैठकमा सहभागी हुन क्यानडा प्रस्थान गरेकी राणा त्यहाँबाट संयुक्त राष्ट्रको महासभामा सहभागी हुन अमेरिका पुगिन् भने त्यहाँको कार्यक्रम सकेर मंगलबार दोहा पुगेकी हुन् । 

उनी दोहामा आयोजित ‘एसिया कोअपरेसन डायलग’को तेस्रो सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी सहभागी भएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।  

मंगलबार उनी कतारको दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भएसँगै नेपाली दूतावासका कार्यवाहक राजदूत कुमार राई, प्रथम सचिव कृष्ण कुमार सुवेदी, एनआरएनए कतारका अध्यक्ष रमेश भट्ट, जनसम्पर्क समितिका अध्यक्ष मोहम्मद अजिज अलीसहित सरोकारवालाहरू स्वागतका लागि पुगेका थिए । 

विमानस्थलको भीआईपी कक्षमा स्वागत गर्ने भनेर नेपाली समुदायका प्रतिनिधिहरू कुरेर बसे भने कार्यवाहक राजदूत राई भने उनलाई स्वागत गर्नका लागि भनेर विमानसम्मै पुगे । तर, उनले परराष्ट्रमन्त्री र सँगै रहेकी सचिव सेवा लम्साललाई भेट्नै सकेनन् । कार्यवाहक राजदूतले त्यहाँ रिसिभ गर्न नसकेपछि मन्त्री र सचिव भीआईपी कक्षमा नपुगेर पब्लिक एरियातर्फ लागे । 

विमानस्थलमा पुगेका नेपाली समुदायका एक प्रतिनिधिले कार्यवाहक राजदूतले मन्त्री र सचिवलाई नचिन्दा सिधै भीआईपी कक्षमा ल्याउन नसकिएको दाबी गरे । ‘हामी विमानस्थलको भीआईपी कक्षमा मन्त्रीलाई स्वागत गर्न भनेर तम्तयार अवस्थामा थियौँ । त्यसका लागि जहाजसम्मै लिन भनेर कार्यबाहक राजदूत जानु भएको थियो । तर, उहाँले भेट्नु भएनछ, मन्त्री र सचिव पब्लिक एरियातिर लाग्नु भएपछि हामीले स्वागत भीआईपी कक्षमा गरेनौँ,’ उनले भने। 

कतार एयरवेजको जहाजबाटै करिब ५ बजे अवतरण भएकी मन्त्री राणा विमानबाट निस्कनेबित्तिकै निस्केर पब्लिक एरियातर्फ लागेकी थिइन् । पछि बुझ्दा मन्त्री पब्लिक एरियामा रहेको भन्ने जानकारी आएपछि सबै त्यतै गएर स्वागत गरिएको ती प्रतिनिधिले बताए । उनले विमानसम्मै रिसिभ गर्न पुगेकाले आफ्नो पाहुना नचिन्दा समस्या भएको बताए । 

तर, दूतावासका प्रथम सचिव सुवेदीले भने नेपालमा आएको बाढी पहिरो लगायतका कारण देशमा राष्ट्रिय शोक रहेकाले परराष्ट्रमन्त्रीले भीआईपी कक्ष प्रयोग गर्न रुचि नराखेको दाबी गरे । ‘देश विपद्मा परेको कारण उहाँले सामान्य रूपले यात्रा गर्नुभएको हो । हामीले नचिनेको वा हामीबाट कुनै कमजोरी भएको होइन’, उनले भने । उनले भीआईपी कक्षमै परराष्ट्रमन्त्रीलाई छोटो स्वागत गरिएको उनको दाबी थियो । 

rnn_RWNovo87QI

एसिया कोअपरेसन डायलग अन्तर्गत एसिडी बिजनेस फोरमलाई सम्बोधन गर्दै मन्त्री राणा

तर, विमानस्थलमा मन्त्रीको स्वागतमा पुगेका अर्का एक नेपाली समुदायका प्रतिनिधिले परराष्ट्रमन्त्रीलाई भीआईपी कक्षमा पर्खिएपनि मन्त्री पब्लिक एरियामा पुगिसकेको थाहा पाएसँगै त्यहीँ पुगेर सबैले स्वागत गरेको बताए । 

उसो त नियमित सम्मेलनबाहेक परराष्ट्रमन्त्रीको स्वागतमा दूतावास र एनआरएनएको छुट्टाछुट्टै कार्यक्रम समेत तय भएको थियो । आलोचना हुने डरले ती कार्यक्रम पनि देशमा भएको विपत्तिको कारण देखाउँदै स्थगित गरिएको छ । 

एनआरएनए कतारका अध्यक्ष रमेश भट्टले मन्त्री कतारमा रहेपनि संघकोतर्फबाट भेट तथा कुनै कार्यक्रम हुन नसकेको प्रतिक्रिया दिए । उनले विमानस्थलमा भएको कमजोरीबारे भने केही बताउन चाहेनन् । 

सरकारले समयमा कतारका लागि राजदूत नियुक्त नगर्दा आफ्नो देशबाट विशिष्ट पाहुनाहरू आउँदा समेत स्वागतमा लापरबाही देखिने गरेको दोहास्थित सरोकारवाला बताउँछन् । कतारका लागि नेपाली राजदूत नरेश विक्रम ढकाललाई सरकारले फिर्ता बोलाएपछि अर्को राजदूत पठाइसकिएको छ । 

संसदीय सुनुवाइ समितिबाट नयाँ राजदूतको रुपमा रमेशचन्द्र पौडेलको नाम अनुमोदन त भएको छ । तर, एग्रिमो आइनसक्दा उनको नियुक्ति हुन सकेको छैन । सोही कारण अहिले कतारस्थित नेपाली राजदूतावास कार्यवाहककै भरमा चलिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप