बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय
न्यायालय

बार–बेन्च द्वन्द्व : बार अध्यक्षविरुद्धको मुद्दा फिर्ता लिने सर्वोच्चका उपरजिष्ट्रार घिमिरेकाे  घोषणा

बिहीबार, १७ असोज २०८१, १० : ११
बिहीबार, १७ असोज २०८१

काठमाडौँ । सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्द घिमिरेले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध दर्ता गरेको अवहेलना मुद्दा फिर्ता लिने घोषणा गरेका छन् । 

उपरजिस्ट्रार घिमिरेले नै बार अध्यक्ष घिमिरेविरुद्ध अवहेलना मुद्दामा प्रतिवेदन तयार पारेका थिए । तर, उनले गएराति फेसबुक स्ट्याटस लेखेर उक्त प्रतिवेदन फिर्ता लिने घोषणा गरेका हुन् ।

‘बार जनताको आवाज हो । लोकतन्त्रको हिमायती हो । त्यसको नेतृत्वविरुद्ध मैले अवहेलनामा दिएको प्रतिवेदन फिर्ता लिएको जानकारी गराउँछु,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्  ।

कसैको ‘प्यादा’ बन्न नचाहेको भन्दै उनले अदालत खुला हुँदा आफ्ना भनाइसहित औपचारिक निवेदन दिने बताएका छन् । अदालत आजदेखि  दसैँ बिदा भएको छ। अव खुलेसँगै आफूले निवेदन दिने उनले बताए । उनको निवेदन सर्वोच्च अदालतको तर्फबाट भएकाले फिर्ता हुने कि नहुने इजलासले नै निर्णय गर्ने छ।  

आज दसैँको घटस्थापना भएकाले सार्वजनिक बिदा छ । घिमिरेले त्यसअघि अर्को स्ट्याटस लेख्दै भनेका छन्  ‘३६४ दिन आज्ञापालक कुकुर जस्तै बनियो । एक दिन स्वतन्त्र हुन चाहन्छु ।’  यो स्ट्याटस लेखेको ४ घण्टापछि उनले बार अध्यक्षविरुद्धको अवहेलना मुद्दामा तयार पारेको प्रतिवेदन फिर्ता लिने घोषणा गरेका हुन् । उक्त मुद्दा कात्तिक १ गतेका लागि पेसी तोकिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप