शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय
टी–२० महिला विश्वकप

भारतले जित्न नसकेको, अस्ट्रेलियाले हार्न नजानेको टी–२० महिला विश्वकप

बिहीबार, १७ असोज २०८१, १० : ४५
बिहीबार, १७ असोज २०८१

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप क्रिकेट बिहीबारदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा सुरु हुँदैछ । महिला टी–२० विश्वकपको यो नवौँ संस्करण हो । प्रतियोगिता अक्टोबर २० तारिखसम्म सञ्चालन हुनेछ । 

यसअघि प्रतियोगिता बंगलादेशमा आयोजना गर्ने पक्का भएको थियो । तर, बंगलादेशको पछिल्लो राजनीतिक घटनाक्रमपछि सुरक्षा अवस्था सन्तोषजनक नरहेको भन्दै अन्तिम समयमा आएर प्रतियोगिता यूएईमा सारिएको हो ।  

यसपटक महिला विश्वकपमा १० वटा टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको समूह ‘ए’ मा अस्ट्रेलिया, भारत, न्युजिल्यान्ड, पाकिस्तान र श्रीलंका रहेका छन् ।

GY5Mj2GXkAANeH6

यसैगरी, समूह ‘बी’ मा बंगलादेश, इङ्ल्यान्ड, स्कटल्यान्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिज रहेका छन् । प्रतियोगिताको उद्घाटन खेल बिहीबार शारजाह क्रिकेट स्टेडियममा बंगलादेश र स्कटल्यान्डबिच खेलिने छ । खेल नेपाली समय अनुसार, दिउँसो १५:४५ बजे सुरु हुनेछ ।

त्यसअघि प्रतियोगिताको उद्घाटन समारोह आयोजना गरिने छ । पहिलो दिनको दोस्रो खेल पाकिस्तान र श्रीलंकाबिच खेलिने छ । उक्त खेल राति १९:४५ बजे सुरु हुनेछ । प्रतियोगिताको समूहगत चरणमा प्रत्येक दिन दुई–दुई खेल खेलाइने छ । 

समूहगत चरणको खेल अक्टोबर १५ तारिखसम्म चल्नेछ । त्यसपछि दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगिताको पहिलो सेमिफाइनल अक्टोबर १७ र दोस्रो सेमिफाइनल खेल अक्टोबर १८ तारिखमा खेलिने छ ।

GY5MkogWMAASxGU

सेमिफाइनलमा समूह ‘ए’ को विजेताले समूह ‘बी’ को उपविजेतासँग र समूह ‘बी’ को विजेताले समूह ‘ए’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनलमा विजयी दुई टोली फाइनलमा प्रवेश गर्नेछन् । त्यसपछि अक्टोबर २० तारिखमा फाइनल खेल खेलिने छ । 

  • पुरस्कार राशिमा उल्लेख्य वृद्धि

यसपटक प्रतियोगिताको पुरस्कार राशिमा पनि उल्लेख्य वृद्धि गरिएको छ । च्याम्पियन टोलीले २३ लाख ४० हजार अमेरिकी डलर (करिब ३१ करोड ४४ लाख नेपाली रुपैयाँ) पुरस्कार प्राप्त गर्नेछ । उपविजेता टोलीले ११ लाख ७० हजार अमेरिकी डलर (करिब १५ करोड ७२ लाख नेपाली रुपैयाँ) पुरस्कार प्राप्त गर्नेछ ।

GY5MkX8WUAAZ194

प्रतियोगिताको सेमिफाइनलमा पराजित हुने प्रत्येक टोलीले ६ लाख ७५ हजार अमेरिकी डलर (करिब नौ करोड ६ लाख ९३ हजार नेपाली रुपैयाँ) पुरस्कार हात पार्नेछन् । यसका अतिरिक्त समूहगत चरणमा प्रत्येक खेल जितेबापत पनि टोलीले नगद पुरस्कार प्राप्त गर्नेछन् । यसपटक प्रतियोगिताको कुल पुरस्कार राशि ७९ लाख ५८ हजार ८० अमेरिकी डलर छुट्याइएको छ ।

  • दुई रंगशालामा खेल

प्रतियोगिता अवधिभर कुल २३ खेल खेलाइने छ । प्रतियोगिता खेलहरू २५ हजार दर्शक क्षमताको दुबई इन्टरनेशनल स्टेडियम र १६ हजार दर्शक क्षमताको शारजाह क्रिकेट स्टेडियममा खेलाइने छ । बंगलादेश यसपटक आयोजक राष्ट्रका रूपमा प्रतियोगितामा सहभागी भएको हो ।

Sharjah_Cricket_Stadium_UAE_Dubai_3d_geniusandgerry_1_720x@2x

यसैगरी अस्ट्रेलिया, इङ्ल्यान्ड, भारत, दक्षिण अफ्रिका, न्युजिल्यान्ड र वेस्ट इन्डिज भने अघिल्लो टी–२० महिला विश्वकपमा पहिलोदेखि छैटौँ स्थानभित्र परेकाले यसपटक सिधै विश्वकपका छनोट भएका हुन् । पाकिस्तान भने आईसीसी टी–२० वरीयतामा माथिल्लो स्थानमा रहेकाले विश्वकपमा छनोट भएको हो ।

यसका अतिरिक्त स्कटल्यान्ड र श्रीलंकाले छनोट चरण पार गर्दै महिला विश्वकपको नवौँ संस्करणमा उपस्थिति दर्ता गराएका हुन् । प्रतियोगिताका लागि १० वटै राष्ट्रले यसअघि नै आ–आफ्नो टोलीको घोषणा गरिसकेका छन् । 

  • यस्तो छ इतिहास

यसअघि आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको आठवटा संस्करण सम्पन्न भइसकेको छ । प्रतियोगिताको पहिलो संस्करण सन् २००९ मा इङ्ल्यान्डमा आयोजना भएको थियो । पहिलो संस्करणमा आठवटा टोली सहभागी थिए ।

पहिलो संस्करणमा न्युजिल्यान्ड, अस्ट्रेलिया, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, इङ्ल्यान्ड, भारत, श्रीलंका र पाकिस्तानले भाग लिएका थिए । त्यसको एक वर्षपछि नै सन् २०१० मा दोस्रो संस्करण वेस्ट इन्डिजमा आयोजना भएको थियो । दोस्रो संस्करणमा पनि आठवटा टोली नै सहभागी थिए । 

प्रतियोगिताको तेस्रो संस्करण सन् २०१२ मा श्रीलंकामा आयोजना भएको थियो । त्यो संस्करणमा पनि आठवटा टोलीले नै सहभागिता जनाएका थिए । सन् २०१४ मा चौथो संस्करण बंगलादेशमा आयोजना भएको थियो । चौथो संस्करणमा भने टोलीको सङ्ख्या बढाएर १० पुर्‍याइएको थियो । 

त्यसयता भने नियमित रूपमा प्रतियोगितामा १० वटा टोलीले नै सहभागिता जनाउँदै आएका छन् । प्रतियोगिताको पाँचौँ संस्करण सन् २०१६ मा भारतमा र छैटौँ संस्करण सन् २०१८ मा वेस्ट इन्डिजमा आयोजना भएको थियो । 

000_Del6157240-e1600151702172

सातौँ संस्करण सन् २०२० मा अस्ट्रेलियामा र आठौँ संस्करण सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना भएको थियो । हालसम्म वेस्ट इन्डिजले मात्र दुईपटक टी–२० महिला विश्वकप आयोजना गरेको छ । बंगलादेश भने दुईपटक महिला विश्वकप आयोजना गर्ने दोस्रो राष्ट्र बन्नबाट चुकेको छ ।

पहिलो विश्वकपमा सहभागी आठवटा राष्ट्रले सबै संस्करणमा सहभागिता जनाउँदै आएका छन् । बंगलादेशले पाँचवटा संस्करणमा सहभागिता जनाएको छ । बंगलादेशले सन् २०१४ देखि भाग लिन थालेको हो । 

यसैगरी, आयरल्यान्डले चारपटक महिला विश्वकप खेलेको छ । आयरल्यान्डले पनि सन् २०१४ देखि नै भाग लिन थालेको हो । थाइल्यान्डले पनि सन् २०२० मा एकपटक महिला टी–२० विश्वकप खेलिसकेको छ । स्कटल्यान्डले भने सन् २०२४ मा पहिलो पटक विश्वकप खेल्न लागेको हो ।

  • अस्ट्रेलियाको एकछत्र राज

आईसीसी महिला टी–२० विश्वकपमा अस्ट्रेलियाले एकछत्र राज गर्दै आएको छ । अस्ट्रेलियाले हालसम्म ६ पटक टी–२० महिला विश्वकपको उपाधि उचालिसकेको छ । अस्ट्रेलियाले सन् २०१० (दोस्रो संस्करण) मा पहिलो पटक उपाधि जितेको थियो । त्यतिबेला फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई तीन रनले हराएको थियो ।

यसैगरी, सन् २०१२ मा पनि अस्ट्रेलिया च्याम्पियन बनेको थियो । त्यतिबेला फाइनलमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई चार रनले हराएको थियो । सन् २०१४ को उपाधि पनि अस्ट्रेलियाले नै चुमेको थियो । अस्ट्रेलियाले फाइनलमा इङ्ल्यान्डलाई ६ विकेटले हराउँदै उपाधिमा ह्याट्रिक गरेको थियो ।

282812

यसैगरी, अस्ट्रेलियाले सन् २०१८ मा चौथो पटक उपाधि उचालेको थियो । त्यतिबेला पनि फाइनलमा अस्ट्रेलियाले इङ्ल्यान्डलाई नै आठ विकेटले पराजित गरेको थियो । अस्ट्रेलियाले सन् २०२० मा पाँचौँ पटक उपाधि चुमेको थियो । फाइनलमा अस्ट्रेलियाले भारतलाई ८५ रनले हराएको थियो ।

यसैगरी, अस्ट्रेलियाले सन् २०२३ मा छैटौँ पटक उपाधिमाथि कब्जा जमाएको थियो । त्यतिबेला अस्ट्रेलियाले फाइनलमा दक्षिण अफ्रिकालाई १९ रनले हराउँदै उपाधिमा दोस्रो पटक ह्याट्रिक गरेको थियो । त्यसैले अस्ट्रेलिया टी–२० महिला विश्वकपको साविक विजेता पनि हो । 

  • भारतले जित्न नसकेको विश्वकप

विश्व क्रिकेटमा भारतले सधैँ आफ्नो दबदबा कायम गर्दै आएको छ । तर, टी–२० महिला विश्वकप भने यसको अपवाद हो । भारतले हालसम्म टी–२० महिला विश्वकपको उपाधि चुम्न सकेको छैन । भारतीय टोली फाइनलमा पनि हालसम्म एकपटक मात्र पुगेको छ । 

भारतीय टोली सन् २०२० मा अस्ट्रेलियामा सम्पन्न महिला टी–२० विश्वकपको फाइनलसम्म पुगेको थियो । तर, त्यो विश्वकपको फाइनलमा पनि भारतीय टोली अस्ट्रेलियासँग पराजित भएको थियो । त्यो विश्वकपको फाइनलमा अस्ट्रेलिया ८५ रनले विजयी भएको थियो ।

301596.3

अस्ट्रेलियाका अतिरिक्त हालसम्म इङ्ल्यान्ड र वेस्ट इन्डिजले पनि एक–एकपटक टी–२० महिला विश्वकपको उपाधि जितेका छन् । इङ्ल्यान्डले सन् २००९ मा आफ्नै भूमिमा आयोजित पहिलो संस्करणको फाइनलमा न्युजिल्यान्डलाई ६ विकेटले हराउँदै उपाधि चुमेको थियो ।

वेस्ट इन्डिजले भने सन् २०१६ मा भारतमा आयोजित पाँचौँ संस्करणको उपाधि चुमेको थियो । त्यो विश्वकपको फाइनलमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई आठ विकेटले हराउँदै पहिलो पटक उपाधिमाथि कब्जा जमाएको थियो ।

  • नवौँ संस्करणका १० कप्तान

६ पटकको च्याम्पियन अस्ट्रेलिया यसपटक एलिसा जिन हेलीको कप्तानीमा रहेको छ । ३४ वर्षीया अनुभवी खेलाडी हेली टोलीकी प्रभावशाली ब्याटर हुन् । उनले अस्ट्रेलियाका लागि टेस्ट, एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० गरी तीनवटै ढाँचाको प्रतियोगितामा अब्बल प्रदर्शन गर्दै आएकी छन् । ताहलिया म्याकग्रा अस्ट्रेलियन टोलीकी उपकप्तान हुन् ।

nigar sultana

अन्तिम समयमा आएर नवौँ संस्करणको आयोजना गर्नबाट चुकेको बंगलादेशी टोली यसपटक निगार सुल्तानाको कप्तानीमा रहेको छ । २७ वर्षीया निगार सुल्ताना टोलीकी प्रभावशाली ब्याटर हुन् । उनले बंगलादेशका लागि एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् । उनले हालसम्म टेस्ट क्रिकेटमा भने ‘डेब्यू’ गरेकी छैनन् ।

यसैगरी, महिला टी–२० विश्वकपको पहिलो संस्करणको उपाधि विजेता इङ्ल्यान्ड यसपटक अनुभवी खेलाडी हिथर नाइटको कप्तानीमा रहेको छ । ३३ वर्षीया हिथर नाइट इङ्ल्यान्डकी अलराउन्डर खेलाडी हुन् । उनले देशका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् । उनले तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गरेकी छन् । उनको बलिङ पनि उत्कृष्ट छ ।

327636.6

हालसम्म टी–२० महिला विश्वकपको उपाधि चुम्न नसकेको भारत भने यसपटक हरमनप्रित कौरको कप्तानीमा रहेको छ । ३५ वर्षीया कौर टोलीकी अलराउन्डर खेलाडी हुन् । उनले देशका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेट खेलिसकेकी छन् । उनले एकदिवसीय र टी–२० अन्तर्राष्ट्रियमा त शतक पनि बनाएकी छन् । उनी टोलीकी प्रभावशाली बलर पनि हुन् । स्मृति मन्धना टोलीकी उपकप्तान हुन् ।

यसैगरी, पटक–पटक फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको न्युजिल्यान्ड यसपटक सोफी डेभिनको कप्तानीमा रहेको छ । ३५ वर्षीया सोफी टोलीकी अलराउन्डर खेलाडी हुन् । उनले देशका लागि एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् । टेस्ट क्रिकेटमा भने उनले ‘डेब्यू’ गरेकी छैनन् । दुवै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा उनले शतक बनाएकी छन् । उनले एकदिवसीय अन्तर्राष्ट्रियमा एक सय एक र टी–२० अन्तर्राष्ट्रियमा एक सय १७ विकेट पनि लिइसकेकी छन् ।

पहिलो संस्करणदेखि सहभागिता जनाउँदै आए पनि हालसम्म उपाधि जित्न नसकेको पाकिस्तानी टोलीको कप्तान भने फातिमा साना हुन् । २३औँ वर्ष प्रवेशको सँघारमा रहेकी साना फातिमा पाकिस्तानका लागि एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलेकी छन् । उनले हालसम्म टेस्ट क्रिकेटमा भने ‘डेब्यू’ गरेकी छैनन् । उनी टोलीकी अलराउन्डर खेलाडी हुन् ।

GY5MkJSWUAAd87s

यसैगरी, पहिलो पटक महिला टी–२० विश्वकप खेल्ने तयारीमा रहेको स्कटल्यान्ड क्याथरिन ब्राइसको कप्तानीमा छ । २७औँ वर्ष प्रवेशको सँघारमा रहेकी क्याथरिन टोलीकी अलराउन्डर खेलाडी हुन् । प्रभावशाली ब्याटर क्याथरिनले टोलीका लागि एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् । सराह ब्रायस टोलीकी उपकप्तान हुन् ।

यसैगरी, पहिलो संस्करणदेखि नै सहभागी हुँदै आएको दक्षिण अफ्रिका यसपटक लाउरा वोल्भार्डको कप्तानीमा रहेको छ । २५ वर्षीया लाउरा टोलीकी प्रभावशाली ब्याटर हुन् । उनले देशका लागि तीनवटै ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेकी छन् । उनले तीनवटै ढाँचाको क्रिकेटमा शतक पनि प्रहार गरिसकेकी छन् ।

यसैगरी, श्रीलंकाली टोली नवौँ महिला टी–२० विश्वकपमा चामरी आथापाथुको कप्तानीमा रहेको छ । ३४ वर्षीय चामरी आथापाथु टोलीकी अनुभवी अलराउन्डर हुन् । उनले श्रीलंकाका लागि एकदिवसीय र टी–२० ढाँचाको अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेकी छन् । यी दुवै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा उनले शतक पनि बनाएकी छन् । यसका अतिरिक्त उनले दुवै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा विकेट पनि लिएकी छन् । 

एकपटक टी–२० महिला विश्वकपको उपाधि चुमिसकेको वेस्ट इन्डिज यसपटक हेली म्याथ्यूजको कप्तानीमा रहेको छ । २६ वर्षीया म्याथ्यूज टोलीकी अलराउन्डर खेलाडी हुन् । उनले एकदिवसीय र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेकी छन् । उनले टेस्ट क्रिकेटमा भने ‘डेब्यू’ गरेकी छैनन् । आफूले खेलेको दुवै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा उनले उत्कृष्ट शतक बनाएकी छन् । उनले दुवै ढाँचाको अन्तर्राष्ट्रिय क्रिकेटमा विकेट पनि लिएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप