बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय
बाढीको वितण्डा

देशभर कुन कुन सडक अवरुद्ध छन् ?

बिहीबार, १७ असोज २०८१, ०८ : २९
बिहीबार, १७ असोज २०८१

काठमाडौँ । गत शुक्रबार र शनिबार लगातारको वर्षापछि अवरुद्ध भएका केही सडकहरू अझै सुचारु हुन सकेका छैनन् । ललितपुरको नख्खुडोल पुल हुँदै चल्ने सवारी साधन आज  पनि चल्न सकेका छैनन् । पुल नजिकै सडक भासिएका कारण सवारी साधन प्रभावित भएका हुन् ।

विभिन्न स्थानमा खसेको पहिरोको कारण वीपी राजमार्ग, फर्पिङ र कान्तीलोकपथ हुँदै उपत्यका भित्रिने र बाहिरिने सवारी साधन पनि चल्न सकेका छैनन् ।

यसबाहेक काठमाडौँ उपत्यकाको अन्य स्थानको सवारी आवागमन भने सामान्य रहेको छ । । गत २४ घण्टामा विभिन्न नाकाहरू हुँदै १० हजार ३ सय ७० ओटा सवारी साधनमा ५२ हजार २ सय ५४ जना यात्रुहरू काठमाडौँ उपत्यका भित्रिएका छन् । यस्तै,  ११  हजार २ सय २१ ओटा सवारी साधनमा ६१  हजार २ सय ८५ जना यात्रुहरू उपत्यकाबाट बाहिरिएका छन् ।

काभ्रेपलाञ्चोकको विभिन्न स्थानहरुमा रोशी खोलाले सडक कटान गरेका कारण वीपी राजमार्ग केही दिन अगाडीबाट पूर्ण रुपमा अवरुद्ध भएको छ । 

सिन्धुलीको गोलन्जोर गाउँपालिकाका विभिन्न स्थान तथा फिक्कल गाउँपालिका २ मा खसेको पहिरोले मध्यपहाडी लोकमार्गको आवागमन अवरुद्ध भएको छ । 

रामेछापको मन्थली नगरपालिका ६ स्थित सुनकोशी नदीको पुल र खाडादेवी गाउँपालिका १ स्थित खैरेनी पुल बगाउँदा खुर्कोट–मन्थली तथा सिन्धुली, नेपालथोक–मन्थली चल्ने सवारी साधनको आवागमन पनि पूर्ण रुपमै रोकिएको छ ।

सगरमाथा राजमार्ग अन्तर्गत उदयपुरको रौतामाई गाउँपालिका ५ र खोटाङको खोटेहाङ गाउँपालिका ११ जोड्ने पुल भत्किएकाले आवागमन प्रभावित भएको छ ।

मेचीराजमार्गमा पर्ने पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिका जोडने हेवाखोलामा रहेको बेलिब्रिज बाढीले बगाउँदा आवत–जावत रोकिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप