बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय

रामग्राममा दुई मेगाबाटको सोलर प्लान्टको तयारीमा ‘वरुण वेभरेज’

बिहीबार, १७ असोज २०८१, ०८ : १६
बिहीबार, १७ असोज २०८१

काठमाडौं । नेपाली सफ्ट ड्रिङ्कस बजारको ४० प्रतिशत हिस्सा बोकेको ‘वरुण वेभरेज’ले नवलपरासीको रामग्राममा रहेका आफ्नो कम्पनीमा सोलर प्लान्ट लगाउने भएको छ । २ मेगावाट विद्युत् उत्पादन गर्ने लक्षसहित काम अघि बढाएको वरुण वेभरेजले आगामी डिसेम्बर सम्ममा प्रोजेक्ट सम्पन्न गर्ने तयारीका साथ काम अघि बढाएको हो । 
कम्पनीले दसैँ लगत्तै प्रोजेक्टको  अघि बढाउने तयारी पनि गरेको छ ।
 
विशेष गरेर वैकल्पिक ऊर्जाको स्रोतको रुपमा कम्पनीले सोलर प्लान्टलाई केन्द्रमा राखेर अघि बढेको हो । देशमा रहेको विद्युतीय ऊर्जाको बचत हुनका साथै उक्त ऊर्जा अन्य उद्योग कलकारखानामा सदुपयोग गर्न सकिने तथा समय समयमा विद्युत् आउने जाने समस्याको समाधानमा पनि यो सोलर प्लान्ट योजना महत्त्वपूर्ण हुने कम्पनीको विश्वास रहेको छ ।

अनुमानित लागत ११ करोड लागतमा  कम्पनीले आगामी डिसेम्बरसम्ममा प्रोजेक्ट सम्पन्न गर्ने लक्ष लिएको छ । जसबाट कम्पनीको उत्पादकत्व प्रत्यक्ष /परोक्षरुपमा वृद्धि हुने अपेक्षा गरिएको छ भने विश्व बजारले अनुसरण गरिरहेको वातावरण मैत्री नवीकरणीय ऊर्जाको प्रयोगमा समेत राज्यलाई धेर–थोर सहयोग पुग्ने देखिन्छ ।

पेप्सी, माउन्टेन ड्यू, मिरिन्डा, ठ अप, स्टिङ (एनर्जी ड्रिङ्स) जस्ता चर्चीत चिसो पेय पदार्थहरूको उत्पादन तथा बिक्री वितरण गरिरहेको वरुण वेभराजले काठमाडौं र नवलपरासीबाट आफ्नो बजार विस्तार गरिरहेको छ । 

बजारको उच्च मागलाई व्यवस्थापन गर्न र पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको बजारमा आफ्नो सहज पहुँच बनाउँन नवलपरासी राम ग्राममा कम्पनीले सन् २०१८ मा नयाँ प्लान्ट स्थापना गरेको थियो । 
कम्पनीको स्वामित्वमा रहेको जमिन र बाँकी लिजमा गरि करिब १४ विघाह जमिनमा फैलिएको नवलपरासीमा रहेको वरुण वेभरेजमा हाल करिब ३ सय कर्मचारी रोजगार रहेका छन् । 

वरुण वेभरेजको कुल बजार हिस्साको ६० प्रतिशत उत्पादन तथा बिक्री वितरण हाल नवलपरासीबाटै भइरहेको पनि कम्पनीले जनाएको छ । प्रतिदिन हजारौ केस पेय पदार्थ उत्पादन गरिरहेको वरुण वेभराजले सोही स्थानमा प्लास्टिकको बोतलसमेत आफै उत्पादन गर्ने गरेको छ। यद्यपि कम्पनीले सिसाको बोतल भने विदेशबाट नै आयात गर्ने गरेको पनि कम्पनीले जनाएको छ ।

स्थानीय जनतालाई रोजगारी दिँदै उनीहरूको भविष्यका लागि सामाजिक सुरक्षा कोष तथा स्वास्थ्य उपचारमा समेत विशेष ध्यान दिँदै आएको कम्पनीले क्वालिटी प्रडक्टमा कुनै सम्झौता नगरी आफ्नो बजार विस्तार गरिरहेको छ । 

बजार माग र ग्राहकको रोजाइ अनुरूपको स्वाद पस्कँदै नेपाली सफ्ट ड्रिङ्कस बजारमा बलियो उपस्थिति खडा गरेको यस मल्टी नेसनल कम्पनीले नेपालमा मात्रै करिब १२ अर्बको वार्षिक कारोबार गर्दै आएको छ ।

अन्य सफ्ट ड्रिङ्क्स उत्पादनहरूको तुलनामा गुणस्तरीय उत्पादनमा जोड दिँदै आएका यस मल्टी नेसनल कम्पनीले नेपालसहित विभिन्न ८ वटा देशमा आफ्नो प्रभाव जमाउँदै आएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप