बिहीबार, १७ असोज २०८१
ताजा लोकप्रिय
वैदेशिक रोजगार

साउदीमा मृत्यु भएका लोकबहादुरको परिवार न्यायको खोजीमा

गाडिएको शव उत्खनन गरियो, तर नेपाल ल्याउने अत्तोपत्तो छैन
बिहीबार, १७ असोज २०८१, ०७ : ५२
बिहीबार, १७ असोज २०८१

काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरेबिया पुगेका लोकबहादुर सुनुवार गाडी धुने क्रममा करेन्ट लागेर मृत्युवरण गर्न पुगे । २०८० वैशाख १९ गते गाडी धोएर ‘स्वीच अफ’ गर्ने क्रममा करेन्ट लागेका उनलाई साउदीकै जिजान प्रान्तको बेस अस्पतालमा उपचारका लागि भर्ना गरिए पनि साउन २७ गते उनको निधन भयो ।

सुनुवारका परिवार अहिलेसम्म पनि उनको शव नेपाल ल्याउन र उचित क्षतिपूर्ति पाउन सङ्घर्षरत छ । सुनुवारकी पत्नी पूजा, ससुरा लवकुमार थिङ लगायतले वैदेशिक रोजगार बोर्ड, कन्सुलर सेवा विभागमा सुनुवारको शव नेपाल झिकाइदिन हारगुहार गरेको लामो समय बिते पनि सफलता हात लाग्न सकेको छैन ।

बरु उल्टै सुनुवारको शव साउदीमै गाडिएको खबर आएपछि परिवार स्तब्ध भयो । कम्पनीका तर्फबाट तीन सातादेखि एक महिनाको बिचमा शव नेपाल पठाइने जानकारी दिए पनि एकाएक साउदीमै गाडिएको खबर आएपछि परिवारजन स्तब्ध भएको हो ।

‘तीन हप्तादेखि एक महिनाभित्र शव नेपाल आउँछ भनेको थियो । शव बुझिपाउँ भनेर बोर्ड र कन्सुलर विभागमा निवेदन दियौँ । निवेदन दिएको केही समयपछि तपाईंको मान्छेको शव गाडिदियो भनेर खबर आयो,’ मृतकका ससुरा लवकुमारले भने ।

आफूहरूले मृतकको परिवारको सहमतिविना के कति कारणले शव गाडियो भनेर प्रश्न गरेको तर त्यसको जवाफ कसैले पनि नदिएको लवकुमारको भनाइ छ । लवकुमारले यसबारेमा तत्कालीन परराष्ट्रमन्त्री एनपी साउद, श्रममन्त्री शरतसिंह भण्डारीलाई समेत भेटेर कुरा गरे । उनीहरूले तत्काल उक्त विषयमा एक्सन लिने प्रतिबद्धता जनाए । त्यसपछि सुनुवारको शव उत्खनन गरियो । शव उत्खनन गर्दा समेत मृतकका परिवारसँग कुनै समन्वय गरिएन ।

मृतककी श्रीमती पूजा, ससुरा लवकुमारले अहिलेसम्म पनि जवाफ पाउन नसकेको विषय हो– नेपाल पठाउन लागिएको शव किन गाडियो ?

मृत्युलाई ‘प्राकृतिक कारण’ भनियो  

१०३ दिन अस्पतालमा अचेत अवस्थामा उपचार गराइएको सुनुवारको मृत्युपछि अस्पतालले डेथ सर्टिफिकेट जारी गर्‍यो, जसमा उनको मृत्युको कारण ‘प्राकृतिक’ भनियो ।

मृत्युको कारण प्राकृतिक भनेपछि मृतकको परिवार क्षतिपूर्ति पाउनबाट वञ्चित हुन पुग्यो । लवकुमारको लडाइँ त्यसपछि सुरू भयो ।

अस्पतालले नै मृत्युको कारण प्राकृतिक भनेपछि मृतकका परिवार क्षतिपूर्तिबाट वञ्चित हुने अवस्था आएको हो । कम्पनीको तर्फबाट चार हजार ९०० रियाल क्षतिपूर्ति दिने र शव नेपाल पठाउने भनियो । मृतकका परिवारले भने कम्पनीमा काम गर्दै गर्दा करेन्ट लागेर भएको घटनालाई कसरी प्राकृतिक मृत्यु भनियो भनेर प्रश्न गरिरहेको छ ।

‘करेन्ट लागेर अस्पताल लगिएको मान्छे कसरी प्राकृतिक मृत्यु भयो भनेर शव बुझेका छैनौँ । दुर्घटना भएकाले साउदीको नियमअनुसार पाउनुपर्ने क्षतिपूर्ति, बीमा, तथा दुर्घटनाको यकिन नहुँदासम्म हामी शव बुझ्दैनौँ भनेका छौं,’ लवकुमारले भने ।

IMG20240924124735

दुर्घटना भएकाले साउदीको कानुन, श्रम सम्झौता अनुसार क्षतिपूर्ति पाउनुपर्ने र दोषीमाथि कारबाही हुनुपर्ने माग आफूहरूको रहेको लवकुमार बताउँछन् ।

दुर्घटनाको फोटो र सीसीटीभी क्यामेराको फुटेज हेर्दा कम्पनीको गल्तीका कारण दुर्घटना भएको परिवारको दाबी छ । तर, दूतावासले कम्पनी दोषी नदेखिएको जनाएको उनको भनाइ छ ।

‘काम गर्ने क्रममा दुर्घटनामा परेको छ । दूतावासले भने कम्पनीको गल्ती देखिँदैन भनेको छ । त्यत्रो प्रमाण हुँदा हुँदै कम्पनीको किन दोषी देखिँदैन भन्यो भन्ने हाम्रो प्रश्न हो,’ लवकुमारले भने ।  

सुनुवारले कार धुने क्रममा करेन्ट लागेको घटनास्थलबाट ट्रान्समिटर समेत निकालेर फालिएको थियो भने कार धुने ठाउँको पूरै संरचना परिवर्तन गरिएको देखिएको लवकुमारले बताए । घटनापछि प्रहरी आएर मुचुल्का उठाएको थियो । घटनास्थलमा साक्षीहरूसँग समेत कुराकानी गरेको थियो । यसका बाबजुद अहिले मृत्युको कारणमा ‘प्राकृतिक’ भनिएकोमा पीडित परिवारको आपत्ति छ ।

परिवार तथा दूतावासको सहमतिविना नै शव गाडिनु, विवाद बढेपछि उत्खनन गरिनुले विभिन्न आशंकामा बल पुगेको परिवारजन बताउँछन् । उत्खनन गरिएको शवमा हड्डीमात्रै शेष रहेकाले त्यो कङ्काल आफ्नो मान्छेको हो कि होइन भन्ने पुष्टि गर्न डीएनए टेष्ट र पोस्टमार्टम हुनुपर्ने माग परिवारले गरेको छ ।

महावाणिज्य दूतावासको पत्रले परिवार झन् पीडामा

मृतकका परिवारले असहमति जनाएपछि साउदीको जेद्दास्थित नेपाली महावाणिज्य दूतावासले ११ पेजको पत्र पठाएको छ । मृतकका परिवारले उक्त पत्रमा लेखिएका विषयले झन पीडा दिएको महसुस गरेका छन् ।

मृत्युको कारण प्राकृतिक भएपछि क्षतिपूर्ति नपाउने प्रावधान छ । तर, दूतावासले त्यत्रो प्रमाण हुँदा समेत मृत्युको कारण प्राकृतिक भनेर कसरी मान्यो भन्ने प्रश्न पीडित परिवारले उठाएको छ ।

Lok Bahadur sunawar embassy letter

दूतावासले अरेबिक भाषामा लेखेको पत्र पठाएको छ । पीडित परिवारले बुझ्न नसक्ने गरी अरेबिक भाषामा पत्र किन पठाइयो भन्ने प्रश्न पनि लवकुमारले उठाए ।

दूतावासको सम्पर्कमा रहेर उपचार भइरहेका व्यक्तिको मृत्युपछि दूतावासको जानकारीविनै कसरी शज गाडियो भन्ने प्रश्न पनि उनले गरे । ‘१४ महिना भयो हामी भौँतारिएको । हाम्रो चित्कार कसले सुनिदिने ? नेपाल सरकार साक्षी रहेर श्रम सम्झौता गरेर गएको व्यक्तिले क्षतिपूर्ति नै नपाउने ? परिवारलाई नसोधिकन शव गाड्ने काम किन भयो ? अनुमतिविना शव गाड्ने, गरिब परिवारले पाउने क्षतिपूर्तिबाट वञ्चित गराउने ?’ उनले प्रश्न गरे ।

lok bahadur

घटना भएर मृत्यु भएपछि पोष्टमार्टम गर्नुपर्छ भनेर दूतावासले अडान राख्नुपर्ने तर, त्यसो नगरेको लवकुमारको भनाइ छ । दूतावास परदेशमा रहेका नेपालीको अभिभावक भए पनि अभिभावकको जिम्मेवारी बहन गर्न नसकेको उनको भनाइ छ । दूतावासकै कारण आज क्षतिपूर्ति पाउनबाट वञ्चित भएको उनले बताए ।

मृतक लोकबहादुर हिन्दु धर्म मान्छन् । उनको सपरिवार हिन्दु धर्म मान्छ । साउदीमा बनेको अकामा आईडीमा समेत ‘फरक धर्म’ भनेको छ । यसको अर्थ इस्लाम भन्दा फरक धर्म भन्ने नै हो ।

तर, दूतावासले जारी गरेको ११ पन्ने पत्रमा भने उनको धर्म इस्लाम भनिएको छ । हिन्दु मान्छेलाई मुस्लिम धर्मावलम्बी भनेर कसरी लेखियो भन्ने प्रश्न पनि परिवारले उठाएको छ ।

Lok Bahadur sunawar dharma change

इस्लाम धर्म भनेपछि पैसा बढी आउँछ भनेर धर्म परिवर्तन गराएको जानकारी दूतावासले गराएको उनको भनाइ छ । प्राकृतिक कारणले मृत्यु भएकाले क्षतिपूर्ति नपाउने भन्ने तर, पैसा धेरै आउँछ भनेर धर्म परिवर्तन गराउने भन्दै उनले प्रश्न गरेका छन् ।

साउदी अरेबियाको गृह मन्त्रालय अन्तर्गत सामान्य सुरक्षा निकायले सामाजिक बीमाका लागि सामान्य संगठनलाई पत्र पठाएको देखिन्छ । त्यसअघि बीमा शाखाले दुर्घटनाको मिति, समय र स्थानबारे जानकारी दिन सुरक्षा निकायलाई पत्र पठाएको थियो । सोही पत्रको जवाफ दिने क्रममा प्रहरीले समेत पत्र लेखेको हो ।

जवाफ दिने क्रममा, सन् २०२३ मे २ (२०८० वैशाख १९ गते) दिनको ठिक १७ः४२ बजे मोडर्न स्टार कार वासमा दुर्घटना भएको र उक्त दुर्घटनामा परिचयपत्र नम्बर (२५०५२८१५६४) बाहक लोकबहादुर भनिने व्यक्ति लडेर रगत बगेको र हृदयघात भएको महामहिमलाई जानकारी गराउँछौँ भनिएको छ ।

IMG20240924124714

प्रहरीले नै बीमा कम्पनीलाई लडेर रगत बगेको र हृदयघात भएको जानकारी दिएको अवस्थामा प्राकृतिक मृत्यु कसरी भनियो भन्ने परिवारको प्रश्न छ ।

सन् २०२३ अगस्ट १२ मा बैसा जनरल हस्पिटललाई स्थानीय प्रहरीले परिपत्र गरेको देखिन्छ, जसमा प्रहरीले सबै रिपोर्ट नआउँदासम्म शव फ्रिजमा राख्नु भनेको थियो । तर, त्यही बेला उनको शव गाडिएको थियो ।

छोरीलाई राहत तथा थोरै भए पनि ज्वाइँलाई न्याय मिल्छ कि भनेर लवकुमार रातदिन भौँतारिँदै हिँडेका छन् । विगत १४ महिनादेखि उनी ज्वाइँको न्यायका लागि प्रधानमन्त्री कार्यालयदेखि हेलो सरकारसम्म गुहार माग्दै आएका छन् । तर, कहीँ कतैबाट सुनुवाइ हुन नसकेको लवकुमारको भनाइ छ ।

सबै रिपोर्ट नआउँदासम्म फ्रिजमा राख्नु भनेर प्रहरीले गरेको परिपत्र विपरीत कसको अनुमति तथा निर्देशनमा शव गाडियो भन्ने प्रश्नको जवाफ परिवारले खोजिरहेको छ ।

‘सबै रिपोर्ट नआउँदासम्म शवलाई फ्रिजमा राख्नु भनेको ठाउँमा शव एकाएक किन गाडियो ? त्यसमा दूतावासलाई समेत जानकारी छैन भनिएको छ । कसको अनुमतिमा शव गाडियो ? त्यसको जवाफ चाहियो’, लवकुमारले भने ।

नासा ह्युमन इन्टरनेशनलबाट श्रम स्वीकृति लिएर सन् २०२१ अक्टोबर ६ मा साउदीको जेद्दास्थित जिजान भन्ने ठाउँमा रहेको मोडर्न स्टार कार सर्भिस लण्ड्रीमा कार वास गर्ने कामका लागि सुनुवार गएका थिए । पति गुमाएको शोकमा रहेकी पूजाको काँधमा पाँच वर्षीय छोराको जिम्मेवारी छ ।

pooja tamang

छोरीलाई राहत तथा थोरै भए पनि ज्वाइँलाई न्याय मिल्छ कि भनेर लवकुमार रातदिन भौँतारिँदै हिँडेका छन् । विगत १४ महिनादेखि उनी ज्वाइँको न्यायका लागि प्रधानमन्त्री कार्यालयदेखि हेलो सरकारसम्म गुहार माग्दै आएका छन् । तर, कहीँ कतैबाट सुनुवाइ हुन नसकेको लवकुमारको भनाइ छ ।

यो क्रममा तीन पटक मन्त्री परिवर्तन भए । दुई जना प्रधानमन्त्री फेरिए । मन्त्री फेरिने क्रममा उनको फाक्ष्ल समेत गायब हुने गरेको छ । नयाँ मन्त्री आउँदा फेरि फाइल खोजेर मन्त्रीलाई ब्रिफिङ गराउनेदेखि जानकारी दिने कामसम्म गर्नुपरेको उनको भनाइ छ ।

आफ्नो जानकारीविना शव गाडियो : दूतावास

जेद्दास्थित नेपाली महावाणिज्य दूतावासले आफूहरूको जानकारी तथा अनुमतिविना नै शव गाडिएको जनाएको छ ।

कार्यवाहक महावाणिज्यदूत शत्रुध्वन पोखरेलले दूतावासको जानकारीविना नै शव गाडिएको बताए ।

‘अचेत अवस्थामा उपचार भइरहेका बेला दूतावासबाट नियमित जाने गरेका थियौँ । म पनि गएको थिए । जुन ११ मा अरु सरहरू पुग्दा उपचार भइरहेको थियो । सेप्टेम्बर ५ मा अस्पताल जाँदा मान्छे देखेनौँ । नदेखेपछि हामीले सोधपुछ गर्‍यौँ । कसैले पनि जानकारी दिएनन्,’ पोखरेलले भने ।  

पत्राचार गरेको ४/५ महिनासम्म कुनै प्रतिक्रिया आएन । ५/६ महिनापछि मात्रै परराष्ट्रबाट शव गाडिएको र परिवारले चाहेको खण्डमा शव उत्खनन गर्छौं भन्ने जानकारी दिएको कार्यवाहक महावाणिज्यदूत शत्रुध्वन बताए ।

कसैले पनि जानकारी नदिएपछि कम्पनीलाई सोधेको उनको भनाइ छ । उनले भने, ‘कसैले जानकारी नदिएपछि सोही राति स्पोन्सर (कफिल) लाई सोधेका थियौँ । स्पोन्सरले उनको जुन १२ तारिखमै मृत्यु भइसकेको र प्रहरी तथा अस्पतालले शवसमेत गाडिसकेको जानकारी दिएको थियो ।’

त्यसपछि दूतावासले परराष्ट्रलाई पत्राचार गरेको थियो । पत्राचार गरेको ४/५ महिनासम्म कुनै प्रतिक्रिया आएन । ५/६ महिनापछि मात्रै परराष्ट्रबाट शव गाडिएको र परिवारले चाहेको खण्डमा शव उत्खनन गर्छौं भन्ने जानकारी दिएको पोखरेलले बताए ।

‘हामीले लडेर घाइते भएको हो, क्षतिपूर्ति पाउनुपर्छ भनेर पत्राचार गर्‍यौँ । परिवारको भनाइसमेत करेन्ट लागेर डेथ भएको भनेको छ । तर, यहाँको परराष्ट्रले हस्पिटलको डेथ सर्टिफिकेटमा प्राकृतिक कारणले डेथ भएको भनेर लेखेको हिसाबले क्षतिपूर्ति पाउँदैन भनेर जुलाईमा पत्र आयो,’ उनले भने ।

मृतकको परिवारले क्षतिपूर्ति नपाउँदासम्म तथा घटनाबारे छानबिन नहुँदासम्म शव नबुझ्ने अडान राखेको छ । परिवारको अडानपछि दूतावासले वैदेशिक रोजगार बोर्डलाई २०८१ भदौं ३० गते पत्राचार गरेको थियो ।

परिवारले थप क्षतिपूर्तिका लागि कानुनी प्रक्रिया अगाडि बढाउने जानकारी दूतावासलाई गराएको थियो । त्यसपछि दूतावासले स्थानीय कानुन व्यवसायीसँग छलफल गरेको थियो । छलफलका क्रममा कानुनी प्रक्रियाका लागि १० देखि २५ हजार साउदी रियाल खर्च लाग्ने जानकारी कानुन व्यवसायीले गराएका थिए ।

त्यसपछि दूतावासले कानुनी प्रक्रियाका लागि लाग्ने अधिकतम शुल्क २५ हजार साउदी रियाल निकासा गरिदिन बोर्डलाई पत्राचार गरेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप